शोधनान्तर बचत ३१ अर्बनजिक

Nepal-Rastra-Bankकाठमाडौं, ३१ वैशाख । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म देशको शोधनान्तर स्थिति ३० अर्ब ७७ करोडले बचतमा रहन पुगेको छ । फागुन मसान्तसम्म ११ अर्ब ७८ करोड रुपियाँले बचतमा रहेको शोधनान्तर स्थिति एकाएक ह्वात्तै बढेको हो । अघिल्लो वर्षको चैत्र मसान्तमा शोधनान्तर बचत ९२ अर्ब ५५ करोड रहेको थियो । समीक्षा अवधिमा चालु खाता २२ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता ४१ अर्ब ९५ करोड रुपियाँले बचतमा रहेको थियो । खासगरी सेवा आयातमा भएको उल्लेख्य वृद्धि र विप्रेषण आप्रवाहको वृद्धिदर घटेको कारण समीक्षा अवधिमा चालु खाता बचत अघिल्लो वर्षको तुलनामा कम रहन गएको हो । अमेरिकी डलरमा समीक्षा अवधिमा चालु खाता बचत २५ करोड ३९ लाख डलर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता ५२ करोड ४३ लाख डलरले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा खुद सेवा आय ४ अर्ब ५६ करोडले बचतमा रहेको छ । चालु वर्षको अघिल्लो केही महिना खुद सेवा आयसमेत नकारात्मक बन्न पुगेका कारण शोधनान्तर स्थिति १ अर्बभन्दा तलसमेत झर्न पुगेको थियो । अघिल्लो वर्षको चैत्रसम्म खुद सेवा आय १२ अर्ब ४९ करोडले बचतमा रहेको थियो । त्यस्तै, खुद ट्रान्सफर आय अघिल्लो वर्षको सोही अवधिमा ३३ दशमलव १ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १८ दशमलव १ प्रतिशतले बढी ३४७ अर्ब ८७ करोड रुपियाँ पुगेको छ । ट्रान्सफरअन्तर्गतको विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिमा ३६ दशमलव ५ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा २१ दशमलव ९ प्रतिशतले वृद्धि भई ३ सय २ अर्ब ५८ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिमा २५ दशमलव १ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १० दशमलव ७ प्रतिशतले वृद्धि भई ३ अर्ब ४७ करोड डलर पुगेको छ ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २३ दशमलव ६ प्रतिशतले बढेर ३ सय ५१ अर्ब ६७ करोड रुपियाँ पुगेको छ । चालु आवको पहिलो ९ महिनामा निर्यात साढे ३ प्रतिशतले बढेर ५७ अर्ब १६ करोड रुपियाँ पुगेको छ भने आयात २० दशमलव ३ प्रतिशतले बढेर ४ सय ८ अर्ब ८३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको चैत्र मसान्तसम्म निर्यात १५ दशमलव ९ प्रतिशतले वृद्धि भई ५५ अर्ब २४ करोड रहेको थियो । भारत तथा अन्य मुलुक दुवैतर्फको निर्यातको वृद्धिदर अघिल्लो वर्षको तुलनामा न्यून रहन गएका कारण वस्तु निर्यातको वृद्धिदर समीक्षा अवधिमा कम रहेको हो ।
कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्षको नौ महिनाको १८ दशमलव ४ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा शून्य दशमलव ४ प्रतिशतको सीमान्त दरले बढेको छ । त्यस्तै, अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ११ दशमलव १ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा १० प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिमा २ दशमलव ७ प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा १ दशमलव १ प्रतिशतले ह्रास आई २२ करोड ४६ लाख डलर पुगेको छ । भारततर्फ मुख्यतया: जिआई पाइप, तार, जिंक सिट, अदुवालगायत वस्तुको निर्यात बढेको छ भने अन्य मुलुकतर्फ विशेषगरी दाल, प्रशोधित छाला र तयारी छालाका वस्तुको निर्यातमा वृद्धि भएको छ ।
समीक्षा अवधिमा भारत तथा अन्य मुलुक दुवैतर्फको आयात बढेकाले कुल वस्तु आयातको वृद्धिदर अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा उच्च रहन गएको हो । मासिक रूपमा हेर्दा चैत महिनामा कुल वस्तु आयात फागुन महिनाको तुलनामा १३ दशमलव ४ प्रतिशतले बढेको छ । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा १३ दशमलव १ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा २२ दशमलव ९ प्रतिशतको उच्च दरले बढेको छ । त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा २८ दशमलव ३ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १५ दशमलव ५ प्रतिशतले बढेको छ ।
अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको सोही अवधिमा १८ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ४ दशमलव ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ अर्ब ५९ करोड पुगेको छ । भारतबाट मुख्यतया: पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटर््स, सिमेन्ट, चामल तथा अन्य मेसिनरी तथा पार्ट्सलगायतको आयात बढेको कारण त्यसतर्फको आयात उच्च दरले बढेको हो । अन्य मुलुकबाट विशेषगरी तयारी पोसाक, चाँदी, पाइप तथा पाइप फिटिङ, सञ्चारका उपकरण तथा पार्ट्स तथा जुत्ता तथा चप्पललगायतको आयात बढेका कारण त्यसतर्फको आयात बढेको हो ।

प्रतिक्रिया