सरकारको विकल्प खोज्ने चेतावनी

काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काले सरकारले चुनावको वातावरण बनाउन नसके विकल्प खोज्ने चेतावनी दिए । सरकारले चुनाव गर्न सक्छ भन्नेमा आशंका रहेको उल्लेख गर्दै नेता खड्काले सरकारको गतिविधिको आलोचना गरे । ‘चुनाव गर्न नसक्ने अवस्था देखिए सरकारको राजीनामा माग्छौँ र त्यसपछि कांग्रेस नेतृत्वको सरकारले चुनाव गर्छ,’ उनले भने ।
सरकार जनउत्तरदायित्वविहीन तथा हावामा अडिएको आरोप लगाउँदै उनले त्यसबाट आशा गर्ने ठाउँ नरहेको जिकिर गरे । चुनावलाई कसैले रोक्न नसक्ने भन्दै सरकार परिवर्तन गरेर भए पनि मंसिरभित्र चुनाव गरिछाड्ने उनले ठोकुवा गरे ।
एमाले केन्द्रीय सदस्य अग्नि खरेलले निर्वाचन व्यवस्थासम्बन्धी थ्रेसहोल्ड कुनै हालतमा झिक्ने पक्षमा आफूहरू नरहेको बताए । थ्रेसहोल्ड हटाउने विषय उठाएर बखेडा झिक्न खोज्नुलाई चुनाव भाँड्ने षड्यन्त्र भएको खरेलले संज्ञा दिए । ‘चुनाव भाँड्न झिकिएका बखेडामा अलमल गर्नुहुन्न,’ उनले भने । थ्रेसहोल्डमा एकीकृत माओवादीको पनि पहिले असहमति नरहेको उल्लेख गर्दै उनले अहिले आएर असहमति देखाउनुले आशंका जन्माएको बताए । एमाओवादी र मधेसी मोर्चाले चुनाव नचाहेको उनले आरोप लगाए । जस्तोसुकै दबाबसामु जुधेर भए पनि थ्रेसहोल्डसहितको निर्वाचन व्यवस्था रहेको अध्यादेश राष्ट्रपतिसमक्ष पुग्नुपर्ने उनको जोड थियो । (सौस)

प्रतिक्रिया