हास्यअभिनेता श्रेष्ठले मनाए ६३औ जन्मदिन

madan-krishna-birthdayकाठमाडौं : हास्यअभिनेता मदकृष्ण श्रेष्ठले जनतालाई घात नगर्न नेतासँग अनुरोध गरेका छन् । आºनो ६३औँ जन्मदिन मनाउने क्रममा श्रेष्ठले सो अनुरोध गरेका हुन् । बुधबार केही सञ्चारकर्मी र कलाकार साथीमाझ सुनाकोठी ललितपुरस्थित म्यालीहोम्स्को आºनै निवासमा जन्मदिन मनाएका श्रेष्ठले भने नेताहरूले देशमा शान्ति दिने हो र जनताको पक्षमा उभिने हो भने देशलाई अन्योलमा राख्नुको सट्टा चुनाव गरेर निकास निकाल्न सक्नुपर्छ ।
गत वर्ष श्रीमती यशोदाको उपचारका कारण जन्मदिन मनाउन नपाएका श्रेष्ठले यसपालि दुवै वर्षको जन्मदिनको खुसी बाँडे । ‘यो वर्ष परेको जन्मदिन रमाइलो भयो,’ श्रेष्ठले अनुभूति पोखे । जन्मदिनको खुसीसँगै श्रेष्ठले श्रीमती यशोदालाई क्यान्सर हँुदा आफूले गरेको संघर्षसमेत सुनाए । यो कथा सुनाउँदा उपस्थिति सबैका आँखा रसाएका थिए ।
जन्मदिनमा उपस्थित सबैलाई धन्यवाद दिँदै उनले भने, ‘शुभकामनाको महत्त्व मैले त्यति बुझेको रहेनछु । यशोदाको क्यान्सरसँगको लडाइँमा शुभकामनाले निकै ठूलो आत्मविश्वास र बाँच्ने साहस बढाइदियो ।’
जन्मदिनको केक काट्न उनलाई अभिनयमा सधैँ रहने जोडी हरिवंश आचार्यले सघाए । केक काट्ने क्रममा हरिवंशले जन्मदिन मदन दाइको मात्र होइन, आºनो पनि हो भन्ने जोक गरेर उपस्थित सबैलाई हँसाए । दोस्री श्रीमती रमिला पाठकका साथ श्रेष्ठनिवास पुगेका आचार्यले भने, ‘मदनदाइसँगको ३४ वर्षे सहयात्राको रमाइला पलमध्येको एक पल आजको यो समय पनि हो । मदनदाइ मेरो अभिभावक हो । दाइको माया र साथको मलाई सधँै खाँचो रहन्छ,’ उनले थपे ।
जन्मदिन मनाउन श्रेष्ठ निवासमा हास्यकलाकार किरण केसी, मनोज गजुरेल, छायांकार गौरीशंकर ध्वजु, हास्यअभिनेत्री दीपाश्री निरौलालगायत कलाकार पुगेका थिए । नेपाली जनताको चेतना स्तरलाई हास्यव्यंग्यको माध्यमबाट माथि उठाउन महले खेलेको भूमिका अतुलनीय रहेको कलाकार एवं लेखक मनोज गजुरेलले भने ।
श्रेष्ठले यसपटकको जन्मदिन भने सरप्राइजका रूपमा मनाएका हुन् । विनातयारी घरमा रहेका श्रेष्ठका अगाडि केकसहित गएका सहकर्मी कलाकारले ह्यापी बर्थडे भन्दा उनी तीनछक परेका थिए । जन्मदिनको केकसहित सरप्राइज दिन उपस्थित सबैमाझ श्रेष्ठले आभार व्यक्त गरे । (सौस)

प्रतिक्रिया