चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न अभाव

चितवन : पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा अवस्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न अभाव हुन थालेको छ ।
सहयोग जुटाएर बालबालिकाको लालनपालन तथा अध्यापन गराइरहेको संरक्षणकेन्द्रमा अन्य सामग्री सहयोग हुने क्रम जारी रहे पनि खाद्यान्नको भने जोहो हुन सकेको छैन ।
सहयोगीबाट खाद्यन्न सामाग्र कम मात्रामा सहयोग हुने गरेकाले अभाव सिर्जना हुने गरेको संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताए । विभिन्न पहाडी वस्तीमा खाद्यान्न संकट र शारीरिक अपांगताको कारण पढाइबाट वञ्चित भएका ४७ जना चेपाङ बालाबालिका सो केन्द्रमा आश्रय लिई अध्ययन गरिरहेका छन् । सो केन्द्रमा दाताहरूको नजर नपर्नुले खाद्यान्न अभाव सुरु भएको हो । केन्द्रमा आश्रित  बालबालिकाको लागि दैनिक २० किलो चामल, ६ किलो आलु, १ लिटर तेल, १ किलो प्याज, १० किलो हरियो तरकारी आवश्यक पर्ने केन्द्रका अध्यक्ष शर्माले जानकारी दिए ।
केन्द्रमा हाल चितवनको दाहखानी, काउले, शक्तिखोर, सिद्धि, कोराक, लोथर र मकवानपुरको काँकडा गाविसका अपांग, अनाथ र आर्थिक स्थिति अत्यन्तै कमजोर भएका ४७ जना चेपाङ बालबालिका केन्द्रमा आश्रय लिई नजिकै रहेको पञ्चकन्या उच्च माविमा अध्ययन गरिरहेका छन् । मागेरै भए पनि पढाउन सक्छु भन्ने हिम्मतका साथ अभियान चलाइरहेका शर्माले पछिल्लो समयमा बालबालिकाहरू बिरामी भएको बेला औषधि उपचार लत्ता कपडा स्टेसनरी र खाद्यान्न जुटाउन आफूलाई धौ–धौ परेको बताए । उनले अभियानमा कसैले एक रुपियाँ दियो भने पनि आफूहरूलाई एक लाख बराबर हुने र कसैले एक मुठी चामल दियो भने एक मुरी बराबर हुने बताए । केन्द्रले त्यस्तै अभियान चलाएर एक वर्षअघि पूर्वी चितवनको पिठुवास्थित विन्देश्वरी निमाविमा सिद्धि गाविसका २६ जना चेपाङ बालबालिकालाई उचित व्यवस्थापन गरिसकेको छ ।

प्रतिक्रिया