साडी लगाउनै डेढ घन्टा

kamala-pantaगोरखाको गाउँबाट एसएलसी सकेँ । थप पढ्न, ०३९ सालमा काठमाडौं आएँ । दाजु काठमाडौँमै पढ्नुहुन्थ्यो । उहाँकै सल्लाहमा पद्ममकन्या कलेजमा भर्ना भएँ । महिला मात्र पढ्ने कलेजमा पढ्दा सजिलो हुन्छ भन्ने परिवारको पनि सोचाइ थियो । उतिबेला पद्मकन्याको चार्म निकै थियो, पढाइ पनि राम्रो । गाउँबाट आउने केटीहरूका लागि त्यही कलेज सबैभन्दा उपयुक्त र राम्रो मानिन्थ्यो । मानविकीमा भर्ना भएँ ।
दुर्गम ठाउँमा जन्मिएर हुर्किएकी म । यहाँको त चहलपहलै अर्को । सुरुमा अलि गाह्रै भो एड्जस्ट गर्न, पछि सहज लाग्न थाल्यो । कलेज जाँदा साडी लगाउनपर्ने तर मलाई आउँदैनथ्यो । पहिलो दिन बिहान ४ बजेदेखि मिलाएर लगाउन प्रयास गरेकी साढे ५ बजेसम्म पनि सकिनँ । जसो गरे नि मिल्दै मिलेन । भाउजूले मिलाइदिनुभयो । जीवनमै पहिलोपटक साडी लगाएर बल्लतल्ला कलेज त पुगेँ  तर बाटैभरि सबैले आफैँलाई हेरिरहेका हुन् कि जस्तो पो लाग्ने । मनैभरि आशंकैआशंका– पक्कै साडी मिलेन, कि हिँड्न पो जानिनँ † पछि विस्तारै आफैँ लगाउन सिकेँ । पिकेको युनिफर्मका कारणले पनि धेरै जना त्यहाँ पढ्न लोभिन्थे । सबैको एउटै लवाइले युनिटी देखाउँथ्यो ।
सहरमा उच्चाशिक्षा लिन जाने भएपछि जिम्मेवारी बढेको अनुभूति हुँदै थियो । थुप्रै कुरा कौतूहलपूर्ण थिए नदेखुन्जेल । हुन पनि अनौठै लागे सुरुसुरुमा । कलेजभरि महिलाको भीड देख्दा साह्रा संसारै महिलाको हो कि भन्ने लाग्थ्यो । गाउँमा स्कुल पढ्दा कक्षामा धेरै केटा थिए । केटी त म र अर्की एक साथी मात्र । त्यसैले हामी हामी खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा भाग लिँदैनथ्यौँ । असजिलो लाग्थ्यो । पिकेमा आएपछि गाउँको सबै असजिलो भागेर गए । केटीकेटीबीच सबै प्रकारका प्रतिस्पर्धा हुन्थे । कलेजको कम्पाउन्डभित्र सबै हाम्रो राज हुन्थ्यो ।
कलेज आउनेबित्तिकै मीना पाण्डे र समा शाहीसँग परिचय भयो । उहाँहरूले कलेजअगाडिको चौतारामा बसेर नेपाल विद्यार्थी संघको सदस्यता दिनुभयो । पारिवारिक पृष्ठभूमि कांग्रेस भएकाले त्यो सदस्यता लिन कुनै समस्या थिएन । आइए पढ्दै गर्दा स्ववियु निर्वाचनमा भाग लिएँ, सहसचिव भएँ । चुनावमा प्रचारका लागि भाषण गर्नुपर्ने, आफूलाई भने पटक्कै नआउने । सरहरूले लेखेर दिनुहुन्थ्यो । त्यही लेखेको भाषण पढेर चुनाव जितेँ । पहिलोचोटि भाषण त्यसै बेला गरेकी थिएँ ।
बहुदल आउनु केही अघिको कुरा । गोरखा एक्सप्रेस नामक पत्रिकामा राजन कार्कीले समाचार लेखे– ‘पद्मकन्याको होस्टलमा बस्ने छात्राले बच्चा जन्माउँदै टुकुचामा फाल्छन्  ।’ समाचार सुनेर स्तब्ध भएँ । आफू स्ववियुको नेता । कलेजका विद्यार्थीबारे यस्तो तल्लो स्तरको समाचार आउँदा चुप लागेर बस्न पनि भएन । होस्टलमा विवाहित छात्रालाई बस्ने अनुमति थिएन । पक्कै पनि महिलालाई होच्याउन झुटो समाचार लेखेको अनुमान गर्‍यौँ । सल्लाह गर्‍र्यौं– त्यस्तो समाचार लेख्नेलाई ठेलागाडामा हालेर अञ्चलाधीश कार्यालय पुर्‍याउने । हाम्रो योजना थाहा पाएर बाग्मतीका अञ्चलाधीशले माफी मागे । ‘यस्तो समाचार छाप्नुहुँदैनथ्यो, म राजन र पत्रिकालाई कारबाही गर्छु’ भने । दुवैलाई कारबाही भयो । त्यही बेलादेखि त्यो पत्रिकाको प्रकाशन पनि बन्द भयो ।
कलेजमा राजनीति पनि गर्ने भएकाले नियमित पास भइनँ । ब्याक लाग्दै पास गरियो । तर, सबैको साथ र सहयोग थियो । विद्यार्थी मात्र हैन, सरहरूले राम्रो व्यवहार गर्थे । स्ववियुको सभापति पनि भएँ । कतै जानुपर्दा एक्लै कहिल्यै गइनँ ।  नेताकोमा जाँदा पनि पन्ध्र–बीस जना लिएर हिँड्थेँ । जे गर्ने हो, सामूहिक गर्नुपर्छ भन्ने लाग्थ्यो । त्यसमा सबैको सहमति पाउँथेँ । घरको आर्थिक अवस्था ठीकै थियो । एउटा दाजु अमेरिका बस्नुहुन्थ्यो । उहाँले ठिक्क पुग्ने गरी पढाइखर्च पठाइदिनुहुन्थ्यो । अहिलेजस्तो धेरै खर्च पनि हँदैनथ्यो ।
–चमिना

प्रतिक्रिया