प्रमुख दलले तानाशाही लाद्न खोजेको आरोप

Rajkumar-Lekhi1304858757-coदेउखुरी, ८ जेठ । नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले देश उल्टो बाटोमा हिँडिरहेको बताएका छन् । थारू पत्रकार संघ दाङले मंगलबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखीले आदिवासी जनजातिहरूको अधिकार कुण्ठित गर्नेगरी प्रमुख चार राजनीतिक दलले देशलाई अनिर्णयको बन्दी बनाउँदै तानाशाही लाद्न खोजेको आरोप लगाए । ‘देश उल्टो बाटोमा हिँडिरहेको छ,’ उनले भने, ‘गन्तव्यहीन बाटो जहाँबाट विनाशतर्फ मात्र पुगिन्छ, त्यही बाटोमा देश हिँडिरहेको छ ।’
राजनीतिक दलले निर्दलीय शासन व्यवस्था ल्याएको र त्यही व्यवस्थाले देशमा तानाशाही निम्त्याउने उनको तर्क छ । ‘दलहरू तानाशाही राणाशासनभन्दा कठोर शासन ल्याउने पक्षमा भएका कारण देश कर्मचारीको हातमा सुम्पिए,’ उनले भने, ‘यस कदमले सैनिक शासनतर्फ उन्मुख गराउँछ ।’ प्रमुख दलहरू अग्रगमनको पक्षमा नरहेका कारण उनीहरूले देशमा अस्थिरता ल्याउन खोजेको उल्लेख गरे । ‘प्रमुख दलहरू राजनीतिक निकास चाहँदैनन्,’ उनले भने, ‘कोही पनि अग्रगमनको पक्षमा छैनन्, विदेशीको इसारामा चलिराख्या छन् ।’ जनतालाई अधिकारसम्पन्न गराउन नचाहने ब्राह्मणवादी चिन्तन बोकेका प्रमुख दलका नेताहरूको सोचमा परिवर्तन आउनुपर्ने बताए । ‘सोचमा परिवर्तन नआएसम्म देशले काँचुली फेर्दैन,’ उनले भने, ‘सोच परिवर्तन नभएसम्म अग्रगमनतर्फ उन्मुख हुन सकिँदैन ।’ वर्तमान सरकार अवैधानिक भएको भन्दै आदिवासी जनजातिले निर्वाचनमा भाग नलिने जिकिर गरे । राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि संस्थागत हुन नसक्दा देश गम्भीर संकटमा फसेको टिप्पणी उनको छ ।
पत्रकार सम्मेलनमा थारू कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीले आदिवासी थारूलाई अधिकारसम्पन्न बनाउन देशव्यापी जागरण अभियान सञ्चालन गरिएको बताए । ‘थारू जातिमा जागरण ल्याउन देशव्यापी अभियान थालेका छौँ,’ उनले भने, ‘यसले थारू समुदायमा राजनीतिक, सामाजिक चेतना विस्तार गर्छ ।’ देशव्यापी रूपमा सञ्चालन गरिएको अभियानमा सक्रिय रूपमा सहभागी हुन उनले थारू आदिवासी जनजातिलाई अनुरोध गरे । आफूहरू पहिचानसहितको संघीयता, संघीयतासहितको संविधानको पक्षमा रहेको बताए । जातीय संघीयताको पक्षपाति नभएको जिकिर गर्दै पहिचानसहितको संघीयताको मुद्दा जोडतोडले उठाइराख्ने पनि बताए । सम्मेलन थारू पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार छविलाल कोपिलाले गरेका थिए ।

प्रतिक्रिया