एमाले पूर्वसहमति कार्यान्वयनको पक्षमा

Baluwatar Pmकाठमाडौं, ३१ वैशाख । संविधानसभा निर्वाचन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सरकारले एमालेका प्रमुख शीर्ष नेतृत्वसँग परामर्श गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचनका लागि आवश्यक पर्ने कानून र जटिलता हटाईदिन पहल गर्न एमाले नेतृत्वसँग आग्रह गरे । निर्वाचनको कानून अभावले मिति घोषणा गर्न समस्या रहेको भन्दै छिटो राजनीतिक सहमति जुटाउन भनेका थिए । छलफल पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले नेता भीम रावलले जेठ–२ गते बस्ने उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनका विषयमा परामर्श गरेर सरकारलाई सुझाव दिने बताए । ‘जेठ–२ गते उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दैछ,’ उनले भने, ‘चार शीर्ष नेतृत्वबीच छलफल गरेर निर्वाचन मिति र कानूनका विषयमा सुझाव दिन्छौं ।’ उनले निर्वाचनको मिति तोक्ने विषयमा पनि सोही बैठकले उचित राय दिने बताए । अर्का नेता अग्नि खरेलले निर्वाचनमा खसेको कुलमतको एकप्रतिसत मत ल्याउनु पर्ने अडानमा आफूहरुले राखेको बताए । ‘प्रमुख दलहरुबीच पहिला भएको सहमतिलाई कार्यान्वयन गर्नु पर्छ,’ उनले भने, ‘सकिन्छ भने साढे एकप्रतिसत अन्यथा एकप्रतिसतसम्म भएपनि मत ल्याउन पर्ने अनिर्वाय व्यवस्था गरिनु पर्छ ।’ पूर्व सहमतिलाई कार्यान्वयन गर्ने पक्षमा एमाले रहेको बताएका खरेलले कसैलाई चित्त बुझेन भनेर सहमति भएका विषयमा परिवर्तन गर्दै जान नहुँने बताए । छलफलमा अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष रेग्मी, एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायतको सहभागिता रहेको थियो । यस अघि अध्यक्ष रेग्मीले सोमबार बेलुका कांग्रेसका नेताहरुसँग निवार्चनका विषयमा परामर्श गरेका थिए ।

प्रतिक्रिया