कविताका ‘आदिम सिमाना’

skahकुनै बेला थियो फूलका नरम पत्रहरू कसैको कठोर पाइतालाले चरप्प कुल्चिएको देखेँ । लाग्यो, मेरो छातीमा कसैले टेकेर गयो । त्यही पाइतालाले छाडिगएका छाप मेटाएर पहिलोपल्ट औँलाले धूलोमा केही अक्षर कोरेँ । अँध्यारो मझेरीमा दियो बालेझैँ ती अक्षरले मेरो हृदयलाई केही उज्यालो दियो । त्यो उज्यालोले शान्त तलाउजस्तो जमिबसेको मस्तुलका  तारहरू झंकृत गरिदियो । त्यही बेलादेखि जीवनको उज्यालो खोज्दै म कविताको बाटो भएर अघि बढेँ र यहाँसम्म आइपुगेँ ।
Cover-01खुसी नै खुसीको डगर छेवैबाट दु:खको भारी बोकेर हिँडिरहेको बूढो भरियाको सुस्केराजस्तो, स्कुल जान छाडेर खोलाको बगरमा गिटी कुटिरहेको बालिकाको निन्याउरो चेहराजस्तो, घाँसको भारी बोक्न नमिल्ने गरी कुप्रिएको हजुरआमाको ढाडजस्तो, कस्तो–कस्तो हिसाब नमिलेका सूत्रजस्तो विचारले रन्थन्याएपछि मथिंगल एउटा कविताले जन्म लिन्छ मेरो अर्थमा । हाँसिरहेको फूललाई देखेरै मात्र कविता बनेन मेरो हृदयमा । जब फूलजस्तै किशोरी बेचिएको देखेँ, लुटिएको भेटेँ– तिनको आँसु मिसिएर कविता बन्यो । आमा भन्नुहुन्थ्यो, ‘मिल्ने भए यो चोलो उधारेझैँ ध्वाध्र्वारी उधार्नुहुन्थ्यो छाती पनि र पोखाउनुहुन्थ्यो दु:खको अमिलो पानी माटोमाथि । तर, कति गर्दा पनि उध्रिँदैन रहेछ छाती र अल्झिरह्यो दु:खको काँडा आफैँसँग ।’ सानै छँदा आमाले तल तमोर हेर्दै सुनाएका यिनै अमिला कथा कविता भएर उनिए मेरा शब्दहरूमा । पातलो, ख्याउटे शरीर लिएर बुबा बस्ती–बस्ती घुमिरहनुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘गरिबका दिन ल्याउनु छ एकदिन ।’ परिवर्तनका चिराग पटक–पटक बालिए पनि इन्क्लाबको झन्डा बोक्दाबोक्दै हजारौँ तिनै गरिबले बलिदानी दिए पनि अहँ बुबाले भनेजसरी तिनीहरूको दिन आएन र अझैसम्म आएको छैन । गाउँबस्ती हुँदै यो सहरको मूल बाटोसम्म जीवनलाई लतार्दै हिँडिरहेका तिनै गरिबको बेउमेर चाउरिएका अनुहारले निचोरेपछि मुटु म कविता लेख्छु । मेरा कवितामा अझैसम्म ‘रैती’ बाँचिआएका तिनै आममान्छेको वर्तमान विद्रोह बोल्छ । जसलाई हरेक सत्ता र शासकले बुँख्याचा बनाइरह्यो ।
मेरो घरको फराकिलो आँगनमा उभिएर हेर्दा देखिने आकाशभरि तारा टिम्टिमाएको मन पराउँछु म । जस्केलाबाट छ्यांगै देखिने हिमाल र त्यसमा ठोकिएर फर्केको घामको तातो मन पराउँछु । मेरो हृदयमा हजुरबाले सुनाएका विरासतको कथा उनिएका छन् । हजुरमाले बजाएको मुर्चुङ्गा र विनायोको झंकार छ । कुन्नि कस्तरी अटाएका होलान् यत्ति सानो मनमा त्यही गाउँको सिंगो अनुहार तिनै, तिनै दु:खका कथा, त्यही माटोको सुवास ? कस्तरी टाँसिबसेको होला जिब्रोमा अझैसम्म त्यही धारा, कुवाको पानीको स्वाद ? त्यही स्वाद मेरो कवितामा टाँसिएको छ ।
यो विश्वमा मेरोजस्तै गाउँ कति होलान्, मलाई थाहा छैन । तर, यत्ति थाहा छ, संसारका धेरै गाउँबस्तीमा मेरो गाउँको जस्तो दु:ख छ । करोडौं मान्छेहरू बाँच्नका लागि मर्न बाध्य छन् । दुई टुक्रा रोटी र एकपोल्टा पिठोका लागि जीवनभर अर्काको माटोमा पसिना बगाउन विवश छन् । तैपनि, करोडौं मान्छेका पेट भोकले निख्रेका छन् । तर, तिनको करङमा कुल्चिँदै वैभवको महलमा बस्नेहरू हरसाँझ–बिहान नालीमा भात घोप्ट्याइरहेछन् । म तिनै आमआवाजहीनहरूको आवाज लेख्ने प्रयत्न गर्छु कवितामा ।
छोरी भएरै जन्मे पनि मैले परिवारबाट लैंगिक विभेद भोग्नु परेन । तर, छोरी भएकै कारण समाज अर्थात् महिलालाई हेर्ने समाजको खराब नजर र प्रवृत्तिसँग बचेर हिँड्न मेरा अभिभावकको सुझाव पाउँथेँ । जतिबेला म अलिक सानै थिएँ, समाज के हो ? महिला र पुरुषबीचको फरक के हो ? भन्नेसम्म थाहा थिएन, त्यो बेला बुबाआमाबाट पाएको सुझावको अर्थ म बुझ्दैनथेँ । उमेरमा अलिकति मात्र फरक भएको भाइले किन त्यस्तो सुझाव नपाएको होला, मैले मात्र किन ? यो प्रश्नले मलाई त्यत्तिबेलासम्म लखेटिरह्यो जब मलाई आमाबुबाले भनेजस्तो समाजको बक्रदृष्टि ममाथि पर्न थालेको थिएन । त्यसपछि क्रमश: समाजका दिदीबहिनी, आमाकाकी, भाउजू, हजुरआमाले ‘आइमाई’ भएका कारण बाँच्नुपरेको अप्ठ्यारो, दु:खपूर्ण जीवन नजिकबाट देख्न थालेँ । उनीहरूको पीडालाई अनुभूत गर्न थालेँ । एकदिन गाउँबाट सहर पसेँ । अलिकति सुखको सपना बोकेर सहर पसेका महिलाको जुनी उस्तै थियो नै तर भौतिक सम्पन्नतामा बाँचेका कुलीन भनिएका महिलाको जीवन पनि कम दर्दनाक थिएन । हीराको हार गलामा पहिरिएर के गर्नु, सुत्दा सिरानीमा निंद पर्दैन भने त्यो सुखको के अर्थ ?
आमाबाटै जन्मिएर तिनीमाथि नै शासन गर्ने यो समाजमा विभिन्न अर्थ र बहानामा महिला प्रताडित भएको मैले देखेँ । कहिले धर्मका नाममा जिउँदै जलाइए त कहिले संस्कारको भट्टीमा सेकाइए महिला । कैयौँ ढेगनीदेवी, मरनीदेवीहरू, कैयौँ हास्रुन इद्रिसीहरू जिउँदै जलाइए, मात्र महिला हुनुको अर्थमा । कसले दियो ती समाजका ठेकेदारलाई सृष्टिको आदिसत्यलाई जलाउने अधिकार ? कसले ? हरेक दिनजसो समाचार बनेर आउने यस्ता घटनाले मेरो मथिंगलमा हम्मर प्रहार गर्छ । तब म धार लगाउन थाल्छु कवितामा ।
कहिलेकाहीँ आफैँसँग विद्रोह गर्न मन लाग्छ । यो समाज, देश, महादेश अनि सिंगो संसार एकसाथ उभिन्छ मेरा सामु । यायावर भएर निष्फिक्री भौंतारिन मन लाग्छ जहीँ–तहीँ । छुन मन लाग्छ नाइल नदीको पानी, हेर्न मन छ हिटलरको ग्यास च्याम्बरको स्वरूप र सुकरातले विष पिएको कचौरा । तर, यी सिमाना पर्खाल भएर उभिएका छन् । मेरा कविता त्यही पर्खाल भत्काउन चाहने उत्कण्ठा हुन् ।
पछिल्लो समय साहित्य लेखन अभ्यास सम्पन्नहरूको कर्म हुँदै गएको छ । त्यो भिडमा मजस्तो बाँच्नैका लागि संघर्ष गर्नेले साहित्य सिर्जना गर्नु निकै मुस्किलको कर्म भएको छ । कैयौँपल्ट सुन्दर विषय र विम्ब मनमा आउँछ र कुनै बिसौनी नपाएपछि हराएर जान्छ, जतिबेला म रोजीरोटीका लागि दौडिरहेको हुन्छु । कतिपल्ट मनमा उम्लिएको विचार लेख्ने वातावरण नमिल्दा परिवारका सदस्यहरूसँग चिडचिडाएको छु । मरेर प्रेम गर्नेसँग रिसाएको छु । कतिपल्ट आफैँसँग रोएको छु, रिसाएको छु । कहिले कुमारी फूलजस्तो नरम, कहिले तरबारका धारजस्तो विम्ब जन्मिएकोमा फुरुंग पर्दै रमाएर जुनेली रातमा एक्लै बाटोमा ओहोर–दोहोर गरेकी छु । त्यही अप्ठ्यारोबीच यी कविता लेखिएका हुन् ।
कविताको यिनै अप्ठ्यारो बाटो हिँड्दै मान्छेका बीच मान्छेले कोरेको ‘आदिम सिमाना’मा पुगेका बेला तपाईंसँग मेरो भेट भएको छ । हिजोसम्म मैले नितान्त आफ्नै रहरले, उत्साहले, छटपटी वा उकुसमुकुसले, विद्रोह वा प्रेमले तानिएर कविता खिपेँ । खिपाइको पोयो नमिलेका कविता कतै घरको कुनाकानीमा च्यापिएका होलान् । कति च्यातेर मिल्काइए, ती गन्तीमा रहेनन् । मेरा यी कविता निकै अप्ठ्यारो परिवेशलाई नाघेर यहाँसम्म आइपुगेका छन् । वसन्त ऋतुको पालुवाजस्ती नाबालक छोरीलाई फकाउँदै, थुम्थुम्याउँदै यी कविता लेखेँ । आज झन्डै ऊ कविताको भाव बुझुँलाजस्तो गरेर मेरासामु कविता सुनाउने आग्रह पस्केर पलेँटी मार्छे । अचेल मलाई कविताजस्ती छोरी र छोरीजस्तो लाग्छ कविता । कविता मेरो नशा–नशामा बहने रगत हो, मेरो जीवनको तपस्या हो । आत्मिक सुखानुभूतिको अनुपम प्राप्ति हो ।

प्रतिक्रिया