मिर्गौला तस्करीमा विद्यार्थी नेता

बनेपा : मिर्गौलाको अवैध बेचबिखन गर्ने कार्यमा पाटन क्याम्पसका पूर्वस्ववियु उपभापति सचिन महर्जन पनि संलग्न रहेको पाइएको छ । प्रहरीले मंगलबार उनीसहित ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सचिनसहित नुवाकोट मदानपुर–१ का पुना ठकुरी भन्ने पूजा दाहाल, सोही स्थानका कृष्णबहादुर दर्जी, ललितपुरका सानुलाल महर्जन, तनहुँ मिलुंग–३ का कुमार अधिकारी, काभ्रेका सुमन श्रेष्ठ र पाँचखाल–६ का राजन दर्जी छन् ।
काभ्रेका प्रहरी उपरीक्षक कमल घर्तीका अनुसार पक्राउ परेकामध्ये सचिन महर्जन पाटन क्याम्पसका पूर्वस्ववियु उपभापति हुन् । उनीहरूलाई एक महिनाको अवधिमा प्रहरीले जिल्लास्तरमा गठन गरेको विशेष टोलीले काठमाडौं, नुवाकोट र काभ्रेका विभिन्न स्थानबाट पक्राउ गरेको हो । मंगलबार उनीहरू सबैलाई धुलिखेलमा सार्वजनिक गरिएको छ ।
यसअघि मिर्गौलाको अवैध कार्यमा सहयोगीका रूपमा काम गरेका काभ्रे पनौतीका मनोज रावत ३५ हजार धरौटीमा रिहा भएका छन् भने अर्का काभ्रे होक्सेका प्रेमबहादुर बजगाइं अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।
पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरेको हो । मिर्गाैलाको अवैध बेचविखन गर्ने कार्यका मुख्य दोषी अझै फरार रहेको प्रहरीले जनाएको छ ।
होक्सेमा अहिलेसम्म झन्डै एक सय ५० जनाको हाराहारीमा मिर्गौला बेचबिखन भएको प्रहरीले जनाएको छ । बेचबिखनबाट अहिलेसम्म पाँच जनाको मृत्युसमेत भएको छ ।

प्रतिक्रिया