खोजखबर

समाचारयात्राका कारुणिक पात्रहरू

सौर्य अनलाइन २०७० जेठ ६ गते २:४५ मा प्रकाशित

Mohan-Mainaliजोगिमारा बस्ती शोकमा थियो । आमाहरूका शब्द हराएका थिए । बाबुहरू अन्योलमा देखिन्थे, आँखामा आक्रोशसहितको पीडा थियो । पत्नीहरू मणि हराएझैँ सन्तापमा थिए ।  तीन महिना अघि कालिकोटमा हत्या गरिएका आफन्तको वियोगवेदना उनीहरूमा व्याप्त थियो । कमाउने उमेरका १७ जनाको हत्यापछि शवसमेत नपाउँदाको शोक र आक्रोश आफन्तहरूमा थियो । १५ परिवारका हरेक सदस्य रुँदारुँदा आँसु सुकेर व्यथित देखिन्थे । २०५९ असार १९ गतेको दृश्य त्यो ।
तीन पत्रकारको टोली धादिङको जोगीमारा पुगेका थियौँ । ‘मान्छेले मान्छेलाई कसरी मार्न सक्छ ?’ हरेकको प्रश्न थियो । म टिम लिडर भएर जोगीमारा पुगेको थिएँ । पीडितका दर्दनाक शब्दले छाती चिरिन्थ्यो । तर, विह्वल भएर बस्न  जिम्मेवारीले दिएन । उनीहरूको पीडामा भित्रभित्रै साथ दिएँ । जिम्मेवारी थियो, नेपालको सशस्त्र द्वन्द्वको एउटा कालखण्डलाई शब्दमा प्रतिबिम्बित गर्नु । हामी पुगेको भोलिपल्ट अर्थात् २० गते कुशको लास बनाएर १७ जनाकै किरिया गरे गाउँलेले । ५ दिन बसेर १५ परिवारका सदस्य भेट्दा रुवाबासी मात्रै देखियो । अनाहकमा मारिएका आफन्तको शव नपाएको आक्रोश पोख्थे बारबार । ती दर्दलाई हामीले भिडियोमा कैद गर्‍यौँ । देशको एउटा दर्दनाक कालखण्डलाई जीवन्त राख्न मैले समाचार लेखेँ । सशस्त्र द्वन्द्वले पारेको प्रभाव जोगिमाराको त्यो गाउँले खोलेको थियो । त्यहाँको वस्तुगत अवस्था हिमाल खबर पत्रिकामा लेखेँ । मेरो जीवनकै सबैभन्दा लामो समाचार थियो त्यो । चार हजार तीन सय शब्दको फिचर । हामीले डकुमेन्ट्री पनि बनायौँ, त्यो घटनाबारे ।
एक वर्षपछि फेरि म जोगिमारा पुगेको थिएँ । समाचार लेखेपछि आएको सहयोग पुर्‍याउन अनि रिपोर्टिङकै लागि । त्यस बेला पनि आफन्तवियोग व्यथा उत्तिकै थियो, त्यो बस्तीमा । पाँच वर्षपछि, २०६४ सालमा फेरि पनि पुगेँ । त्यतिबेला अझ प्रस्ट देखियो, द्वन्द्वको दीर्घकालीन प्रभाव । मानिसलाई शारीरिकभन्दा मानसिक पीडाले झन् कति प्रभाव पार्दो रहेछ ? एउटा सग्लो तस्बिर मेरा आँखाअघि घुमिरहेको थियो । कालिकोट हत्याकाण्डमा छोरा गुमाएकी आमाले आत्महत्या गरिछन् । अघिल्लोचोटि देख्दा पुत्रवियोगको पीडाले होस हराएर टोलाइरहेझैँ देखिन्थिन् । आँखामा आँसु सुकिसकेको थियो, सायद रुन अरू आँसु बाँकी थिएनन् । अन्तत: छोराको वियोग खप्न नसकेर पाँच वर्षको अन्तरालमा आफ्नै ज्यान फालिछन् । छोरा गुमाएका अर्का एक जना बाबुले पनि स्वास्थ्य बिगारे । कुष्ठरोग लागेका उनलाई औषधि खाने सल्लाह दिँदा ‘कमाउने उमेरको छोरोलाई त लग्यो, म किन बाँच्नुपर्‍यो’ भन्दै मदिरा पिउन थालेछन् ।
पत्रकार भएकाले लडाइँको कुरूप अनुहारलाई नजिकबाट नियाल्ने अवसर पाएँ । घटनालाई उधिनेर आफ्नो दृष्टिकोणबाट विश्लेषण गर्ने मौका पनि पाएँ । वेदनाको पोको खोल्न आतुर नागरिकको न्यानो माया पनि अनुभूति गरियो । २०६४ सालमा जोगिमारा जाँदा कालिकोटमा दुई छोराको हत्या गरिएका बाबुले हामीलाई देख्नेबित्तिकै भने, ‘हाम्रा छोरा मारिएर सरहरूले फेरि दु:ख पाउनुभयो ।’ झरी परेको बेला थियो त्यो । जुकाले रगत चुसिरहेको थियो । तर, त्योभन्दा महत्त्वपूर्ण अनाहकमा हत्या भएका नागरिकका परिवारको पीडा खोतल्नु थियो । ती पीडित बाबुको कुरा सुन्दा मलाई लागेको थियो, ‘यो आत्मीयता नि:स्वार्थ रिपोर्टिङको प्रतिफल हो ।’
२०५९ सालमा बाजुरामा पनि सशस्त्र द्वन्द्वले निर्दोष नागरिकलाई पारेको असरको अध्ययन गरेँ । बाजुराका छ किसानलाई एकै ठाउँमा हत्या गरेको थियो आर्मीले । हामी पुग्दा लास उठाइसकेको रहेछ । महिला र वृद्धवृद्धा मात्रै थिए गाउँमा, सबै जना चेत हराएझैँ । त्यो विह्वल अवस्था देख्दा मेरो पनि चेत थिएन । अर्धचेतमा नै क्यामरा चलाउन थाल्यौँ । भिडियो र केही स्टिल फोटो लियौँ । कसले के बोल्यो, पत्तो थिएन । काठमाडौं फर्किएपछि भिडियो हेर्दा एउटा ‘बाइट’ पायौँ । एक वृद्धा रोइरहेका महिलालाई सम्झाउँदै थिइन्, ‘पत्रकारहरू आइपुगे । अब तिमीहरूका कुरा भनिदिन्छन्, चुप लाग ।’ अरूका दु:खमा सान्त्वना दिने र चित्त बुझाउने मेलो पनि रहेछ पत्रकारिता, ती बूढीआमैको अभिव्यक्तिबाट मैले सिकेको पाठ ।
सशस्त्र द्वन्द्वका बेला गाउँ जाँदा सुरक्षित पक्कै थिएनौँ । तर, मानसिक रूपमै तयार थियौँ– जस्तो परिस्थिति आए पनि भोग्न तयार हुनुपर्छ । हामी बन्दुक बोकेका दुवै समूहका तर्फबाट थिएनौँ । पीडितको आवाज सुन्न पुगेका थियौँ । तर, गाउँलेहरू नौला मान्छे देख्नेबित्तिकै ‘यताका हुन् कि उताका हुन्, हामीलाई के थाहा र ?’ भन्दै तर्कन खोज्थे । बोल्नै चाहँदैनथे । बाजुराका ८२ वर्षका सूर्यप्रसाद गिरीले भनेका थिए, ‘अहिलेसम्म आएका नौला मानिस बन्दुक बोकेका हुन्थे । हामीलाई हप्काउँथे । तपाईंहरूले त हाम्रो दु:ख सुन्नुभयो । हाम्रो लागि त भगवान् नै हो ।’ सात वर्षको बीचमा तीनपटकसम्म बाजुरा गएँ । एउटै गाउँमा पुगेँ । सशस्त्र द्वन्द्वका कारण पुस्ता नै समाप्त भएको परिवारको व्यथा पनि बुझेँ । २०६१ सालमा मुगु जाँदा २४ घन्टासम्म माओवादीले नियन्त्रणमा लिए । भन्ने/नभन्ने सबै कुरा भने । कारण, हामी उनीहरूले विध्वंस बनाएका अवस्थाको रिपोर्टिङका लागि गएका थियौँ । आफ्नो पक्षमा नभएका कारण उनीहरूले हामीलाई दुव्र्यवहार गरे । हामीले त्यो घटनाबारे हल्लाखल्ला गरेनौँ ।
नागरिकको आकांक्षा, जीवन राम्रो बनाउने चाहनालाई बुझ्ने भाषामा प्रस्तुत गर्ने व्यक्ति पत्रकार हो । मैले पनि जीवनका २४ वर्ष पत्रकारितामा बिताएँ । पत्रकारिताका हरेक क्षणले मलाई सन्तुष्टि दिएको छ । सामग्री संकलनका लागि गरिने यात्रामा समाचार पूर्ण हुने समय लिएर मात्र रिपोर्टिङ गर्ने गर्छु । अधिकांश समय फिल्ड भिजिट गरेर समाचारका विषयवस्तु खोजेँ । विशेष गरी मान्छेको आकांक्षाको अध्ययन गरेँ रिपोर्टिङमार्फत । जीवन बुझ्ने प्रयत्न गरेँ । रिपोर्टिङका क्रममा धेरै पात्रसँग साक्षात्कार भयो । अधिकांश पात्र अझै स्मृतिमा छन् । २०५५/०५६ तिर वातावरण पत्रकार समूहमार्फत लाङटाङ गएका थियौँ, रिपोर्टिङका लागि । हाम्रो सामान बोक्न भरियाको आवश्यकता थियो । खोज्यौँ ।
एउटा सहयोगीले करिब १० वर्षको बालकलाई भरिया बनाउन हामीकहाँ ल्याइपुर्‍यायो । हामीले अस्वीकार गर्‍यौँ । भोलिपल्ट पदयात्रा थियो । अर्को भरिया खोज्न अनुरोध गरेका थियौँ । तर, बिहान त्यही बालकसहित हिजोको सहयोगी हामीकहाँ आइपुगे । हामीले बालकलाई भरिया नबनाउने हिजोकै निर्णय दोहोर्‍यायौँ । त्यसपछि, दाइ नाता पर्ने ती व्यक्तिले भने, ‘दाइ यसको बुबा सिकिस्त बिरामी छ । धुन्चेबाट भरिया हुन यहाँ आएको । बुबाको ऋण तिर्न धेरै समयदेखि भरिया भएको छ । भारी नबोके उसले खान पाउँदैन ।’ बालकको अनुहार हेरेँ, उसको अनुहारले जीविका टारिदिने आग्रह गरिरहेझैँ लाग्यो । काम नपाएर खान नपाउने अवस्थाको उसलाई भरिया काम दिनु अवैधानिक हुँदैन भन्ने निर्णय गर्‍यौँ । त्यो बालकसहित तीन जना भरिया लियौँ । उसलाई आठ/दश किलोको भारी बोकायौँ र पूरा ज्याला दियौँ । मैले त्यो यात्रामा बालकको स्टोरी लेखिनँ । तर, जीविकाका लागि मजदुरी गर्न बाध्य त्यो बालकको अनुहार अझै स्मृतिमा आइरहन्छ ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय