दौरासुरुवाल नपाएर फसाद †

Lakpa-Sherpaइलाममा जन्मिएँ । बिकमसम्मको पढाइ दार्जिलिङबाट गरेँ । पढाइ कमर्सको भए पनि दार्जिलिङमै सांगीतिक यात्रा पनि अघि बढाइसकेको थिएँ । बिकम सकेपछि कामको खोजीमा काठमाडौं आएँ । अहिले पनि स्मृतिमा ती दिन ताजै छन्, काठमाडौंमा रत्न रेकर्डिङ संस्थानले अधिराज्यव्यापी गायन प्रतिस्पर्धा गराएको थियो । २०४२ सालको त्यो बेला म दार्जिलिङबाट आएको एक साता मात्रै भएको थियो । पकेटमा ५० रुपियाँ दाम र एक जोर लुगाबाहेक केही थिएन । साथीको डेरामा आश्रय लिएको थिएँ ।
दार्जिलिङको माहौलमा एक प्रकारले ‘हिट’ भइसकेकाले मलाई पनि त्यो प्रतिस्पर्धामा उत्रिन मन लाग्यो । आफूलाई अब्बल देखाउनुपर्छ भन्ने अठोट लिएँ । नभन्दै म दोस्रो भएँ । शम्भु राई पहिलो र सपना श्रीले तेस्रो स्थान पाएका थिए । पुरस्कार पाउँदा निकै उत्साहित भएको  थिएँ । लागेको थियो, ‘साँच्चिकै प्रतिभा हुनेले कदर पनि पाउने रहेछ ।’ तर, पुरस्कार लिने बेला लगाउनुपर्ने पोशाकबारे थाहा पाउँदा सबै उत्साह एकैपटक कठिन परिस्थितिमा बदलियो । पुरस्कार थाप्न स्ट्यान्डर्ड बनेर जानुपर्ने बाध्यताले सतायो । प्रतिभा पुरस्कारको वितरण राजाको हातबाट हुने रहेछ ।
दोस्रो स्थानमा आएको उत्साहभन्दा पोसाकको जोहो गर्नुपर्ने बाध्यता महँगो साबित भयो मेरा लागि । एक जोर सर्ट–पाइन्टमा काठमाडौं भित्रिएको मैले त्यतिबेला कसरी दौरासुरुवाल कोट, जुत्ताको व्यवस्था गर्नु ? यसका लागि निकै उपाय लगाउनुपर्‍यो मैले । एक जना दाइको बिहेमा किनेको दौरासुरुवाल र कोट रहेछ । अनुनय गरेर मागेँ, एक छिनका लागि । जुत्ता भने दिनुभएन । के गर्ने ? दिमागमा आइडिया फुर्‍यो । एउटा खुट्टामा ब्यान्डेज बाँधेँ,  खुट्टामा चोट लागेर जुत्ता लगाएनछ भन्ने देखाउन । अनि मागेको दौरासुरुवाल लगाएर पुरस्कार थाप्न गएँ । पुरस्कार लिएपछि स्टेजमा गएर गीत पनि गाउनुपर्‍यो । गाएँ । एक मित्रले पछिसम्म पनि मलाई भन्नुहुन्थ्यो– ‘त्यो दिन तपाईंले निकै राम्रो गीत गाउनुभएको थियो । तर, जुत्ताचाहिँ किन नलगाउनुभएको ?’
धन्य नेपाली कलाकार π एक जोर कपडा गतिलो लगाउन नसक्ने अवस्थामा मस्तिष्कमा सिर्जनाको फोहरा कसरी फुट्छ ? आफ्नै विगतले पनि पोल्छ मलाई कहिलेकाहीँ । नेपालमा राज्यले कलाकारलाई गहनाका रूपमा सजाउने तर त्यसको स्याहार गर्ने परम्परा नबसेका कारण अहिले पनि मेरो सिकारु समयकै जसरी पीडामा परिरहेछन्, नयाँ कलाकार ।
०००
प्रतियोगिता जितेपछि नेपाली सांगीतिक क्षेत्रमा आफूलाई चिनाउने मौका पाएँ । रेडियो नेपालमा गीत गाउन थालेँ । अरुणा लामा, नारायण गोपाल, भक्तराज आचार्यलगायत नेपाली सांगीतिक क्षेत्रका हस्तीहरूसँग पनि गीत गाउने मौका मिल्यो । उहाँहरूले देखाएको लगनशीलता मेरा लागि प्रेरणास्रोतको रूपमा अझसम्म रहिरहेको छ । २०४६ सालमा ‘झस्केर दुख्छ यो मुटु मेरो’ बोलको गीत गाएपछि भने थप स्थापित हुने मौका मिल्यो । धेरै श्रोताको मुखमा गुन्जिरहेको हुन्थ्यो, ‘झस्केर दुख्छ यो मुटु मेरो….’ । त्यतिबेला रेडियो नेपालमा फर्माइस आएका गीतलाई हेर्दा नारायण गोपाल, भक्तराज आचार्य र मेरो गीतमा फस्र्ट, सेकेन्ड र थर्ड हुने प्रतिस्पर्धाजस्तै चलिरहन्थ्यो ।
अहिलेसम्म करिब साढे दुई सय गीत रेकर्ड गराइसकेको छु । गीतसंगीत मेरो जीवनको गोरेटो नै हो । मेरो रुचिको क्षेत्र । हरेक शब्दलाई उपयुक्त आवाज दिन आफूभित्र वेदना भरिरहन्छु । गीत शब्द कण्ठस्थ गरेर मात्र हुँदैन । शब्दको पीडा हृदयभरि छर्न सक्नुपर्छ । पीडाले आफू लपक्कै भिज्नुपर्छ । तबमात्रै भाव खुल्छ । अनि पूर्ण मूच्र्छनासहितको ध्वनि प्रवाहित हुन्छ लयमा ।
मैले जीवनमा नजिकबाट मृत्युबोध पनि गरेँ । त्यो मृत्युबोधले पनि संगीत महसुस गर्ने बाटो देखायो । होटल सोल्टीमा लामो समय गजल गायक बनेँ । त्यसै ताका मलाई जन्डिस भयो । जन्डिस बिग्रिएर स्वास्थ्य यति धेरै जोखिममा पर्‍यो कि जिउने दिन सकिएझैँ लाग्थ्यो । सोच्थेँ– जीवनमा केही नगरी देह मेटिने भयो । जीवनलाई के–के न हो भनेर निकै अमूल्य ठानियो । धेरै परिश्रम गरेँ । तर, अर्काको सहारामा जीवन चलाउनुपर्दा साँच्चिकै जीवनको अन्तिम क्षणमा पुगेको महसुस हुने रहेछ । ओच्छ्यानमा पल्टियो, पत्नी लाक्पा फुटीले गरेको स्याहार देख्दा आँत भरिएर आउँथ्यो । साथीभाइ आएर, मन बहलाइदिने भनेर गीत गाइदिँदा भित्रभित्रै चिरिन्थेँ । सोच्थेँ– केही राम्रो काम नगरी जीवन जाने भो’ † सायद, जीवनको भोगाइ अझै टुंगिएको रहेनछ । नाफामा थप जीवन पाएँ । त्यसपछि भने जीवनबोधको महत्त्वले मलाई थिच्यो ।
मृत्युचेतबाट ब्युँतिएपछि गायनबाट समाजसेवा गर्ने बाटोतर्फ पनि पाइला बढाउनुपर्छ भन्ने चेतना जाग्यो । बिरामी हुनुभन्दा अघि थालिएको एल्बमको गीत रेकर्ड पूरा गरँे । ‘मुड्स अफ लाक्पा’ एल्बमबाट कमाइ भएको पाँच लाख रुपियाँ मृगौलारोगका पीडित सूर्यबहादुर कुमालको उपचारको लागि सहयोग गरेँ । एक व्यक्तिको जीवन बचाउन मद्दत गर्दा नाफामा पाएको जीवनको उपयोग भएझैँ लाग्थ्यो मलाई ।  हालसम्म पाँचवटा एल्बम बजारमा आइसकेका छन् । साढे दुई सयभन्दा धेरै गीत गाइसकेँ ।
०००
शेर्पा परिवारमा जन्मिएँ । त्यतिबेला हाम्रो समुदायका व्यक्ति सांगीतिक क्षेत्रमा निकै कम थिए । मेरो परिवारमा त झन् शून्यसरह नै थियो । तर, जन्मजात आएको गुण जतिसुकै कठिन घडी पार गर्नुपरे पनि प्रस्फुटित भएरै छोड्ने रहेछ । हिजोआज पनि मलाई संगीतप्रति तानिएको बिगतले निकै रोमाञ्चित बनाइरहन्छ । स्मृतिमा बारबार आइरहन्छ ।
कक्षा आठमा पढ्दै गर्दा एकदिन साथीहरूसँग कक्षामा लय हालेर गीत गाइरहेको थिएँ ।  साथीहरूले डेस्कमा हातले ठोक्दै मेरो स्वरमा ताल दिइरहेका थिए । दिउँसो शिक्षक नआएको मौका पारेर चर्को स्वरमा गाइरहेका थियौँ । हाम्रो सांगीतिक माहौलले आडैमा रहेको प्रिन्सिपलको कोठालाई समेत प्रभावित पारेछ । कारण थियो– अभिभावक आइपुग्दा विद्यालयमा पाठ कण्ठस्थ पारेको आवाजको सट्टा गीतको चर्को ध्वनि । तत्कालै प्रधानाध्यापक कक्षा आठमा छिरे । ड्यामड््याम डेस्क ठोक्दै गरेका सबै साथी प्रिन्सिपलको फन्दामा परे । तर, म बचेँे । एकैछिनका लागि बचे पनि साथीहरूले गाउने मान्छे चिनाइदिँदा पोल खुलिहाल्यो नि †
विद्यालयमा पढाइको समय चोरेर कक्षामै गीत गाउन सुरु गरेको थिएँ । अहिले नेपाली गीतसंगीतवृत्तमा परिचित हुन पाएको छु । मेरो नाम जान्ने व्यक्ति कम छन् । तर, ‘झस्केर दुख्छ यो मुटु मेरो’ गीतको गायक भनेपछि सबैले सम्झिहाल्छन् । कक्षामा गीत गाएको कारबाहीस्वरूप विद्यालयको वार्षिकोत्सवमा गीत गाउन लगाउनुभयो मलाई, प्रधानाध्यापकले । आखिर त्यो कारबाही पनि सिर्जनशील न थियो । त्यसैको उपजस्वरूप आज गायक लाक्पा बन्न सकेको छु । कक्षामा गीत गाउँदा प्रिन्सिपललाई स्वर मन परेछ । उहाँले ‘तिमीले स्कुलको वार्षिकोत्सवमा गीत गाउनुपर्छ’ भन्नुभयो । म कहिल्यै स्टेजमा नचढेको मान्छे । त्यसमाथि स्कुलभरिका शिक्षक–विद्यार्थी । स्टेजमा अगाडिका केटीहरूको अगाडि गीत गाउन कम्ती सकस परेन । हातमा गीत लेखेको कापी हेरेर ५ मिनेट गीत गाइसक्दा मलाई कोसौँ माइल यात्रा गरेझैँ गाह्रो भयो ।
‘मेरो मन्दिरमा ईश्वर खोज्नेहरू, हत्या कहिल्यै नगरिदेऊ’ बोलको गीत आठ कक्षा पढ्दा पहिलोपटक स्टेजमा गाएको थिएँ । गायकीको अनन्त यात्रामा फराकिलो बाटोको पहिलो खुड्किलो त्यही कार्यक्रमले दिलायो । साथीभाइको संगतले मलाई गायक बनायो । पहिलोपटकको गायकीबाट पाएको स्याबासीले स्वर र सुरलाई तिखार्न अझ हौसिएँ । आफ्नो सांगीतिक यात्रा पनि दार्जिलिङका गोर्खालीहरूको साथमा अघि बढाएँ । पहिलोपटकको प्रस्तुतिपछि अल इन्डिया रेडियोले गरेको अडिसनमा सहभागी भएँ, एकैपटकमा छानिएँ पनि । त्यसपछि लगातार अल इन्डिया रेडियोमा गीत रेकर्ड गराउन थाले । गोर्खा दु:ख निवारण संघले गरेको कार्यक्रममा गाएको गीत देखेर अल इन्डिया रेडियोले बोलाएपछि भ्वाइस टेस्ट पास गरेको थिएँ । त्यसपछि करिब ६० वटा गीत दार्जलिङ बसाइका क्रममा अल इन्डिया रेडियोमा गाएको थिएँ ।
प्रस्तुति : प्रतिमा सिलवाल 

प्रतिक्रिया