प्रेस काउन्सिलविरुद्ध अन्तरिम आदेश

काठमाडौं : प्रेस काउन्सिलविरुद्ध परेको मानहानिसम्बन्धी रिटमा सर्वोच्च अदालतले काउन्सिल र सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले बुधबार काउन्सिलको प्रकाशन संहितामा प्रकाशित सामग्रीले मानहानि गरेको सम्बन्धी रिटमा अन्तरिम आदेश जारी गरेको हो । पत्रकारलाई आचारसंहितामा बस्न र आचारसंहिता पालना गराउने काउन्सिलको
प्रकाशन संहितामा प्रकाशित सामग्रीले मानहानि गरेको भन्दै पत्रकार रोशन
पुरी, गोविन्द देवकोटा र अधिवक्ता श्रीकृष्ण सुवेदीले काउन्सिलविरुद्ध दायर
गरेका थिए । रिटमा सर्वोच्चले मुद्दाको किनारा नलागेसम्म यस्ता सामग्री प्रकाशन नगर्न
काउन्सिललाई निर्देशन पनि दिएको छ ।
संहिताले कपोलकल्पित कुरा छापेर मानहानि गरेको ठहरसहित पत्रकार पुरी र देवकोटा तथा सार्वजनिक विषय भएकोले सम्बोधन हुनुपर्ने भन्दै अधिवक्ता सुवेदीले सोमबार रिट दायर
गरेका थिए  । रिटमा १० लाख रुपियाँ क्षतिपूर्तिको माग दाबी गरिएको छ भने
यसप्रकारका सामग्री छापिएपछि व्यक्तिको जीवनमा पुग्ने क्षतिको सम्बोधन गर्ने
कुनै कानुन नभएकोले तत्काल कानुन बनाउन मागसमेत गरिएको छ । सर्वोच्चले
यस्ता सामग्री प्रकाशन गर्नुको कारण पेस गर्न पनि नेपाल सरकार र प्रेस
काउन्सिललाई आदेश दिएको हो ।
पत्रकारहरूको पक्षबाट बुधबार अधिवक्ता सुवेदी, रमन श्रेष्ठ, दीनमणि पोख्रेल, सुरेशकुमार पौडेल र गोपालकृष्ण घिमिरेले वहस गरेका थिए । पत्रकारहरूले समाचार वा झुटा सामग्री प्रकाशन तथा प्रसारण भएमा व्यक्तिको जीवनमा पुग्ने क्षतिको सम्बोधन गर्ने कुनै कानुन
नभएकोले कानुन बनाउन माग गरेर रिट हालेका हुन् । पत्रकार पुरी अहिलेसम्म
मलेसिया, सिंगापुर भ्रमण नगएको उनको राहदानीबाट देखिएको छ । पुरीले
राहदानीसमेत अदालतमा पेस गरेका छन् ।

प्रतिक्रिया