सडकबाटै संविधान लेख्ने वैद्यको चेतावनी

Mohan-Baidhyaकाठमाडौं, ८ जेठ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले माग सुनुवाइ नभए सडकबाट संविधान लेख्ने बताएका छन् । सहिद कृष्ण सेन इच्छुकको स्मृतिमा निर्मित नाटक ‘उनी मरेका छैनन्’को प्रदर्शनीको शुभारम्भ गर्दै अध्यक्ष वैद्यले २५ बुँदे बाधा–अड्काउ फुकाउ खारेज नभएसम्म देशले निकास नपाउने बताए ।
‘गोलमेचसभा गरी दलहरूबाटै नयाँ प्रधानमन्त्री चयन गरेर, विगतका कमी–कमजोरी सच्याउँदै नयाँ संविधान लेख्ने प्रक्रियामा अगाडि बढाउनुपर्छ,’ अध्यक्ष वैद्यले भने । ०७ सालको क्रान्तिदेखि नेपाली जनतालाई पटक–पटक धोका दिइएको उल्लेख गर्दै उनले फेरि पनि जनतालाई धोका दिने षड्यन्त्र भइरहेको जिकिर गरे ।
अध्यक्ष वैद्यले जनतालाई फेरि धोका दिइए त्यो आफूहरूलाई सह्य नहुने बताए । ‘त्यसो गरिए सडकबाटै नयाँ संविधान बनाउने र नयाँ जनवादी क्रान्ति सम्पन्न गरिन्छ,’ उनले भने ।
इच्छुक बहुमुखी प्रतिभाका धनी भएको चर्चा गर्दै अध्यक्ष वैद्यले उनको सहादतले नेपालको वामपन्थी आन्दोलन र प्रगतिशील साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।

प्रतिक्रिया