साडी काटेर फ्रक सिलाएँ

Bhadrakumari-Ghale८३ वर्षअघि काठमाडौंको डिल्लीबजारमा जन्मिएकी म । दुई वर्षको उमेरमा बुबाले ओखलढुंगा लगेर छाडिदिनुभयो । पुख्र्याैली घर । त्यसपछि ओखलढुंगा कवि सिद्धिचरणको मात्र होइन, मेरो पनि प्यारो बन्यो । त्यहाँको घलेगाउँमा बाजेबज्यैको रेखदेखमा मेरो बाल्यकाल बित्यो । घलेका चारपाँचवटा घर थिए । बुबा काठमाडौंमा नोकरी गर्नुहुन्थ्यो । छुट्टीमा घर जाँदा मलाई त्यहीँ छोडिदिनुभयो । दुई वर्षकी दूधे बालिका बज्यैको लाम्टो चुसेर हुर्कें ।
उहिलेका केटाकेटीलाई अहिलेजस्तो सजिलो कहाँ हुन्थ्यो र ? झन् गाउँका केटाकेटीको त कुरै अर्को । सातै वर्षको उमेरमा बिहान चाँडै उठेर घाँस काट्न जानुपथ्र्यो । पोल्टामा मकैभटमास हाल्यो वा साँझको बासीभात र दूध कपाकप टिप्यो, जंगलतिर लागिहाल्यो । म सात वर्षकी फुच्चीले के काट्थेँ घाँस † गाईले खाओस् कि नखाओस्, जे भेटिन्छ त्यही स्याउला काटेर डोको भर्थें ।
फेरि दिउँसो बस्तु चराउन जानुपर्ने । गाईभैँसी जंगलमा छोड्थ्यौं अनि आफूचाहिँ नजिकैको घट्टेखोलामा पौडी खेल्न दौडन्थेँ । ठूला केटाकेटी गहिरोमा गएर पौडन्थे, हामी सानाचाहिँ छेउमा खेल्थ्यौँ । पहाडको चिसो पानी, आङ सिरिंङै बनाउँथ्यो । घामले तातेको ढुंगामा लम्पसार परेर जिउ तताउथ्यौ । कैयौँपटक डुबेर पानी पनि खाइयो । हामी पौडीमा मस्त, उता बस्तुले अरूको बाली खाएर सखाप । गाली र कुटाइ त कति खाइयो–खाइयो । तैपनि सकेसम्म कुलेलम ठोक्थ्यौँ । गाउँलेका फलफूल चोरेर खान्थ्यौँ । रमाइलो लाग्थ्यो ।
मलाई घिउचिनी धेरै मीठो लाग्थ्यो । गोठालो जाँदा पोल्टामा हालेर हिँड्थेँ । तर, पुग्दा पोल्टामा चिनी मात्रै हुन्थ्यो, घिउ त कपडाले खाइदिँदो रहेछ । घामले घ्यू पग्लन्छ भन्ने मलाई थाहै थिएन । सुरुमा चोर्दा त घिउ डल्लो हुन्थ्यो, एकाएक त्यो गायब हुँदा अचम्म लाग्थ्यो । एक दिन फुपूले लुगा धँुदा भन्नुभयो– ‘यसमा त घिउ नै घिउ छ, कहाँबाट आयो ?’ चोरी पक्रिएला भनेर झसंग भएँ । कहिलेकाहीँ बज्यैको साँचो भेट्टाए नरिवल चोरेर खान्थेँ । उतिबेला पैसाको काम थिएन । मलाई त पैसाले किन्न पाइन्छ भन्ने पनि थाहा थिएन ।
फुपूको बिहे हाम्रो मामासँग भयो । मामाघर दोलखाको चंखु, गांगटामा थियो । मलाई पनि फुपूको साथी लगाएर मामाघर पठाए । मामाघरमा मेरी आमालाई सबैले निकै माया गर्थे । काठमाडौं जाँदा सबै जनालाई आमाले नै बसाउने भएकाले आमाका भ्याल्यु निकै थियो । त्यसको फाइदा मलाई भयो । फुपूको पनि मान बढ्यो । मावली पनि कम थिएनन् । सातगाउँका मुखिया, साठीसत्तरी जना कमाराकमारी थिए । धेरै कुखुरा थिए । बिहान कुखुराको अण्डा जसले झिक्छ, चर्केको चाहिँ उसैको हुन्थ्यो । डालाभरि अन्डा हुने, पाँच–सातवटा सधैँ चर्केकै हुन्थे । चर्केको अन्डा पोलेर खान पाइन्थ्यो । त्यसैले चाँडै उठेर झिक्न जान्थेँ । त्यहाँ मेरा सबै माग सजिलै पूरा हुन्थेँ ।
मावलीका बाजे विश्वयुद्धका लाहुरे हुनुहुन्थ्यो । अंग्रेजहरूको चालचलन र रवाफ कथाजस्तै गरी सुनाउनुुहुन्थ्यो । म चाख दिएर सुन्थेँ । कल्पन्थेँ– अंग्रेजकी छोरी जस्तै हुन पाए † फेरि बाजे भन्न थाल्नुहुन्थ्यो– ‘तिमीहरूजस्तो गुन्युचोली लगाएर घाँसदाउरा गर्ने हुन् र उनीहरू ? छोटाछोटा स्कर्ट लगाएर बुट बजार्दै स्कुल जान्छन् । हाँडीमा मकै पट्केजस्तै भटट्ट अंग्रेजी बोल्छन् । तिमीहरू पनि त्यसै गरी अंग्रेजी बोल्न सक्ने हुनु ।’ बाजे सधैँ रामायण पढ्नुहुन्थ्यो, सुनेर बस्थेँ । अक्षर के हो, थाहा थिएन । उहाँ सधैँ मामाहरूलाई पढाउनुहुन्थ्यो । मामा लगभग मेरै उमेरका थिए । विस्तारै बाजेले मलाई पनि पढाउन थाल्नुभयो । अंग्रेजका छोरीहरूजस्तै हुने भएँ भनेर खुसी लाग्यो ।
पैसा निकै महँगो थियो उतिबेला । एक रुपियाँमा डोकाभरि सुन्तला घरमै ल्याइदिन्थे । एक रुपियाँमा एक धार्नी नौनीघिउ र बोराभरि आलु आउँथ्यो । भोक लाग्यो कि भुंग्रोमा आलु पोल्यो, खायो । बुइगलमा च्यांग्रा, भेडाको साँप्रा सुकाएर राखिएको हुन्थ्यो । तातोपानीमा हाल्यो, थिचथाच पार्‍यो, खाइहाल्यो । धान कम फल्थ्यो, गहुँको रोटी, च्याँख्ला, ढिँडो बढी खान्थ्यौँ । दुई वर्ष मामाघर बस्दा धेरै कुरा सिकेँ । पन्ध्र–सोह्र दिनमा क, ख जाने । केही दिनमा भगवतीस्तोत्र पढ्न सक्ने भएँ । म त विस्तारै मामाहरूलाई नै पढाउन थालेँ । घरबाट जाँदा कालो अक्षर भैँसीबराबरकी मान्छे मामाघर गएपछि मामाहरूकै गुरु भएँ । टपरी गाँस्ने, बत्ती कात्ने, मान्द्रो, राडीपाखी बुन्ने काम पनि जानेँ । मैले गाँसेको टपरी देखाउँदै बज्यै भन्नुहुन्थ्यो– ‘यो माहिलीले कति राम्रो गाँसेकी ? सबै कुरा जान्दछे यो त ।’ दंग पर्थें । राडी बुन्न तान लगाइएको हुन्थ्यो । अरू खाजा–खाना निस्के कि म बसेर बुन्न थालिहाल्थेँ । कैयौँपटक बिगारेर गाली खाएँ । साह्रै गरेपछि बज्यैले एउटा सानो तान बनाइदिनुभयो । मैले बुनेकोबाट मामाहरूलाइ बख्खु बनाइदिएँ । एकपटक हेरेपछि सिकिहाल्ने क्षमता थियो ममा ।
नौ वर्षको उमेरमा घर फर्किएँ । मेरो भाउ झन् बढ्यो । गाउँमा कसैको चिठी लेख्न पर्‍यो वा रामायण, स्वस्थानी सुन्नुपर्‍यो कि मेरै खोजी ।  म पनि फाइदा उठाइहाल्थेँ। घिउचिनी, नरिवल, दही, दूध कबोलेर मात्र ती काम गरिदिन्थेँ । सबैले माया गर्थे । माइली कता छे भनेर खोज्थे । सबैका लागि जान्ने–सुन्ने भएकी थिएँ ।
माहिला बुबा बर्मेली लाहुरे हुनुहुन्थ्यो । माइलीआमा रोगी थिइन् । माइलाबाले साली भगाउनुभयो । सँगै मलाई पनि साथी लैजानुभयो । गोरखपुर लगेर मलाई र माइली आमालाई राख्नुभयो । त्यहाँ पल्टन बजार रहेछ । धेरै पल्टने बस्ने हुनाले पल्टनबजार भन्दा रहेछन् । पल्टनियाहरूका केटाकेटी पढ्ने स्कुल पनि रहेछ । त्यहीँ मलाई कक्षा १ मा भर्ना गराइदिए । नौ–दश वर्षकी थिएँ । गुन्युचोली पाइसकेकी थिएँ ।
त्यहीँ अंग्रेजी पढाउने स्कुल पनि थियो । मेरो मनमा बाजेले गरेका अंग्रेज केटीहरूको बयान ताजै थियो । सोच्थेँ– त्यसै गरी अंग्रेजी बोल्न पाए † एउटी फ्रक लगाउनेलाई साथी बनाएकी थिएँ । एक दिन उसको फ्रक मागेँ । शनिबार र आइतबार स्कुल छुट्टी हुन्थ्यो । त्यही मौकामा आफ्नो टल्कने साडी काटेँ र उसको फ्रकसँग मिलाएर मैले पनि त्यस्तै बनाएर सिलाएँ । सोमबार त्यही फ्रक लगाएर स्कुल गएँ ।
स्कुलमा के पढ्न पाउनु † एउटी मास्टर्नी दिदीलाई मैले रिझाएकी थिएँ । म उनको काम सघाउँथेँ, उनी मलाई मीठो खान दिन्थिन् । उनले मलाई सबै कक्षामा लगेर भनिन्— ‘ल हेर, गाउँबाट आएको मान्छेले कत्ति धेरै जानेको । कत्ति राम्रो फ्रक सिलाएको †’ मलाई के–के न गरेजस्तै भयो । सबै सरले प्रशंसा गर्दै मलाई पैसा र पुरस्कार दिए ।
हामीनजिकै एक बर्मेली परिवार बस्थे । उनीहरूलाई मामामाइजू भन्थेँ । तिनै माइजूले स्विटर, खुकुरीको पट्टा बुन्न सिकाइन् । एउटा बनाएबापत एक रुपियाँ र पेटभरि मासुभात खान दिन्थिन । उनका छोरीहरू अंग्रेजी पढ्ने, कोठाबाट बाहिरै निस्कँदैनथे । पढाइसँगै म सिउन–बुन्न सिक्थेँ । गोरखपुरमा एकदिन गान्धीजीले भाषण गर्ने प्रचार भयो । म पनि सुन्न गएँ । उनले के–के भने, थाहा पाइनँ । लुगा ओढेको एउटा बूढो मान्छे देखेँ । सबैले गान्धीको कुरा गरेको सुन्दा उनी ठूलै रहेछन् भन्नेचाहिँ अनुमान लगाएकी थिएँ । गोरखपुरमा सिनेमा निकै हेरिन्थ्यो । साह्रै रमाइलो लाग्थ्यो । माइलाबाको पेन्सन भयो । दुई वर्ष गोरखपुर बसेपछि नेपाल फर्कें ।
अब तेह्र–चौध वर्षकी थिएँ । त्यहीबीच बुबाको निधन भयो । घर आएपछि आमाको स्वकीय सचिवजस्तै भएँ म । दिदीबहिनी पढ्न जान्दैनथे । आमाको बहिखाता हेर्ने, हिसाबकिताब मिलाउने काम मेरै हुन्थ्यो । आमा मलाई अरू काम लगाउनु हुँदैनथ्यो । घरको सबै काम दिदीबहिनीले गर्थे ।
सोह्र वर्षको उमेरमा काठमाडौंको दरबार हाइस्कुलमा तीन कक्षामा भर्ना भएँ । आमाले पाँच जना भरिया लगाएर पढ्न पठाउनुभएको । सिन्धुलीबाट आठ दिनमा हिँडेर आयौं । काठमाडौंमा ढुंगैढुगाको घर देख्दा नराम्रो लाग्यो । छि… कस्तो नराम्रो काठमाडौँ भनेछु । अरू सबै साथी अलि सानै थिए । गोरखपुरमा पढेर आएकोले सबैभन्दा जान्ने मै थिए । कक्षामा पढाइ र अतिरिक्त क्रियाकलापमा सधैँ प्रथम हुन्थेँ । मैले पढेको ठूलीआमालाई मन परेको रहेनछ । उहाँ भन्नुहुन्थ्यो– ‘छोरामान्छेले त केही गरेनन्, छोरीले पढेर के होला ?’ चार कक्षामा पद्ममकन्या स्कुल भर्ना भएँ । जेमा पनि प्रथम हुन मन पराउँथेँ, सबैलाई जित्नै पर्ने । तर, त्यसका लागि मेहनत गर्ने स्वभाव पनि उत्तिकै थियो ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया