कम्युनिस्ट रहेनन् कम्युनिस्टहरू

Harsa-Syboदार्जिलिङमा जन्मेँ । वरिपरि चिया बगान थियो । बाल्यकालदेखि नै बगानका मजदुरको पीडा देखेँ । मालिकले उनीहरूमाथि गरेको शोषण नजिकबाट अनुभूत गरेँ । अधिकांश बगान र कारखाना ब्रिटिसले सञ्चालन गरेका थिए । आठ घन्टा काम गरे ज्याला पाइने नत्र रित्तै हात । बिदा नपाइने । बिरामी हुँदा पनि काम गरे पैसा पाइने नत्र भोकै बस्नुपर्ने । ती पीडाले मलाई छुन्थे । त्यतिबेला रुसी उपन्यास ‘आमा’ पढेको थिएँ, म्याक्सिम गोर्कीले लेखेको । रसियन जनता र बगानका मजदुरले भोगेका पीडा उस्तैउस्तै लागे मलाई ।
बगानका मजदुरहरूलाई साथ दिने एक जना थिए– माहिला बा । उनी कम्युनिस्ट पार्टीमा लागेका रहेछन् । वर्गविहीन समाजको कुरा गर्थे । उनका कुराले तानेपछि म पनि वर्गविहीन समाजको सपना देख्न थालेँ । एसएलसीपछि मलाई पढाइमा समस्या भयो । त्यहाँका हुनेखानेहरू ‘यो कम्युनिस्टलाई पढ्न दिनु हुँदैन’ भन्न थाले । माहिला बासँगको संगतका कारण मलाई कम्युनिस्ट भन्थे । त्यसपछि सात जना साथी मिलेर भारतको आग्रा घुम्न हिँड्यौँ । बनारस पुग्यौँ । त्यहाँ पुष्पलालसँग भेट भयो । भर्खरका युवा उनले आफ्नो वैचारिक क्षमतामार्फत हामीलाई प्रभावित बनाए । भने, ‘नेपालमा राणाहरूको एकतन्त्रीय शासन छ । त्यसविरुद्ध जनतालाई सचेत पार्नुपर्छ । हामी युवाविद्यार्थीले नेतृत्व गर्नुपर्छ ।’ उनले हामीलाई राष्ट्रिय कांग्रेसको सदस्य बनाए, ०५ सालमा । त्यो भेटमा उनले नेपालको इतिहास र भूगोलबारे थुप्रै व्याख्या गरे ।
फर्केर गोरखपुरमा पढ्न थालेँ । पुष्पलालहरूले राष्ट्रिय कांग्रेससँग अलग भएर ०६ सालमा कम्युनिस्ट पार्टी बनाएछन्, कलकत्तामा । त्यसपछि ०७ सालको भेटमा उनले हामीलाई नेकपाको सदस्यता दिए । सदस्य बन्नुअघि पार्टीको घोषणापत्र पढ्न दिइएको थियो । ०८ सालमा इन्दिरा गान्धी भारतको प्रधानमन्त्री भएपछि त्यहाँका कम्युनिस्टलाई कडाइ हुन थाल्यो । मलाई दार्जिलिङ बस्नै गाह्रो भो । त्यही बेला पुष्पलालले भने– ‘तपाईं संगठन बनाउन मुस्ताङ जानुस्, आफ्नै देशमा बसेर केही गर्नुपर्छ ।’ मुस्ताङै घर भएका एक थकाली साथीसँग त्यतै लागियो । भैरहवाबाट सात दिन हिँडेर मुस्ताङको ‘टुक्चे’ पुग्यौँ । हिँड्नुअघि एक सय भारुलाई नेपालीमा साट्दा सिक्काको भारी नै भएको थियो ।
राजनीति गर्न आएको भन्न भएन । कम्युनिस्ट भन्ने थाहा पाए प्रशासनले सहँदैनथ्यो । शिक्षक हौँ भन्यौँ । जनता नामको स्कुल बनायौँ । दिउँसो–दिउँसो केटाकेटीलाई ‘क, ख’ पढाउने, साँझबिहान युवा जम्मा पारेर माक्र्सवाद पढाउने । संगठनका लागि प्रगतिशील अध्ययन मण्डल बनायौँ । त्यसले हरेक दिन युवा जम्मा पारेर राजनीतिक, सैद्धान्तिक ज्ञान दिन्थ्यो । समाजविकास, दर्शनको कुरा सिकाउँथ्यो । करिब एक वर्षको शैक्षिक अनि राजनीतिक मास्टरीपछि हाम्रो उद्देश्य प्रशासनले चाल पाइहाल्यो । कांग्रेसले पनि हस्तक्षेप गर्न थाल्यो । त्यहाँ बस्नै नसकिने भएपछि पोखरा झरेँ ।
पोखरामा पुष्पलालसँग भेट भयो । त्यहाँ गण्डकी अञ्चल कमिटी बनायौँ, म सदस्य भएँ । सांस्कृतिक अभियानमा पनि लागेँ । ०१० सालमा काठमाडौंमा पहिलो महाधिवेशन भयो । केशरजंग रायमाझी महासचिव भए । पुष्पलाल, मनमोहन, तुलसीलाललगायतको उपस्थिति थियो । सोही क्रममा पार्टी कार्यकर्ता एक महिलासँग मेरो निकटता बढ्यो । उनी राणाकी छोरी । पुष्पलालले भन्नुभयो, ‘सामाजिक क्रान्तिको उदाहरण हुन्छ, तपाईंहरू बिहे गर्नुस् ।’ त्यसपछि हामीले बिहे गर्‍यौँ । ०१७ सालको ‘कू’ पछि नेपालमा बस्न कठिन भयो । म पत्नीसहित सिक्किम गएँ । त्यहीँको आन्दोलनमा सक्रिय भएँ ।
अहिले मेरा समकालीन नेताहरू थोरै मात्र छन् । नरबहादुर कर्माचार्य, लक्ष्मीभक्त उपाध्याय र कमलराज रेग्मी । पहिलो महाधिवेशनलगत्तै पुष्पलालले भनेका थिए, ‘कम्युनिस्ट पार्टीमा विकृति भित्रिँदै छ । जुन उद्देश्यले नेकपा बनायौँ, पूरा होलाजस्तो छैन ।’ वास्तवमा उनले आधा पेट खाएर पार्टी गठन गरे । तर, उनैले राजनीति सिकाएका मान्छेले उनलाई गद्दार भने । साँच्चै भन्ने हो भने पुष्पलाल खानै नपाएर मरेका हुन् । उनका धेरैजसो दिन सुख्खा चनाको भरमा बित्थ्यो । बिस्तारै ग्यास्ट्रिक, अल्सर हुँदै क्यान्सर भएछ । जसले जीवनभर देश, जनता र परिवर्तनभन्दा अरू केही हेरेन, उसलाई गद्दार भन्नेहरूको जीवनशैली देख्दा आज आफैँलाई लाग्छ– मैले उतिबेला जनतालाई बाँडेको सपना पनि कतै भ्रामक त थिएन । बेलैदेखि औषधि गर्न पाएको भए उनी अझ बाँच्ने थिए । कम्युनिस्टबीच विभाजनको रेखा देखिन थालेपछि पुष्पलालको चिन्ता बढेको थियो । भन्थे, ‘यसरी त कसरी मुक्ति होला खोइ जनताको ?’
कम्युनिस्ट पार्टीमा लाग्दैदेखि ठूलो नेता वा मन्त्री–प्रधानमन्त्री बन्ने लालसा हामीमा थिएन । त्यो त सोचाइ पनि थिएन । मात्र ‘समाज बनाउनुपर्छ’ भन्ने एउटै उद्देश्य थियो । नेपालमा विस्तारै चिनियाँ र रुसी गरी दुई लाइन देखिन थालेका थिए । म पुष्पलालसँगै चिनियाँ लाइनमा लागेँ । माओले चीनमा गरेको क्रान्तिबाट प्रभावित थिएँ ।
सिक्किमबाट ०२२ सालमा नेपाल आएँ । आउनासाथ पक्राउ परिहालेँ । दुई वर्ष केन्द्रीय कारागारमा बसेँ । मोहनविक्रम सिंह र केही कांग्रेस नेता पनि जेलमा सँगै थिए । कम्युनिस्टहरू धेरैजसो भारतमा थिए । अहिले एउटा कम्युनिस्टले अर्को कम्युनिस्टलाई खुइल्याउँदै गरेको देख्दा दु:ख लाग्छ । वैचारिक रूपमा नेपालका कुनै पनि पार्टीका नेता कम्युनिस्ट छैनन् । झलनाथ, माधव, प्रचण्ड, बाबुराम सबै व्यावसायिक नेता हुन्, विचार र आदर्शले कम्युनिस्ट होइनन् । कम्युनिस्ट त विचार र दृष्टिकोणले भइन्छ, झन्डा बोकेको भरले मात्रै हुँदैन ।
अवसरकै पछि लागेको भए व्यक्तिगत हितका सम्भावना थुप्रै थिए । तर, कहिल्यै त्यस्तो मन लागेन । पार्टीको माथिल्लो तहमा बस्न पटकपटक आग्रह गर्दा पनि चाहिनँ । ऊ जमानामा बिए पढ्नु सामान्य थिएन । मेरा अगाडि अवसर धेरै थिए । तर, व्यक्तिगत रूपमा केही गरिएन । होची मिन्ह को आदर्शले प्रभावित थिएँ । उनले राष्ट्रप्रमुख हुँदा झुपडीबाट सत्ता चलाए, आफ्ना लागि केही गरेनन् ।
मनमोहन, माधव नेपाललगायतले ०५६ को संसदीय निर्वाचनमा उठ्न कर गरे । मानिनँ । पछि माले पार्टीबाट पनि साह्रै कर गरेकाले सिन्धुपाल्चोकबाट चुनाव लडेँ । चुनावको अनुभव जीवनमै पहिलोचोटि त्यही थियो । जितौँला भन्ने थिएन नै । अहिले पनि धेरै नेताले भन्छन्, ‘तपाईंजस्तो पुरानो मान्छे पार्टीमा लाग्नु पर्‍यो ।’ तर मलाई कसैसँग विश्वासै छैन ।
मदन भण्डारीप्रति केही आशा लागेको थियो तर उनले केही गर्नै पाएनन् । अरू त आशा गर्न सकिने नेता कोही छैनन् । नेपालका सबै नेता भारतीय जासुसी संस्था ‘रअ’ बाट सञ्चालित छन् जस्तो लाग्छ  । ०१३ सालतिर मेरो पछाडि पनि भारतीय जासुस लागेका थिए । भन्थे, ‘पढेको मान्छे किन यस्तो दु:ख गरेर हिँडेको ? पार्टीभित्र केके हुन्छ भन्नुस्, हामी तपाईंलाई सहयोग गर्छौं ।’ मजस्तो सामान्य मान्छेका पछाडि त जासुस लागे भने अरूलाई झन् के बाँकी राखे होलान् ? क्षेत्रपाटीमा बस्थेँ, कोठामै आइपुग्थे । गुप्ता थरका मान्छे आएर सोध्थे, ‘बोर्डरमा के–के हुन्छ ? चाइनासँगको सम्बन्ध कस्तो छ ?’ यदि यस्तो होइन त नेताहरूले आफ्नो विवेकअनुसार काम गर्नुपर्ने हो । आफ्नो आदर्शमा चल्नुपर्ने हो ।
नेपालका कम्युनिस्ट पार्टी जनतामा भ्रम सिर्जना गरेर भोट लिँदै छन् । सत्तामा गएर दुई–चार पुस्तालाई पुग्ने सम्पत्ति जोड्नुबाहेक अरू केही गरेका छैनन् । दु:ख लाग्छ, जनताको अवस्था हेरेर । माक्र्सको दर्शन गलत रूपमा प्रयोग हुँदै छ । माक्र्सवादका नाममा हँसिया–हथौँडाको झन्डामुनि बसेर वैयक्तिक जीवन समृद्ध बनाए नेताहरूले, देश होइन ।
माक्र्सवाद वैज्ञानिक दर्शन हो । तर, अहिलेको पुस्ताबाट केही आश गर्न सकिँदैन । यद्यपि दर्शन त्यत्तिकै मर्दैन, कुनै न कुनै पुस्ता आएर नेपाललाई परिवर्तन गर्ने नै छ । पुष्पलाल धेरै चिन्तित थिए, वैचारिक विचलनप्रति । यो अवस्था आउला भन्ने लागेकै थिएन । अहिलेका नेताहरू भन्छन्, ‘माक्र्सवादको समयसुहाउँदो प्रयोग गर्दै हामी चलेका छौँ ।’ तर, यो गलत हो । यिनीहरूले माक्र्सवादलाई समयअनुकूल होइन, आफूअनुकूल प्रयोग गरेका हुन् ।
संविधानसभा निर्वाचनमा माओवादीलाई भोट हालेँ, अरूलाई पनि हाल्न आग्रह गरेँ । अहिले साह्रै पछुताएको छु । उनीहरूले जनयुद्धका नाममा तेह्र हजार मान्छे मार्नुको केही अर्थ रहेनछ । दश वर्षसम्म पूरै भ्रम सिर्जना गरेका रहेछन् । सुरुका दिनमा माओवादीसँग आशा थियो । तर, संविधानसभाको निर्वाचनपछि उसका जाली कुरा सबै छर्लंग भए  । माओवादीलाई भोट हालेर आफैँमाथि गद्दारी गरेँजस्तो लाग्यो । सर्वहाराकै झुपडीमा डोजर चलाउने पनि कतै सर्वहाराको नेता हुन्छ ? होची मिन्हले झुपडीमा बसेर सरकार चलाए । नेपालका कम्युनिस्टहरू अर्बौंको महलमा सयल गर्छन् । तैपनि लाजै नमानी आफूलाई सर्वहाराको नेता भन्छन् ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया