प्रकृतिको नजिक

DB-Sunuwarसभ्यताको शिखर चढ्दै गर्दा मानव जातिले गरेको विकास चरम विन्दुमा पुगेको दाबी गर्छ । हरपल/हरक्षण प्राय: हरेक कुराको खोज तथा अनुसन्धान भइरहेको खबर सुन्न पाइन्छ । नयाँ–नयाँ कुराहरूको आविस्कार भएको थाहा पाइन्छ । त्यसको साथसाथै आफ्नो जीवनयापन तथा सुविधा भोगका लागि प्राय: सबै कुरा कृत्रिम तयार पारिरहेको छ । हुँदाहुँदा त बस्ने बास, लाउने लुगा खाने खानाको जोह पनि कृतिम नै हुँदै गइरहेको छ । एक छानो बस्ने बास, एक आङ लगाउने लुगा तथा एक गाँस खाने खाना हरेक जीवनको नैसर्गिक अधिकारभित्र पर्ने कुराहरू हुन् ।
आज आम मानिसको स्वास्थ्यमा विभिन्न किसिमका प्रतिकूल परिस्थिति सिर्जना भइरहेका छन् । प्रकृतिका  हावा, पानी, माटो, आकाश र प्रकाश दूषित भएका छन् । पहिले चालीस वर्षपछि लाग्ने समस्या आज बीस पच्चीस वर्षका जवानहरूलाई देखा परिरहेका छन् । जस्तो मधुमेह पाकाहरूलाई लाग्ने समस्या भनेर सुनिन्थ्यो तर आज युवाहरूलाई प्राय: लक्षण देखिइसकेको अवस्था छ । उच्च रक्तचाप पनि पैँतीस चालीसपछिकै उमेरकालाई लाग्ने समस्या जवानहरूलाई देखापरिरहेको परिप्रेक्षमा प्रकृति प्रेमको महत्त्व बढेको छ ।
संसार प्रकृतिको आफ्नै नियमअनुुसार सञ्चालन हुन्छ । प्राकृतिक भाषामा भन्ने हो भने देशको नीतिभन्दा विपरीत काम गर्ने जसरी सजायको भागिदार हुनुपर्छ, त्यसरी नै प्रकृतिको नियमविपरीत जानेलाई स्वाभाविक स्वस्थभन्दा प्रतिकूल प्रभाव सहनुपर्ने हुन्छ, त्यसैलाई अस्वस्थ वा रोग भन्न सकिन्छ । अब प्रश्न उठ्न सक्छ, प्रकृतिसँग मानव स्वास्थ्यको के सम्बन्ध हुन्छ ? मानव स्वास्थ्यमा यति सूक्ष्म चीजहरू छन् जसको निश्चित कुराको अनुसन्धानको निष्कर्ष नभएको हुनाले विभिन्न व्यक्तिको व्याख्या विभिन्न प्रकारले फरकफरक भइरहेको पाइन्छ ।
भौतिक हिसाबले प्राकृतिक संरचना पाँच तत्त्वले बनेको हुन्छ । जसमा हावा, पानी, आगो, माटो र आकाश मानिन्छ । प्राकृतिक संरचनामा हरेका रीतिले यिनीहरूको परस्परसम्बन्ध रहन्छ । त्यसरी नै मानव शरीरमा पनि यिनै पाँच तत्त्वको परस्परसम्बन्धबाट नै हाम्रो पूर्ण शरीरको संरचना भएको हुन्छ ।
हावा:
प्रकृतिमा हावा भन्नाले प्राण वा स्वासलाई लिन सकिन्छ । हरेक प्राणी स्वास प्रस्वासको पक्रियाबाट जीवित रहन्छ । हावा वा अक्सिजनबिना कुनै पनि प्राणी वा वनस्पतिको अस्तित्व सम्भव छैन । हावाबिना संसारको श्रृष्टिको कल्पना पनि गर्न सकिँदैन ।
पानी:
मानिसको शरीरमा पनि सरदर ७० प्रतिशत पानी रहनु आवश्यक छ । यसको असन्तुलनले मानिस अस्वस्थ्य हुन पुग्छ । पानी हरेक वस्तुमा विद्यमान छ । यसको उपस्थितिविना प्रकृति नै अधुरो रहन्छ त्यसैले जति हावाको महत्त्व छ, पानीको पनि कम छैन ।
माटो:
पाँच तत्त्वको सम्पर्कमा जब वस्तु ठोस हुँदै जान्छ, तब यसले माटोको रूप धारण गर्छ । माटो यी सबै कुराको आधार हो । बाह्य दृष्टिले ठम्याउन गाह्रो पर्ला तर वास्तविकता यही नै हो । हाम्रो शरीर सुरुमा नै ठोस थिएन । महिला र पुरुषको तरल रूपको डिम्ब र शुक्रकीटबाट विकसित यो बाल, जवान तथा बृद्ध हुँदै फेरि ठोस रूपमा नै मिलन हुुने माटोमा नै हो, त्यसैले माटोको पनि ठूलो महिमा  छ ।
आगो:
आगो पाँच तत्त्वमध्येको एक तत्त्व हो । यसलाई अग्नि तथा सूर्य भनेर पनि व्याख्या गरिन्छ । सामान्य रूपमा यसको त्यति महत्त्व देखिँदैन तर श्रृष्टिकै पहिलो रूप तेज शक्ति स्वरूप आगो हाम्रो शरीरमा नभइहुँदैन । यसको असन्तुलनले पनि मानिस रोगी हुन पुग्छ । शरीरभित्र भएको विद्युतीय चार्जको असन्तुलनले बाहिर थाहा पाउन सकिन्छ कि स्वास्थ्यमा गडबडी हुनु लागेछ । जस्तो ज्वरो आउनु तथा रुघाखोकी लाग्नु आदि यसका लक्षणहरू हुन् ।
आकाश:
आकाश सबैभन्दा ठूलो तत्त्व हो । यसको उपस्थितिबिना त कुनै कुरा पनि सम्भव छैन । खालिपन, संसारमा धेरै वैज्ञानिकले धेरै खोजअनुसन्धान भयो भनेर दाबी गरे पनि यस विषयमा कतिपय कुरा अझै पनि रहस्यमय नै छ । बिनाखालिपन जसरी प्रकृति संरचना सम्भव छैन, त्यसरी नै बिनाखालिपन मानव शरीरको पनि कल्पना गर्न सकिँदैन । हामीले वार्तालाप गर्ने स्वर या ध्वनि यसै खालिपनको सहायताले स्वास नली स्वर नलीको खालिपनको मद्दतले सम्भव भएको हो । स्वासप्रस्वास तथा रक्तसंचार स्नायु प्रणाली जति पनि शरीरका प्रणालीको परस्पर सम्पर्क छ त्यो सबै आकाश तत्त्वको महत्त्वपूर्ण भूमिका रहन्छ ।
जनस्वास्थ्यको राम्रो प्रवर्धन भएको खण्डमा जनता बलिया भएको खण्डमा देश पनि बलियो रहन्छ, देश बलियो भएको अवस्थामा कुनै छिमेकी राष्ट्रले चलाउन सक्दैन । प्रकृति र स्वास्थ्यको परस्पर घनिष्ठसम्बन्ध छ स्वास्थलाई सदैव तन्दुरुस्त, सवल तथा सुदृढ बनाइराख्नका लागि प्रकृतिलाई पनि सफा तथा स्वच्छ राख्न जरुरी छ । हाम्रो हावा पानी र वातावरणलाई स्वच्छ राख्न र जीवनशैलीलाई प्रकृतिमय बनाउँदै लैजानका लागि राष्ट्र, समाज र व्यक्ति हामी सबैको साझा दायित्व हो ।
यसको व्यवस्थामा उचित सन्तुलन गर्न नसक्नु नै प्रकृतिदेखि टाढा रहनु हो । जस्तो हाम्रो बस्ने बास र सुत्ने ओछ्यान कस्तो हुनुपर्छ ? यसमा साधारण कडा, साह्रै गद्दीदार नभएको उत्तम रहन्छ । लुगामा पनि मौसमअनुसार र शरीरको आवश्यकअनुसारको साधारण सुती उनी रेसम आदिको राम्रो हुन्छ । खानामा सात्वुविक र साकाहारी, सकेसम्म साधारण तरिकाले पकाएको नुन तेल अमिलो पीरो तथा मरमसला कम भएको खाना स्वास्थ्यको लागि लाभदायक हुन्छ ।
प्रकृति प्रेम भनेको सामान्य भाषामा भन्ने हो भने प्रकृतिको नजिक रहेर जीवनयापन गर्नुलाई भन्न सकिन्छ । प्रकृतिसँग घुलमिल हुनु, प्रकृतिअनुसार चल्नु, प्रकृतिको नीतिनियमलाई मान्नु, समग्रमा भन्नु पर्दा जीवनलाई प्रकृतिमय बनाउने काम हो प्रकृति प्रेम । हाम्रो शरीरको प्रकृतिसँग राम्रो तालमेल छ, प्रकृतिसँगको सम्पर्कबिना जीवन जिउनु पनि सम्भव हुँदैन । यदि हामीले शरीरलाई शक्ति मान्ने हो भने प्रकृतिचाहिँ महाशक्ति हो ।
शरीरमा शक्तिक्षिण हुने हो भने त्यो प्रकृतिमा नै गएर विलीन हुने हो । यदि प्राप्ति हुने हो भने प्रकृतिबाटै प्राप्त हुन्छ । त्यसैले प्रकृतिसँग हाम्रो शरीरको गहिरो नाता रहेको हुनाले यसको मर्मलाई बुझेर हाम्रो जीवनशैलीलाई प्रकृतिमय बनाउनुपर्छ तथा प्रकृतिसँग प्रेम गर्न आवश्यक छ ।
(लेखक प्राकृतिक चिकित्सक हुन्)

प्रतिक्रिया