सिद्धान्त हराएका कम्युनिस्ट

कम्युनिस्टहरू विभाजित छन्, नीति, वाद, विचार र सिद्धान्तमा विवाद भएर होइन, आफैँ नेता हुन र सत्तामा पुग्न । अहिले नेपाली कम्युनिस्ट उद्देश्य भनेको आफ्नै पार्टीको प्रतिस्पर्धी सहयोद्धालाई समाप्त पारेर अगाडि बढ्नु हो । आफूलाई एकताको पक्षपाती भएको पार्टी टुक्रैटुक्रा भएको हुन्छ, यो नेपाली कम्युनिस्टको चरित्र बनेको छ । गरिब जनताका बारेमा निकै मीठा र चाप्लुसीपूर्ण भाषण गर्छन् र आफू धनधान्यले सम्पन्न भएर महासामन्तको जिन्दगी बिताउँछन् । यो सबैले देखेको वास्तविकता हो । पछिल्लो समयमा आएर नेकपा एमालेवादी र एमालेमा सैद्धान्तिक भिन्नता देखिँदैन र छँदै छैन । तथापि, आफ्नो धर्मअनुसार आफू मात्र ठीक भन्न उनीहरूले छाडेका छैनन् । जनताले भने दुवैलाई तौलिँदै छन् । वास्तवमा जनताको अत्यधिक समर्थन भए पनि नेपाली वामपार्टी मिल्न सकेनन् । जसको फाइदा अरूले उठाएका छन् । उनीहरूकै कारणले जनताले दु:ख पाएका छन् । संविधानसभा निर्वाचनपछि बनेका वामसरकार आफ्नै दलका नेताको प्रत्यक्ष वा अप्रत्यक्ष विरोधकै कारण ढलेका हुन् । पुष्पकमल दाहाललाई पछि नपारेसम्म बाबुराम भट्टराईले पार्टीको बागडोर समाल्न पाउने सम्भावना छैन । झलनाथलाई नउछिट्याएसम्म केपी ओली अगाडि बढ्ने अवस्था आउँदैन । नेपालका कम्युनिस्टहरू अति अल्प सोच्छन् र आफूबाहेक अरूको अस्तित्व स्वीकार गर्न अप्ठ्यारो मान्छन् । यही नै नेपाली कम्युनिस्टहरूको चरित्र हो र नेपालको पीडा हो ।
संविधानसभाको दोस्रो निर्वाचन हुने भनिएपछि नेकपा (एमाले)का केही नेता एमाओवादीमा प्रवेश गरेका छन् । अहिले आएर सैद्धान्तिक, दर्शन वा विचारमा विवाद आएर होइन, स्वार्थप्रेरित भएर दलबदलको नीति कम्युनिस्टहरूले अँगाल्न थालेका छन् । केही वर्षअघिसम्म निर्वाचनताका छिमेकी मुलुक भारत त्यसमा पनि नेपालसँग सीमा जोडिएको विहार प्रान्तमा यस्ता दलबदल भएका खबर सुनिन्थ्यो । अहिले नेपालमा त्यो पनि कम्युनिस्टहरूमा देख्न थालिएको छ । अहिले नेपाली कम्युनिस्टसँग सिद्धान्त, दर्शन, विचार छैन । हुल जम्मा गरेर आफ्नो बनाउने परिपाटी विकास गरिएको छ । जसले गर्दा माक्र्सवाद, लेनिनवाद माओ विचारधारा धामीले भट्याउने पुरानो मन्त्रजस्तो भएको छ । एमाओवादी आफूलाई सबैभन्दा ठूलो पार्टी ठान्छ, शक्तिशाली र सिद्धान्तनिष्ट भएको ठान्छ । वास्तवमा उसका कार्यकर्ता सैद्धान्तिक रूपले उसका बनेका छैनन् । सजिलो उपायले धन आर्जन गर्न र आफ्नो अपराध लुकाउन त्यस पार्टीका सदस्य बनेका छन् । यता एमालेमा पनि मदन भण्डारीले छाडेर गएको सुदृढ र सिद्धान्तप्रति आस्थावान् कार्यकर्ता पंक्ति छैन । यसले के स्पष्ट गर्छ भने कम्युनिस्टहरू पनि सिद्धान्त हराएका नेपाली कांग्रेस जस्तै बन्दै गएका छन् ।
यस्तै, अवस्थामा एमाले छाडेर केही व्यक्ति एमाओवादीमा प्रवेश गरेका छन् । तामझामसहित प्रवेश गरेका ती व्यक्तिले विगतमा एमालेका लागि निकै योगदान पुर्‍याएका छन् । पार्टी प्रवेश कार्यक्रममा एमालेले दिएको भन्दा माथिल्लो पद दिने घोषणा पनि एमाओवादी नेताले गरे । तर, पत्याउने आधार र वातावरण भने छैन । अर्थात् जसले नवप्रवेशीलाई भनेकै पद दिने घोषणा गरे उनको बोलीको विश्वास छैन । त्यही पार्टीमा १० वर्षसम्म ज्यानको बाजी लगाएर सशस्त्र संघर्षको मोर्चामा खटेका योग्य पुराना नेताले नै त्यहाँ स्थान पाएका छैनन् । नवप्रवेशी रामचन्द्र झा वा उर्मिला अर्याललाई ती पुराना नेतालाई भन्दा माथि राख्ने हो भने एमाओवादीमा अर्को पहिरो जानेछ । यसले के स्पष्ट हुन्छ भने सैद्धान्तिक रूपमा नभएको प्रवेशले आयाराम गयारामको सिद्धान्त मात्र अवलम्बन गर्नेछ । तसर्थ, नेपालका कम्युनिस्टहरू अब विचारका आधारमा सैद्धान्तिक बहस चलाउने र कार्यकर्ता पनि सोहीअनुसारको बनाउने अभियानमा लाग्नुपर्छ । अन्यथा कम्युनिस्टहरूले हराएको सैद्धान्तिक धरातल भेट्टाउने छैनन् ।

प्रतिक्रिया