फर्कने हल्ला मात्र : फेल्प्स

michael-phelps-mainन्युयोर्क, ५ जेठ । कीर्तिमानी पौडीबाज माइकल फेल्प्सले अन्र्तराष्ट्रिय पौडी प्रतियोगितामा फर्कन सक्ने आफूबारे भइरहेको चर्चा हल्ला मात्र भएको स्पष्ट पारेका छन् । साथै ओलम्पिकको एक संस्करण तथा इतिहासमा सर्वाधिक पदक जित्ने खेलाडीका रूपमा इतिहास रचेका यी अमेरिकनले विना आधार मानिसले पत्याएकोमा आश्चर्यसमेत व्यक्त गरेका छन् ।
स्पोर्टस सम्बन्धी कार्यक्रमका एक टेलिभिजन प्रस्तोता तथा अमेरिकी राष्ट्रिय पौडी टिमका निर्देशक पिटर बस्चले आफ्नो समाचार स्रोतको हवाला दिँदै सामाजिक सन्जाल ट्विटरमा अन्र्तराष्ट्रिय पौडीमा फेल्प्स फर्कने निश्चित भएको उल्लेख गरेपछि फेल्प्सले तत्कालै त्यसको खण्डन गरेका हुन् । यसका लागि फेल्प्सले पनि ट्विटरकै प्रयोग गरेका छन्, ‘किन म फर्कनेबारे सन्देश पाइरहेको छु ? मानिसहरू किन कुनै पनि कुरा सुन्ने र पढ्ने बित्तिकै पत्याई हाल्छन् ।’ फेल्प्सले आफ्नो पुरानो निर्णयमा अडिग रहेको बताएका छन् ।
गत वर्ष लन्डनमा आयोजित ओलम्पिक खेलकुदपछि फेल्प्सले अन्र्तराष्ट्रिय पौडीबाट सन्न्यासको घोषणा गरेका थिए । फेल्प्सले ट्विट गरे लगत्तै बस्चले आफ्नो स्रोतप्रति विश्वस्त रहेको बताउँदै समय कुर्न भनेर फेल्प्सले ढाटेको अभिप्राय व्यक्त गरेका छन्, ‘फेल्प्सले आफू नफर्कने भनेर ट्विट गरेछन् । तर, म मेरो स्रोतको जानकारीप्रति विश्वस्त छु ।’ यसअघि बस्चले एस्क्लुसिभ ‘लेभल’ लगाउँदै ट्विटरमा लेखेका थिए, ‘मंैले निश्चित गरेको छु कि फेल्प्स फर्कने योजना बनाइरहेका छन् ।’ बस्चको अघिल्लो रिपोर्टअनुसार ती अमेरिकन विश्व खेलस्टारले मुटुमा आएको परिवर्तनका कारण कोलोराडोस्थित ओलम्पिक प्रशिक्षण केन्द्रमा यसै साताको अन्त्यदेखि प्रशिक्षण थाल्ने तयारी गरिरहेको जनाइएको थियो । साथै उक्त रिपोर्टमा तीन वर्षपछि ब्राजिलमा हुने ओलम्पिक खेलकुदका लागि समेत फेल्प्सले छनोट प्रयास गर्ने दाबी गरिएको थियो ।
ओलम्पिक खेलकुदमा फेल्प्सले १८ स्वर्णसहित कुल २२ पदक जितेका छन् । पछिल्लो ओलम्पिकमा चार स्वर्णपदक र दुई रजत जितेका यी २७ वर्षीय खेलाडीले त्यसअघि सन् २००८ मा आयोजित बेइजिङ ओलम्पिकमा आठ स्वर्णपदक जित्दै कुनै एक ओलम्पिक खेलकुद सस्करणमा सर्वाधिक स्वर्णपदक जित्ने पहिलो खेलाडी बनेका थिए ।

प्रतिक्रिया