अवैध ढुंगा निकासी तीव्र

कञ्चनपुर, १० जेठ । चुरे क्षेत्रका तीनवटा सामुदायिक वनबाट एक सातादेखि अवैध रूपमा ढुंगा निकासी तीव्र भएको छ । टोटी–फुलेली रेन्जपोस्टअन्तर्गत पर्ने सुनदेवी, भगवती र कालिका सामुदायिक वनमा रहेका खोलाबाट अवैध रूपमा ढुंगा निकासी हुन थालेको हो । यहाँका सामुदायिक वनहरूले पैसा लिएर ढुंगा निकासी गर्न छुट दिएको स्थानीय बासिन्दाको आरोप छ ।
सुनदेवी र भगवती सामुदायिक वनको गिठे खोला र कालिकाको धारापानी खोला क्षेत्रबाट दैनिक ३० ट्रयाक्टरभन्दा बढी ढुंगा निकासी हँुदै आएको छ । ढुंगा लगेबापत सामुदायिक वनले प्रतिट्रयाक्टर ३ सयदेखि ५ सयसम्म शुल्क लिने गरेका छन् । यस क्षेत्रबाट ल्याइने ढुंगा भारतीय सम्पूर्ण नगर र खजुरीया क्षेत्रसम्म पुर्‍याइने गरिएको छ ।
सामुदायिक वनका खोलाको तल्लो तटीय क्षेत्रमा ढुंगा पाउन छाडेपछि ट्रयाक्टर सञ्चालकले चुरेको फेदीबाटै ढुंगा उठाउन थालेका छन् । जसले गर्दा तटीय क्षेत्रका बासिन्दासमेत जोखिममा परेका छन् । ग्रामीण सडकमा ढुंगा बोक्नका लागि ट्रयाक्टर सञ्चालन हुन थालेपछि सडकको अवस्थासमेत नाजुक बनेको स्थानीय आशाराम चौधरीले बताए । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य मानसी भण्डारीले चुरे क्षेत्रबाट जथाभावी रूपमा ढुंगा उठाउने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाउनुपर्ने बताए । उनले खनिज पदार्थको दोहन गरी पैसा कमाउने कार्यमा लागेका सामुदायिक वनका पदाधिकारी, वन कार्यालयका कर्मचारी र ढुंगा, बालुवा, निकासीमा लागेका सवारी सञ्चालकमाथि तत्काल कारबाही हुुनुपर्नेसमेत बताए ।

प्रतिक्रिया