घुम्ती शिविरबाट साढे अठार हजारलाई सेवा

राजविराज, १० जेठ । सरकारको नीति तथा कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीले महिना दिनसम्म सञ्चालन गरेको ‘एकीकृत घुम्ती सेवा शिविर’ बाट १८ हजार ४ सय ७५ जनाले सेवा लिएका छन् । सर्वसाधारणलाई घरदैलोमै सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लाको ६ क्षेत्रको विभिन्न ६ स्थानमा सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट १८ हजार ४७५ जनाले सेवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए ।
शिविरबाट चार हजार ८ सय १४ जनालाई नागरिकता वितरण, तीन हजार ८ सय २ जनाको फोटोसहितको मतदाता नामावली संकलन, एक हजार ३ सय ९६ जनालाई स्वास्थ्यपरीक्षण, एक हजार ५ सय ५६ पशुको जाँच र एक हजार ३ सय १९ जनालाई प्राविधिक सेवासहितको कृषि बीउबिजन वितरण गरिएको छ । शिविरबाट नागरिकता वितरण गरिएका चार हजार ८ सय १४ जनामध्ये वंशजका आधारमा दुई हजार ३ सय ४९ जना महिला, एक हजार ५ सय ७९ जना पुरुष छन् । त्यस्तै, जन्मका आधारमा ३४ जना महिला, ६६ जना पुरुष र ७ सय ८६ जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरिएको छ ।
घुम्ती सेवा शिविर सञ्चालन गर्न गत वैशाख १५ मा सदरमुकाम राजविराजबाट हिँडेको टोलीे सदरमुकाम फिर्ता भएको छ । १५ वैशाखदेखि कमलपुर गाविसबाट सुरु भएको घुम्ती सेवा शिविर जेठ ६ गते छिन्नमस्ता गाविसमा आएर सकिएको हो । वैशाख १५ देखि १८ गतेसम्म कमलपुर, वैशाख २० देखि २४ गतेसम्म कोइलाडी, वैशाख २२ देखि २६ गतेसम्म कुशहा, वैशाख २५ देखि २९ गतेसम्म पातो, वैशाख २७ देखि ३१ गतेसम्म वोदे वरसाइन र जेठ २ देखि ६ गतेसम्म छिन्नमस्ता गाविसमा शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको थियो ।

प्रतिक्रिया