दलित वस्तीमा अझै आध्यारो

लहान : पूर्व–पश्चिम सडकसँगै जोडिएको भए पनि सिरहाको जमदह गाविस १ मा रहेको ३५ घरको दलित बस्ती विभेदको सिकार भएको छ ।
वस्तीको वरिपरिका गाउँमा बिजुली पुगे पनि दलित बस्ती भएकैले उपेक्षित भएर बिजुली नआएपछि स्थानीय मुसहरहरूले अझै टुकीकै सहाराले काम चलाउँदै आएका हुन् ।     गाविस कार्यालय, विद्युत् प्राधिकरण र विभिन्न संघसंस्थाको सहयोगमा जमदहका विकट वस्तीमा बिजुली पुर्‍याइए पनि सडकसँगै रहेको मुसहर बस्ती अँध्यारोमै बस्न बाध्य भएको स्थानीय घुरन सदायले बताए । ‘बिजुलीको लागि पटकपटक स्थानीय नेता र गाविसलाई गुहार्‍यौँ तर कसैले वास्ता गरेनन्’  सदायले भने ।
बिजुली नहुँदा छोराछोरीको लेखपढमा पनि समस्या हुने गरेको उनीहरूको गुनासो छ । गाउँका टाठाबाठाले आफ्नो घरघरमा बिजुली पुर्‍याए तर दलित बस्ती भएकै कारणले विभेद गरिएको मुसहरहरू बताउँछन् ।
चुनावको बेलामा मात्र नेताहरू गाउँ आउने गरेको सुनाउँदै स्थानीय सावित्रीदेवी सदायले भनिन्,  ‘आगामी चुनावमा बिजुली नदिएसम्म भोट नै दिँदैनौँ । ’ भोट माग्ने नेताले गाउँमा बिजुली बाल्नुपर्छ, अनि दिन्छौँ भोट’ सदायले भनिन् । उनले बत्तिमाथि राजनीति गर्नेलाई अब कुनै हालतमा पनि भोट नहाल्ने दावीसमेत गरिन ।

प्रतिक्रिया