अनशनकारीको अवस्था गम्भीर

राजविराज, ५ जेठ । ३० वैशाखदेखि सप्तरी सदरमुकाम राजविराजमा आमरण अनशन बसेका सदभावना पार्टीका पाँच नेताकार्यकर्तामध्ये एकको अवस्था गम्भीर भएको छ । उक्त पार्टीको विद्यार्थी मञ्चका सहअध्यक्ष किशोरकुमार यादवको स्वास्थ्य अवस्था गम्भीर बनेको हो ।
अनशनको तेस्रो दिनदेखि नै छातीमा समस्या देखिएका यादवको दैनिक स्वास्थ्य अवस्था बिग्रदै गएको पार्टीले जनाएको छ । यादवलाई अस्पताल भर्ना गरी उपचार गराउन डाक्टरले सुझाव दिएका छन् । यादवले भने डाक्टरको सल्लाहलाई इन्कार गरेपछि शुक्रबारदेखि नै आमरण अनशनस्थलमै स्लाइन पानी चढाउन थालिएको पार्टीका सप्तरी अध्यक्ष सुनीलकुमार झाले बताए ।
संविधानसभा चुनावको मिति घोषणा, निर्वाचन क्षेत्र पुन: निर्धारण, कोसी सम्झौताअनुसार सप्तरीमा विद्युत् आपूर्ति, मधेसका जिल्लामा भएको आगलागी पीडितहरूलाई क्षतिपूर्तिको व्यवस्थालगायतका माग राखी यादवसहित पार्टीका केन्द्रीय सदस्यहरू अनिस अंसारी, जिसमुल खाँ, जिल्ला कार्य समितिका कोषाध्यक्ष शैलेसकुमार साह र युवा नेता दिनेशकुमार यादव अनशनमा बसेका छन् ।

प्रतिक्रिया