‘जबज’का मदन र साख गुमाएको एमाले

कुशल संगठक, प्रखरवक्ता, जनताको बहुदलीय जनवादका प्रवर्तक तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितलाई गत शुक्रबार एमालेले विभिन्न कार्यक्रम गरेर सम्झियो । संकास्पद जीप दुर्घटनामा मृत्युवरण गर्न पुगेका नेता द्वयलाई वर्तमान एमालेले वर्षमा एकपटक औपचारिक रूपमा सम्झने गरेको छ । जबजलाई आफ्नो सिद्धान्त मानेर यहाँसम्म आइपुगेको एमालेका वर्तमान नेताले मदन भण्डारीले छाडेर गएको मजबुत पार्टी सवल र सक्षम राख्न सकेनन् । फलामे अनुशासनमा बाँधिएका कार्यकर्ता, स्पष्ट अडान भएको पार्टी, सांगठनिक हिसाबले साह्रै मजबुत कार्यकर्ता पंक्ति र सबैभन्दा ठूलो दलका रूपमा स्थापित एमाले अहिले त्यही अवस्थामा छैन । मदन भण्डारीले जस्तो अडान राख्न सक्ने र दूरदृष्टि भएका नेता पनि यस पार्टीमा देखिएनन् । जसले गर्दा नेपाली जनतालाई मदनको अभावले युगौँ पिरोल्ने देखिन्छ । एमालेका नेताहरूले मदनको जबजको बोक्रा मात्र बुझे भित्री आसय बुझ्न सकेनन् । पछिल्ला गतिविधि हेर्दा एमालेले जबजलाई सत्तामा उक्लने भर्‍याङका रूपमा मात्र प्रयोग गरेको पाइयो । वास्तवमा मदनले यसलाई सत्तामा उक्लने भर्‍याङ होइन समाज रूपान्तरणको मूल मन्त्रका रूपमा छाडेका थिए । यही गुह्य नबुझ्दा एमाले अहिले गलित, थकित, शिथिल र ढुलमुले पार्टी बन्न पुगेको हो । यसलाई सच्याएर एमाले नेताले आफ्नो पार्टीलाई नि:स्वार्थ रूपले मदनको बाटोमा हिँडाउन सकेनन् भने एमालेको भविष्य राम्रो देखिँदैन ।
विश्वका विभिन्न मुलुकमा कम्युनिज्म असफल भइरहेका अवस्थामा स्वर्गीय मदन भण्डारीले २१सौँ शताब्दीलाई हाँक्नसक्ने र सबैले स्वीकार गर्नसक्ने जनताको बहुदलीय जनवाद आविष्कार गरेका थिए । यही जबजको सिद्धान्तले कम्युनिस्ट विरोधीहरूलाई पनि सोच्न बाध्य गरायो । बन्दुकको नालबाट मात्र कम्युनस्टि शासन स्थापित हुन्छ भन्नेहरूलाई पनि जबजले राम्रै जवाफ दिएको थियो । समाजको प्रगतिशील रूपान्तरण बहुदलीय प्रजातन्त्रबाट पनि सम्भव छ । र, मुलुकको सर्वाङ्गीण विकास पनि जनताको बहुदलीय  जनवादको सैद्धान्तिक धरातलमा टेकेर गर्न सकिन्छ भन्ने पनि मदनले प्रमाणित गरिदिए । यही प्रमाणित गर्ने सन्दर्भमा नेपालमा पहिलोपटक कम्युनिस्ट पार्टीको जननिर्वाचित सरकार गठन भएको थियो । त्यो सरकारले थुप्रै जनपक्षीय कार्य सम्पन्न गर्‍यो । मदन भण्डारी जीवित नरहे पनि उनैले प्रतिपादन गरेको मार्गद्वारा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा एमालेको सरकार बन्यो । छोटै समयमा सरकारले जनअपेक्षा अनुरूप प्रगतिशील कार्यहरू गरेको थियो । जसको ब्याजले अहिलेसम्म एमाले जीवित छ । तर, जबजलाई साँचो अर्थमा पार्टी पंक्तिले अवलम्बन नगर्ने हो भने एमाले जीवित नरहन सक्छ । तसर्थ, मदनलाई सम्झने मात्र होइन जबजको अन्तरवस्तु लागू गर्न एमाले सक्षम हुनै पर्छ ।
जनताको बहुदलीय जनवाद आत्मसात गरेर अगाडि बढ्ने अरू कम्युनिस्ट पार्टी पनि देखा परेका छन् । मुखले नभने पनि दस्तावेजमा नलेखे पनि एमाओवादी जनताको बहुदलीय जनवादलाई आत्मसात गरेर हिँडेको छ । एमाओवादीसँग हल्ला गरे जस्तो ‘प्रचण्डपथ’ छँदै थिएन भने २१ सौँ शताब्दीको कम्युनिस्ट सिद्धान्त के हो त्यसको व्याख्या मदनले नै गरिसकेका थिए । अहिले एमाओवादी त्यही बहुदल, त्यही जनवाद र २१साँै शताब्दीको बहुदलीय गणतन्त्र भन्दै यहाँसम्म आइपुगेको छ । मदनले भने जस्तै एमाओवादीले बुलेटबाट होइन ब्यालेटबाट पनि कम्युनिस्ट शासन व्यवस्था स्थापना गर्न सकिने ठहर गरेको छ । यही नै मदनको बाटो हो । अर्थात्, अब जबज एमालेको मात्र रहेन । अरूले पनि त्यसको अनुसरण गरिसके । अब एमालेले जबजलाई ठोस रूपमा लागू गरेर त्यस्तै मजबुत र तल्लो तहसम्म संगठन विस्तार गर्न जरुरी छ । अन्यथा, एमालेलाई आफ्नो अस्तित्व जोगाउन गाह्रो पर्नेछ । अब मदनलाई सम्भँmदा उनको अभीष्टलाई पनि सम्झने गर्नुपर्छ । यसले मात्र राष्ट्र, जनता र एमालेलाई सम्पूर्णता प्रदान गर्नेछ ।

प्रतिक्रिया