भारत संविधानसभा निर्वाचन चाहँदैन : भुसाल

गुल्मी, ४  जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भुसालले वर्तमान समयमा संविधानसभाको निर्वाचन नहुने बताएका छन् । एमाओवादी र मधेसी मोर्चा संविधान बन्न नदिन उद्धत रहेकोले संविधानसभाको निर्वाचन हुन नसक्ने उनको भनाइ छ । ‘उनीहरू देशमा जातीयता लाद्न चाहान्छन्, यदि आफ्नो बहुमत आउने अवस्था भयो भने मात्रै उनीहरू निर्वाचनका लागि तयार हुनेछन्,’ उनले भने, ‘एमाले कांग्रेस जस्ता शक्ति शक्तिशाली बन्ने अवस्था भयो भने उनीहरू चुनाव भाँड्ने छन् ।’
एमाओवादी भारतको इसारामा चलेको र भारतले नेपालमा संविधानसभाको चुनाव गराउन नचाहेकोले दोस्रो संविधानसभा निर्वाचन नहुने उनको भनाइ छ । नेपाल बुद्धिजिवी परिषद्ले शुक्रबार पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०औँ स्मृती दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा यस्तो बताएका हुन् । एमाओवादीसहितको विखण्डनवादी समूह भारतलाई देश सुम्पिनका लागि मधेसमा दुई प्रदेश र देशभर जातीय राज्य स्थापनाका लागि लागि परेकोले आगामी संविधानसभा चुनाव नहुने उनको तर्क छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले तराईमा दुई प्रदेश बनाएर भए पनि एकपटक राष्ट्रपति बन्ने आशा राखेकोले चुनाव भइहाले पनि जनताका मुद्दाले जित्ने सम्भावना कम रहेको उनले बताए । सहज रूपमा चुनाव भए पनि एकीकृत माआवादीलगायतका विखण्डनवादी समूह भारतको इसारामा फेरि पनि जातीय राज्य बनाएरअगाडि बढ्न खोज्ने भएकोले संविधान नबन्ने कुरामा उनले ठोकुवा गरे । एमाओवादीसँग अवैधानिक रूपमा कमाएको करिब ३० अर्ब रुपियाँ रहेको बताउँदै उनले अबको निर्वाचनमा माओवादीको पैसाले देशमा रक्तपात मच्याउने दाबी गरे ।
अर्को फरक प्रसंगमा उनले बाबुराम भट्टराईलाई सत्ताबाट हटाउनै पर्ने स्थिति रहेकोले खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाएको बताए । तर, अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीलाई सिफारिस गरेको एमाले नेतृत्वले पहिले गल्ति गरेको उनले स्वीकारेका छन् । तर, पछि खिलराज रेग्मी र राष्ट्रपतिले गल्ति गरेको उनको आरोप छ ।

प्रतिक्रिया