ठूलो खोला लघुजलविद्युत् आयोजना बन्द

फलेवास (पर्वत), ३० वैशाख । यहाँस्थित एक दुर्गम गाउँमा सञ्चालित लघुजलविद्युत् आयोजना ६ महिनादेखि बन्द भएको छ ।
दक्षिण पर्वतको भँगरा गाविसमा रहेको सात किलोवाट क्षमताको ठूलो खोला लघुजलविद्युत् आयोजना पूर्णरूपमा बन्द भएको हो । आयोजनाको जेनेरेटरमा समस्या आएपछि रकमको अभावले मर्मत गर्न नसक्दा आयोजना बन्द भएको बताइएको छ ।
विसं २०५७ बाट विद्युत् उत्पादन सुरु गरेको आयोजनाबाट उत्पादन भएको विद्युत् भँगरा गाउँ विकास समितिका ४० घरधुरीले उपभोग गरिरहेका थिए ।
कृषि विकास बैंकको दुई लाख ५० हजार रुपियाँ सहयोग र स्थानीयवासीको करिब ११ लाखको लागतमा निर्माण भएको आयोजनामा पटक–पटक जेनेरेटरमा खराबी आएपछि बन्द भएको हो । जेनेरेटर मर्मतका लागि आर्थिक अभाव भएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।
स्थानीय सञ्जय सुवेदीका अनुसार ‘जेनेरेटरमा समस्या भइरह्यो, मर्मत गर्ने रकम नभएपछि आयोजना बन्द भएको छ’ सुवेदीले भने, ‘आयोजना समुदायको लगानीमा निर्माण सम्पन्न गरेका हौँ ।’ पटक–पटक प्राविधिक समस्या आएपछि मर्मतका लागि रकमको अभाव पर्दै आएको उनले बताए । ‘पुसदेखि आयोजना अलपत्र छ,’ सुवेदीले भने, ‘आयोजनाका सामग्री खोलामा बेवारिसे बनेका छन् ।’
आयोजनाको मर्मतमा हालम्म कुनै निकायले पनि चासो नदेखाएको उनले गुनासो गरे । हिउँदको समयमा कम विद्युत् उत्पादन हुने भए पनि वर्षाको समयमा क्षमताभन्दा बढी विद्युत् उत्पादन हुने गरेको थियो । ठूलो खोला लघुजलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएपछि स्थानीयले चैतदेखि केन्द्रीय उत्पादनको विद्युत् घरमा जडान गरिसकेका छन् ।
‘मर्मतका लागि स्थानीयले सकेनौँ, अरू निकायले चासो देखाएनन्,’ ठूलो खोला लघुजलविद्युत् आयोजनाका अध्यक्ष प्रेमबहादुर गुरुङले भने, ‘अध्यारोमा बस्नु परेपछि केन्द्रीय लाइनको विकल्प खोजेका हौँ ।’ मर्मत गर्न सकेको खण्डमा आयोजना पुन:सञ्चालन हुनसक्ने गुरुङले बताए । गाउँमै उत्पादित विद्युत् सस्तो मूल्यमा उपभोग गर्दै आएका स्थानीय अहिले महंगो शुल्क तिर्न बाध्य बनेका छन् ।

प्रतिक्रिया