रेग्मी जस्तै कार्की पनि स्वतन्त्र व्यक्ति : दाहाल

Prachandaपोखरा, ३० वैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र व्यक्ति भएकाले पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको बताएका छन् । प्रधानन्यायाधीश खिलराज रेग्मी जस्तै कार्की पनि स्वतन्त्र व्यक्ति भएको दाहालको जिकिर छ ।
लामो छलफलपछि शीर्ष नेताहरूले हस्ताक्षर गरेको सिफारिसपत्र मन्त्रिपरिषद् अध्यक्षलाई बुझाइसकेपछि हस्ताक्षरकर्ता पार्टीकै नेताहरूले सिफारिस गरिएका व्यक्तिबारे आनाकानी गर्नु राजनीतिक नैतिकताका नभएको टिप्पणी दाहालको छ । ‘चुनावपछि बन्ने व्यवस्थापिका संसदले महाअभियोग लगाएर हटाउन पनि सक्ने प्रावधान छ, अहिले कार्कीको विरोध गरेर टाउको दुखाउनु बेकार हो’, क्रान्तिकारी पत्रकार संघ तमुवान राज्य समितिले आइतबार पोखरामा गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले भने ।
संवैधानिक निकायमा नियुक्ति भएकामाथि प्रश्न उठाउनुभन्दा चुनावतिर बढी ध्यान केन्द्रित गर्न उचित हुने दाहालले बताए । कात्तिक अन्तिम वा मंसिरको पहिलो साता गर्ने गरी चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार लागेको अध्यक्ष दाहालले बताए । निर्वाचन प्रक्रियामा सहभागी नहुने भनिरहेका दलहरूलाई पनि सहभागी बनाउन छलफल भइरहेको उनले बताए ।
यसैबीच, अध्यक्ष दाहालले चुनावमा नेतृत्वले माथिबाट र कार्यकर्ताले तलबाट हस्पक्षेप गर्ने बताए । ‘तपाईंहरू वडा, गाउँ, जिल्ला हुँदैमाथि बढ्नुस, हामी माथिबाट हस्तक्षेप गर्छौँ, अनिमात्र हाम्रो क्रान्ति पूरा हुन्छ । यही रणनीतिक योजना बनाउन म पोखरा आएको हुँ ।’ स्रोतका अनुसार तमुवान राज्य समितिका कार्यकतालाई आइतबार गोप्य प्रशिक्षण दिँदै दाहालले भनेका छन् ।
आगामी चुनावमा विपक्षी दलभन्दा आफ्नै कार्यकर्ताबाट अन्तर्घात हुने चिन्ता पनि दाहालले व्यक्त गरे । ‘कांग्रेस र एमालेसँग हामीलाई डर छैन, छ त केवल राज्य र जिल्ला तहका हाम्रै नेता कार्यकर्ताबाट’, प्रशिक्षणमा सहभागी एक सदस्यले बताए । आगामी दिनमा घात र अन्तर्घातबाट टाढा रहन उनले कार्यकर्तालाई निर्देशनसमेत दिए ।

प्रतिक्रिया