जलविद्युत् र स्याउ आर्थिक विकासको स्रोत

काठमाडौं, ३ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले जलविद्युत् र स्याउ उत्पादन आर्थिक स्रोतको मुख्य विषय रहेको बताएका छन् ।
जुम्ला उद्योग वाणिज्य संघको आठौँ वार्षिक साधारणसभा तथा संघको नवनिर्मित भवनको उद्घाटन अवसरमा सो धारणा राखेका हुन् । वैद्यले जुम्लामा जलविद्युत् उत्पादन तथा स्याउ उद्योग स्थापनाका लागि महासंघले पहल गर्ने विश्वास दिलाए । हिमाली जिल्ला जुम्लामा जलविद्युत् उत्पादन तथा स्याउको कच्चा पदार्थ उपभोग गरेर विभिन्न उद्योगहरू स्थापना गर्न सकिने पर्याप्त सम्भावना रहेकाले यस जिल्लामा यी वस्तुमा आधारित उद्योगहरू स्थापनाका लागि महासंघले पहल गर्ने बताए ।
स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न नसकिएसम्म आर्थिक विकास अगाडि नबढ्ने हुँदा जुम्लाको आर्थिक विकासका लागि सम्भाव्य क्षेत्रहरूको पहिचानका उवासंघलाई आग्रह गरे । अध्यक्ष वैद्यले महासंघले कमजोर उद्योग वाणिज्य संघहरूलाई कसरी सक्षम र उनीहरूलाई स्थानीय आर्थिक विकासको नेतृत्व लिनसक्ने निकायको रूपमा विकास गर्न सकिन्छ भनेर महासंघले विभिन्न योजना अगाडि बढाएको जानकारी दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले जुम्लामा आउने विकास र योजनामा कुनै अवरोध नगर्ने लिखित प्रतिवद्धता जनाएमा तत्काल हाइड्रो पावरका लागि काम गर्न सकिने बताए । उनले स्थानीय आर्थिक विकासका लागि महासंघले आफ्ना सदस्य उद्योग वाणिज्य संघहरुलाई प्रभावकारी रूपमा परिचालन गरिरहेको जानकारी गराउँदै जुम्ला उद्योग वाणिज्य संघले पनि यसमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
०५२ सालमा स्थापना भएको जुम्ला उद्योग वाणिज्य संघले एक जिल्ला एक उत्पादनअन्तर्गत जुम्लामा स्याउको जुस, जाम, जेली उद्योग स्थापनाको लागि काम गर्दै आएको छ । त्यसअघि जुम्ला उद्योग वाणिज्य संघले हिजो खलंगामा आयोजना गरेको जिल्लाका विकास सम्भाव्यता विषयक कार्यक्रमलाई संवोधन गर्नुहुँदै महासंघका अध्यक्ष वैद्यले स्याउ उत्पादनको उर्वरभूमि जुम्लामा स्याउ प्रशोधन उद्योग स्थापनाका लागि महासंघ तयार रहेको बताए । सो अवसरमा एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत जुम्लालाई स्याउ प्रशोधन तथा बजारीकरणमा जोड दिइएको थियो । अध्यक्ष वैद्यले स्याउको ग्रेडिङ, बजार प्रवद्र्धनका लागि ठूलै लगानी आवश्यक भएको भन्दै स्थानीय किसान, सहकारी तथा गैर सरकारी संघ–संस्थाहरूलाई लगानीका लागि आह्वान गरे ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले स्थानीय पहिचान र स्थानीय उत्पादनको आधारमा उद्योग स्थापनामा प्रोत्साहन गर्ने महासंघको नीति रहेको स्पष्ट पारे । महासंघका महानिर्देशक डा. हेमन्त दवाडीको पनि सहभागिता रहेको सो कार्यक्रमलाई संवोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले जुम्लामा स्याउलगायतका उत्पादनको प्रोत्साहनका लागि महासंघले छनोट गरिसकेको समेत जानकारी दिए ।

प्रतिक्रिया