हतियार छैनन् अमरगढी किल्लामा

Dadeldhura Districtडडेल्धुरा, ७ जेठ । सुदरपश्चिमकै ऐतिहासिक तथा देशको गरिमा बोकेको डडेल्धुरा सदरमुकामस्थित अमरगढी किल्लामा रहेका ऐतिहासिक हतियार अहिले किल्लामा छैनन् । बडाकाजी अमरसिंह थापाले विसं. १८४७ मा स्थापना गरेको अमरगढी किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार किल्लाभित्र भेटिँदैनन् ।
हतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासिनता जिम्मेवार रहेको आरोप स्थानीयको छ । सम्बन्धित निकायले ध्यान नदिँदा किल्लाभित्रका हतियार बेपत्ता भएकाले किल्लाको महत्त्व घटेको स्थानीयको भनाइ रहेको छ ।
नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको विज्ञहरूको भनाइ छ । नेपालको अमरगढी किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवित किल्ला रहेको पुरातत्त्व विभाले जनाएको छ । डडेलधुराको सदरमुकाममा रहेको एतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अंग्रेजसँग लड्दा  प्रयोग गरेका तोप, बन्दुक, घरेलु भाललगायतका ऐतिहासिक हतियार र सैनिक पोसाक नहुँदा किल्लाको महत्त्वसमेत घटेको छ ।
नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेलधुरालाई आधारक्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानेर निर्माण गरिएको बूढापाकाको भनाइ छ । युद्ध लड्दा प्रयोग भएका घरेलु हातहतियार, बन्दुकलगायत अन्य हतियार रहेको र त्यसबेला प्रत्येक वर्ष दसैँको फूलपातीको दिनमा किल्लामा रहेका सेनिक तोप लगेर टँुडिखेलमा पट्काउने गरेको स्थानीय ८२ वर्षीय करी दमाई बताउँछन् । उनले त्यसबेला किल्लामा खड्गदल गण नामको तत्कालीन शाही सेना बस्ने गरेको र पछि उनीहरूले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदासँगै लगेर गएको समेत बताए । त्यसपछि यस किल्लामा कुनै सैनिक टुकडीले ती हतियार नल्याएको समेत दमाईले  बताए ।
त्यसबेला किल्लामा आफँै पड्किने भीमसेन नाल बन्दुक  रहेको र त्यसलाई प्रत्येक वर्ष दसँैको बेलामा कपडाको कभरले ढाक्ने गरिएको स्थानीय दीपक गुरुङले बताए । किल्लामा त्यसबेला पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, सय जती बन्दुक, किल्लाभित्र नै बम गोला बारुद बनाउने छट्टै घर र अन्य युद्ध सामाग्री रहेको किल्ला छेउ बस्ने स्थानीय बयोवृद्ध प्रेम घिमिरे बताउँछन् । तर, अहिले किल्ला हेर्न आउने पर्यटयकले ती कुनै पनि हतियार देख्न पाउँदैनन् ।
२०५४ सालमा अमरगढी किल्लाको नामबाट स्थापना भएको  अमरगढी नागरपालिकाले २०५६ सालमा अमरगढी किल्लाकै नामबाट नामाकरण भएको अमरगढी नगरपालिका २०५४ सालमा स्थापन भएको थियो । नगरपालिका स्थापना पश्चात २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहतमा लिएको थियो । तर, ०५८ सालमा तत्कालीन विद्रोही माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन  अमरगढी किल्लामा पुन: नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि किल्लामा पर्यटकले प्रवेश गर्नुभन्दा पनि त्यस क्षेत्रमा हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो । २०५८ सालदेखि २०६६ सालसम्म किल्ला सेनाको मतहतमै  थियो । स्थानीयको पटक–पकटको प्रयासपछि २०६६ साल पुषदेखि पुन: किल्लालाई अमरगढी नगरपालिकालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा अमरगढी नगरपालिकाले पाएको हो । त्यसपछि पनि किल्लामा निर्धकताका साथ पर्यटक जाने वातावरण भने निर्माण हुन नसक्दा पर्यटकको संख्या अत्यन्त न्यून रहेको थियो । पर्यटकलाई प्रवेश खुला गराए पनि फोटो खिच्न भने २०६९ सालबाट मात्रै स्वीकृति पाएको हो । किल्लाको प्रचारप्रसार तथा ऐतिहासिक हातहतियार तथा तत्कालीन सैसिनकका पोशाक किल्लामा राख्नु जरुरी छ । किल्ला अवलोकन गर्ने पर्यटकका लागि हाल भने खासै अवलोकन गर्ने वस्तु नहुँदा अवलोकन गर्न पर्यटकको संख्या न्यून  रहेको छ । सुदूरपश्चिमकै ऐतिहासिक तथा मुख्य पर्यटकीयस्थल अमरगढी किल्लामा रहेको भए पनि नगरपालिकाले तथा पर्यटन विकास बोर्डको खासै चासो नदेखाएका कारण यसको प्रचारप्रसारमा हुन नसकेको स्थानीयको आरोप छ । यसवर्ष भने पर्यटन विकास बोर्ड र नगरपालिकाले किल्ला संरक्षण तथा मर्मत सुधारका लागि बजेट छुट्टाएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया