थप अवैध विद्यालय बन्द

School 1राजविराज, ३१ वैशाख । गैरकानुनी रूपमा सञ्चालनमा रहेका सप्तरीका थप ११ निजी विद्यालय सोमबार पनि बन्द गरिएका छन् । योसँगै जिल्लाका २१ वटा निजी विद्यालय पुन: सञ्चालनमा नआउने गरी बन्द भएका छन् ।
जिल्ला शिक्षा कार्यालयको दुईवटा टोलीले तिलाठी स्रोतकेन्द्रका ३ वटा र प्रसवनी स्रोतकेन्द्रका ८ वटा गरी ११ वटा निजी विद्यालय बन्द गराएको छ । जसमध्ये त्रिकौल–९ को राधाकृष्ण बोर्डिङ स्कुल, डाढा–१ को सरस्वती बोर्डिङ स्कुल, डिमन–९ को गोदावरी एजुकेसनल एकेडेमी, लोहजरा–२ को लोहजरा नवज्योति इंग्लिस बोर्डिङ स्कुल, जन्डोल–७ को पिआर मेमोरियल बोर्डिङ स्कुल, सीतापुर–१ को जयमाँ भुवनेश्वरी एकेडेमी र तेरहौताको लौगी चिल्ड्रेन एकेडेमी बन्द भएका जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक अर्जुन कार्कीले जानकारी दिए ।
यसैगरी, कोचाबखारीको ज्योति पारामाउन्ट बोर्डिङ स्कुल र छिन्नमस्ताका छिन्नमस्ता इंग्लिस स्कुल तथा स्वाति मिसन एकेडेमी पनि बन्द गरिएको कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालय, प्याब्सन, एनप्याब्न, नेपाल प्याब्सन र शिक्षक युनियनका प्रतिनिधि सम्मिलित टोलीले ती विद्यालयको अनुगमन गर्दा गैरकानुनी रूपमा सञ्चालन भएको पाइएकाले बन्द गर्ने निर्णय गरिएको जिशिअ रुद्रहरि भण्डारीले बताए ।
यसअघि जिल्ला शिक्षा कार्यालयले २६ र २७ वैशाखमा गरी जिल्लाको विभिन्न स्थानका १० वटा बोर्डिङ स्कुल बन्द गराएको थियो । जसमा राजविराज–९ को शुभम् रिलायन्स एकेडेमी, हिमालय टोलको ग्यालेक्सी इंग्लिस बोर्डिङ स्कुल, इटहरी विष्णुपुर–८ को गुरुकुल एकेडेमी, विष्णुपुर–३ कै श्री साइराम इंग्लिस बोर्डिङ स्कुल, बसबिट्टी–४ को ग्लोबल इंग्लिस बोर्डिङ स्कुल र मलेठ–४ को विस्डम इंग्लिस एकेडेमी बन्द भएका छन् । यस्तै, मलेकपुर–५ को माँ सरस्वती इंग्लिस बोर्डिङ स्कुल, सुदीक्षा इंग्लिस बोर्डिङ स्कुल, ४ को मोहन इंग्लिस बोर्डिङ स्कुल र राजविराज–७ को नवीन पोल स्टार इंग्लिस बोर्डिङ स्कुल बन्द गरिएको शिक्षा अधिकारी भण्डारीले जानकारी दिए । जिल्लामा करिब ६० भन्दा बढी गैरकानुनी रूपमा विद्यालय सञ्चालनमा रहेको अनुमान गरिएको छ ।
यता गैरकानुनी निजी विद्यालय बन्द गर्ने शिक्षा कार्यालयको अभियानबाट अत्तालिएका तीनका सञ्चालकले आइतबारबाट सप्तरीका सम्पूर्ण निजी तथा सरकारी विद्यालय अनिश्चित कालीन बन्द गर्ने धम्की दिए पनि कार्यक्रम असफल भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
२७ वटा विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरूको बैठकमा जिल्ला शिक्षा कार्यालयद्वारा सुरु गरिएको विद्यालय बन्द गर्ने कार्यले बालअधिकारको हनन, अमानवीय व्यवहार र प्रहरी प्रशासनको प्रत्यक्ष हस्तक्षेपविरुद्ध आन्दोलनमा जानुको विकल्प नरहेको ठहर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया