लागुऔषध तस्कर पक्राउपछि प्रयोगकर्ताको खोजी

काभ्रे, ५ जेठ । जिल्लामा पहिलोपटक लागुऔषध तस्कर गिरोहका सदस्यहरूलाई प्रहरीले स्थानीयवासीको सहयोगमा पक्राउ गरेको छ । तस्कर पक्राउसँगै लागुऔषध तस्करीका लागि नयाँ रुट प्रयोग गर्ने गरेको खुलेको छ ।
बिपी राजमार्ग सञ्चालनसँगै तस्करहरू पूर्वका विभिन्न जिल्लाबाट राजधानीका लागि लागूऔषध सप्लाई गर्ने गरेको रहस्य खुलेको हो । जिल्लामा लागूऔषध प्रयोगकर्ता बढ्दै गएको पाइए पनि प्रयोगकर्ता र तस्कर दुवैलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । तस्कर पक्राउँसँगै प्रहरीले प्रयोगकर्ताको खोजी सुरु गरेको छ ।
प्रहरीले शनिबार तस्करहरूले बिपी राजमार्ग हुँदै काठमाडौं लैजाँदै गरेको लागुऔषध काभ्रेको पात्लेखेत–२ छाप्रोबाट बरामद गरेको छ । लागुऔषध ल्याउँदै गरेका सिन्धुपाल्चोक जिल्ला सुनाखानी–१ का २४ वर्षीय मुकुन्द केसी, ओखलढुंगा क्यातुके–९ का २५ वर्षिय उत्तम तामाङलाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको हो । सिन्धुलीबाट शुक्रबार राति करिब ८ बजेतिर काठमाडौं हिँडेका ती युवा बिहान करिब तीन बजेको समयमा पात्लेखेत आइपुगेका थिए । पात्लेखेत–२ मा आइपुग्दा उनीहरू चढेको बा ३२ प ६३७१ नम्बरको मोटरसाइकलको तेल सकिएको थियो । तेल सकिएपछि उनीहरूले त्यहाँ रहेको एक छाप्रोमा मोटरसाइकल राखी स्थानीयबासीको मोटरसाइकलबाट तेल चोर्ने क्रममा उनीहरूलाई गाउँलेले पक्राउ गरी खानतलासी गर्दा उनीहरूको साथमा लागूऔषध फेला परेको थियो । त्यसपछि उनीहरूलाई पक्राउ गरी गाउँलेले प्रहरीलाई बुझाएका थिए ।
प्रहरीले उनीहरूको साथबाट नोफिन ७० थान, फेनरागन इन्जेक्सन ७२ थान, निट्राभेट ३० थान, डिएस वाटर १० थान, एमिल इन्जेक्सन ५ थान र डेकालम डाइजिन इन्जेक्सन ७२ थान बरामद गरेको काभ्रे प्रहरीले जनाएको छ । सुरक्षा जाँच नहुने भएपछि पछिल्लो समय बिपी राजमार्ग भएर लागुऔषध तस्करी हुने गरेको पाइएको छ ।
पक्राउ परेकाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कमल घर्तीले जानकारी दिए ।

प्रतिक्रिया