मुलुक राजनीतिक संकटमा : खनाल

देउखुरी, ७ जेठ । एमाले अध्यक्ष झलनाथ खनालले मुुलुक राजनीतिक संकटमा फसेको बताएका छन् । संकटबाट मुलुकलाई मुक्त गर्न चाँडो निर्वाचन हुनुपर्नेमा उनले जोड दिएका छन् । सहिद नेत्रलाल अभागीको ३०औँ स्मृति दिवसका अवसरमा लमहीको रातो डाँडामा निर्मित स्मृतिभवन उद्घाटन गर्दै अध्यक्ष खनालले यस्तो बताएका हुन् ।
देशमा निर्वाचनको सरगर्मी बढेको उल्लेख गर्दै उनले निर्वाचनलाई अप्ठ्यारो पार्ने काम गर्न नहुनेमा जोड दिए । ‘देशमा निर्वाचनको सरगर्मी बढेको छ,’ उनले भने, ‘निर्वाचनलाई असर पार्ने खालका काम कसैबाट हुनु हुँदैन् ।’ भवन उद्घाटन गर्दै अध्यक्ष खनालले सहिद नेत्रलाल अभागीले कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योग्दानको चर्चा गरे । नेत्रलाल अभागीको योग्दानको सच्चा सम्मान अहिलेसम्मका उपलब्धीको संस्थागत र संविधानसभाबाट नयाँ संविधान जारी भए मात्र हुने बताए । ‘सहिदको साँचो सम्मान नयाँ संविधान जारी भयो र उपलब्धी संस्थागत भयो भने मात्र हुन्छ,’ उनले भने, ‘हामी अहिले त्यही कार्यमा लागेका छौँ ।’ कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, एमाले सचिव युवराज ज्ञवाली, नेताहरू शंकर पोख्रेल, अशोक चौधरी, जीवन राई, मेनका सुवेदी, शिवराज गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
देउखुरीको समग्र विकासमा ध्यान दिन भन्दै अध्यक्ष खनाललाई ३१ बुँदे ज्ञापनपत्र बुझाइयो । देउखुरी उद्योग वाणिज्य संघको नेतृत्वमा सोमबार बिहान विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउँदै विकास निर्माणमा ध्यान दिन अनुरोध गरिएको हो । ज्ञापनपत्रमा लमहीलाई नगरपालिका घोषणा, एकीकृत सेवा केन्द्रको स्थापना, लमही–कोइलावास सडक सिर्घ निर्माण, कालाकाटे–सिक्टा हुँदै नेपालगन्जसम्म जोड्ने सडक निर्माण, प्राथमिक स्वास्थ्य केन्द्र लमहीको स्तरवृद्धि गरी ५० शैयाको अस्पताल, गढवा–सिसहनीया स्वास्थ्य चौकीको स्तरवृद्धि, सालभौरी, महदेवा, सिसहनीया, बजार करंगेकोट, हाँसिपुर, मुर्कुटी हँुदै प्युठान जोड्ने सडक निर्माण, राप्ती, दोलइ र अन्य खोलामा तटबन्धन गर्न माग राखिएको छ ।
त्यसैगरी दामोदर सडक विस्तार, लमहीमा निर्माणाधीन क्रिक्रेट मैदान निर्माण तथा सञ्चालन, देउखुरीमा कृषि तथा विज्ञापन क्याम्पस स्थापना, कोल्ड स्टोरको स्थापना गरिनुपर्ने, लमही नगरविकास समितिले छुट्याएको जग्गामा सिटिहल निर्माण, जखेरा ताल, खौराबाबा मन्दिर, जंगलकुट्टी, रिहार, धानखोला मन्दिरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास, इलाका प्रहरी कार्यालय लमहीको  स्तरवृद्धि, सोनपुर, गंगापरस्पुरलगायतका गाविसमा प्रहरी युनिटको स्थापना, अर्जुनखोलावाट विद्युत् उत्पादन गरी चैलाही–सतबरीयामा सिंचाइको व्यवस्था, देउखुरी क्षेत्रमा रिंग रोडको स्थापना, औद्योगिक क्षेत्रको स्थापना, पहाडी सडकको निर्माण, नाका क्षेत्रमा सीमा सुरक्षा बल  युनिटको स्थापना, नाका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा भौतिक विकासको व्यवस्था, कोइलाबास क्षेत्रमा आयातित विद्युत्लाई देउखुरी क्षेत्रमा सप्लाई गरी दाङलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा, वडका पथ सिंचाइ आयोजनाअघि बढाउन प्रयाप्त बजेटको व्यवस्था, देउखुरी क्षेत्रमा विमानस्थल निर्माण, मेडिकल कलेज स्थापना, राप्ती नदीमा र्‍याफ्टिङको सम्भावना रहेको भन्दै त्यसको व्यवस्था, नौमुरे जलविद्युत् आयोजना निर्माण गर्दा देउखुरी क्षेत्रमा पानी प्रयोग गर्ने व्यवस्था मिलाइनु पर्नेलगायतका विषय पहल गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै अध्यक्ष खनालले सम्बन्धित निकाय समक्ष पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया