नेपाल–भारत सैनिकद्वारा सगरमाथाको सफल आरोहण

Nepal-Indian-Army-On-Everesकाठमाडौं, ६ जेठ । नेपाल–भारतका सैनिकहरुको सगरमाथा आरोहण तथा सरसफाई अभियान समुहको दोस्रो टोलीले पनि सफलतापूर्वक सगरमाथा आरोहण गरेको छ ।
टोलीले विगत १ महिनादेखि सगरमाथा वेश क्याम्प र सोभन्दा माथि संयुक्त रुपमा सफाई अभियान गर्दै आएको छ । अभियानकै दोस्रो तथा अन्तिम आरोहण टोलीले आज (सोमबार) विहान सात बजेर ३५ मिनटमा सगरमाथाको सफल आरोहण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
आरोहण दलको पहिलो टोलीले आइतबार विहान ९ बजे सगरमाथाको सफल आरोहण गरेको थियो ।
सफलतापूर्वक आरोहण सम्पन्न गर्ने आरोहीहरुमा नेपाली सेनाका सेनानी आदित्य कार्की, सहायक सेनानी भीमबहादुर भुजेल, जमदार कृष्णभक्त पौडेल, अमल्दार रमेश सदौला र अमल्दार टेकबहादुर थापा छन् ।
भारतीय सेनाका तर्फबाट मेजर मनोज जोशी, सुवेदार आर.एस. जलाल, हवल्दार उल्मी कन्नत, नायक हजराई लाल, राईफल म्यानद्वय सोनाम थिन्लास र शिवराज सिंहले पनि सफल आरोहण गरेका हुन् ।
आरोहण तथा सरसफाई अभियानको टोलीले हालसम्म सगरमाथा आधार शिविर इलाकाबाट करीव २ हजार किलो बढि परिमाणको फोहोर संकलन गरिसकेको छ ।

प्रतिक्रिया