मलाई कुनै पश्चात्ताप छैन

Jp-Guptaरातको ठीक साढे आठ बज्यो । यतिखेर म भर्खरै पुर्‍याइएको थिएँ, चारखालस्थित जेलमा । लोडसेडिङका कारण चारैतिर अँध्यारो थियो । मैनबत्तीको उज्यालोमा केही सुरक्षाकर्मीले मेरो शरीर खानतलासी गरे । अदालतले कैदसजायको फैसला गरेको केही बेरमै मलाई त्यहाँ पुर्‍याइएको थियो ।
खानतलासीपछि सुरक्षाकर्मीले करिब तीस–पैँतीस जना कैदीका बीच लगेर छाडिदिए । त्यो रात उनीहरूसँगै बिताएँ । सबैले खाना खाइसकेका रहेछन् । कैदीहरूले मलाई पनि खाना दिए । मसँग त आफ्नो भन्नु बिहान घरबाट लगाएर निस्केको कपडा र नियमित खाने प्रेसरको औषधिबाहेक केही पनि थिएन । भोलिपल्ट बिहान कांग्रेस नेता चिरञ्जीवी वाग्ले र अरू चिनेजानेका व्यक्तिसँग भेट भयो । वाग्ले त्यहीँ सजाय भुक्तान गरिरहेका थिए । भोलिपल्टदेखि आवश्यक सामानहरू घरबाट आइपुगे । दिनहरू सामान्य लाग्न थाले ।
मानवीय स्वभाव वा चेतना भनौँ । कतै टाढा घुम्न जाँदा त परिवारलाई सम्झिइन्छ, म त जेल पुगेको मान्छे । स्वाभाविक रूपमा याद आउने भई नै हाल्यो । मानवीय गुण हो, हरेक सुखदु:खमा आफन्तलाई सम्झिइन्छ । गाउँमा वृद्ध बुबाआमा हुनुहुन्थ्यो । रोगले थलिएकी आमालाई डाक्टरको निगरानीमा राख्नुपरिरहेको थियो । सबैभन्दा बढी उहाँरूलाई नै सम्झेँ । सम्झनुबाहेक मसँग अरू विकल्प पनि के थियो र त्यो घडीमा † हुन त परिवारले यसअघि पनि कयौँ विपत्ति सहिसकेको थियो । यो अवस्थालाई पनि सहज रूपमा लिन्छ भन्ने विश्वास मभित्र थियो । सम्झेँ– ‘मुलुकका लागि पटकपटक जेल बसेँ, दु:ख बेहोरेँ, सफलता–असफलता धेरै भोगेँ । परिस्थितिवश आज फेरि कैदी हुन पुगेको छु । तर, यहाँबाट निस्केपछि पनि लामो जीवन मलाई पर्खिरहेको हुनेछ । त्यसलाई उपयोग गर्न मानसिक रूपमा दृढ भएर बस्नुपर्छ ।’ मन दह्रो पारेँ ।
बुबाआमालाई सम्झँदा अलि बढी नै भावुक हुन्थेँ । जेलमा बुबाआमाको अन्तिम संस्कार गर्न नपाएर छटपटाएका सन्तान थुप्रै देखेँ । उनीहरूका कारुणिक कथा सुनेर मन अमिलो हुन्थ्यो । झस्कन्थेँ अनि कामना गर्थें– ‘मैले त्यस्तो अवस्था बेहोर्नु नपरोस् †’ आफूलाई जीवन दिनेहरूलाई मैले केही दिन सकेको थिइनँ । उनीहरूले मेरा लागि आँसु मात्र बगाइरहनुपर्ने परिस्थितिले मलाई साह्रै दु:खी बनाउँथ्यो ।
भोलिपल्ट श्रीमती आइन् । चार दिनसम्म नजिकका आफन्तबाहेक कसैसँग भेट्न दिइएन । चार दिनपछि पत्रकार सीताराम बरालले भेट्नुभयो । अब भेटघाटका शृंखला सजिला हुन थाले । नचिनेका, कहिल्यै नदेखेका मान्छे पनि आए । पत्रकार, विभिन्न पार्टीका मान्छेहरू आइराखे । धेरैजसोले दिन कटाउन सजिलो होस् भनेर जीवनोपयोगी किताब ल्याइदिए । कुनै दिन त सयभन्दा बढी मान्छे आउँथे । मलाई भ्रम थियो– पक्कै मधेसतिरका मान्छे मात्रै आउलान् । तर, त्यस्तो भएन । सबै क्षेत्रका मान्छ आए । कति दिन त खाना खाने फुर्सद पनि भएन । लाग्यो– मैले अब फेरि जिम्मेवारीपूर्वक राजनीति गर्नुपर्छ । राज्य मप्रति क्रूर भए पनि माया गर्नेहरू धेरै रहेछन् । हुन त समाजको स्थायी स्वभाव नै परपीडक छ । न्यायप्रियताभन्दा दण्डप्रियतामा बढी रमाइलो मान्छ । यो सामाजिक सत्यको पूर्वबोध मलाई थियो । चित्त बुझाएँ ।
अदालतको फैसलापछि सञ्चारमाध्यम र नागरिक समाजका विभिन्न धारणाले बजार पिट्नेवाला थिए नै । म सुन्न तयार भएर बसेको थिएँ । फैसलाको भोलिपल्ट बार एसोसिएसनका एक पूर्वअध्यक्षले रिपोर्टर्स क्लबमा भने– ‘भ्रष्टाचारीलाई फाँसी दिनुपर्छ ।’ धेरै वरिष्ठ अधिवक्ताले जेपीलाई आजीवन कारावास हुनुपर्छ पनि भने । उनीहरू सबै कानुनका ज्ञाता थिए तर कानुनै नबुझ्ने गाउँले खेताला शैलीमा धारणा प्रस्तुत गरिरहेका थिए । केही दिनसम्म समाचारको रमाइलो पात्र बनेर प्रस्तुत गरिएँ म, सञ्चारमाध्यममा । एक पत्रकारले नेपाल म्यागेजिनमा ‘जेपीको तेह्र दिनको सबै क्रिया भयो’ भनेर पनि लेखे । यस्तै हो, सबैले आआफ्नो हैसियतअनुसारको बुझाइ र विचार पोखे । समाजको स्वाभाविक चरित्र यस्तै नै हुन्छ, त्यसैअनुरूप लिएँ मैले पनि ।
बाबुरामलाई प्रधानमन्त्री बनाउनुमा मेरो पनि लगानी छ । उनी मप्रति अनुगृहीत हुनुपथ्र्यो । मधेसी दललाई उनको सपोर्टमा मनाउन कम्ती सक्रिय भएको थिइनँ । तर, म जेल जानेबित्तिकै उनैले फुर्ती देखाए, ‘ठूलो काम गरेँ’ भने । सरकारबाट हटेपछि आफ्नो उपलब्धि सुनाए– ‘मैले बहालवाला मन्त्रीलाई जेल हालँे †’ यदि न्यायपालिका स्वतन्त्र हुन्छ भने अदालतले गरेको फैसला कसरी सरकारको उपलब्धि हुन्छ ?
जेलमा आफ्नै पार्टीका साथीहरू पनि आउनुहुन्थ्यो । पार्टीलाई अघि बढाउनेबारे छलफल हुन्थ्यो । साथीहरूलाई भन्थेँ– ‘मेरो अनुपस्थितिमा पार्टी कमजोर हुन नपाओस्, ठीकसँग चलाउनुहोला ।’ तर, म केही दिन नरहँदा पार्टी नै रहेन । हुन त जेलबाट छुट्ने बेला नै पहिलेको पार्टीमा रहन्नँ भनेको थिएँ । अहिले नयाँ ढंगले अघि बढ्न सबैसँग भेट गर्दै छु ।
मुद्दा फैसला हुनुअघि नै आभास भइसकेको थियो– मलाई हराउन धेरै तानाबाना बुनिँदै छन् । न्यायाधीश तपबहादुर मगरले आठ महिनासम्म मेरो मुद्दाको सुनुवाइ गर्नुभयो । तर, फैसला गर्ने बेला उहाँ बिदामा बस्नुभयो । उहाँले आफ्नो मुखले त्यो फैसला गर्नुभएन । मैले सुनेअनुसार उहाँ अपेक्षाकृत विषयमा कुरा नगर्ने, पूर्वाग्रही भावना नराख्ने न्यायाधीशमा पर्नुहुन्छ रे † सुनुवाइका सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि फैसलाचाहिँ किन उहाँले गर्नुभएन, मैले बुझ्न सकेको छैन । उहाँ बिदामा बसेपछि मनमा चिसो पसेको थियो– ‘कतै केही गडबडी त छैन ?’ एकाएक प्रधान न्यायाधीश खिलराज रेग्मीले न्यायाधीश सुशीला कार्कीलाई मेरो मुद्दा सुम्पिदिनुभयो । सुशीला मेरो मुुद्दा हेर्न थालिन्, बेन्चमै कुरा सुरु भयो । सुशीला न्यायाधीश हुनुअघि कांग्रेसको सक्रिय राजनीति गरेर हिँडेकी मान्छे । पछिल्लो समय कांग्रेस नेताहरूको खेदो खन्दै हिँड्न थालेकी छन् । भ्रष्टाचारीलाई दण्डित गर्नुपर्छ भन्दै पत्रपत्रिकामा नामै तोकेर लेख्न थालिन् । फैसलापछि पनि मेरो आम्दानीको खिल्ली उडाउँदै लेख लेखिन् । न्यायाधीशजस्तो ‘तटस्थ’ मान्छेले फैसलाका विषयमा विचार लेख्दै हिँड्नु कतिसम्म जायज होला † कुनै मुद्दामा पूर्वधारणा बनाइसकेका व्यक्तिलाई सम्बन्धित केस हेर्न दिन नहुने न्यायाधीशको आचारसंहितामा छ । मप्रति सुशीलाजीको आक्रोश बढ्दै थियो, मेरो मनमा चिसो पस्दै थियो । साथीहरूसँगको भेटमा उनले मप्रति पूर्वाग्रही धारणा व्यक्त गर्ने गरेको सुनेको थिएँ । सुशीलाभन्दा तलका न्यायाधीश तर्कराज भट्टले भनेछन्– ‘जेपीको फैसलामा म बलिको बोको हुँदै छु । मसँग फैसलाको प्रतीक्षा गर्नुबाहेक उपाय थिएन ।’
सम्पत्तिको मूल्यांकनसम्बन्धी मुद्दा हो मेरो । तर, मूल्यांकन गर्ने बेलामा अदालतले मूल्य बढाएर गरिदियो । मेरो आम्दानीको स्रोतलाई स्वीकार गरिदिएन । पैतृक सम्पत्तिलाई समेत आम्दानीको स्रोत मानिदिएन । विभिन्न समयमा सरकारमा रहँदा सरकारी निकायबाट पाएको सुविधालाई आम्दानीमा समावेश गर्न मानेन । सरकारी कर्मचारीले पाउने सुविधासमेत मेरो हकमा स्वीकारिदिएन ।
अपराध गर्नै नपर्ने रहेछ, सजाय पाउन । कानुनै विपक्षमा छ भने निरपराध छु भनेर याचना गर्नुको अर्थ रहँदो रहेनछ । जेल पुगेपछि लाग्यो– राज्य जनतालाई सुरक्षा दिन मात्र हैन, फसाउने प्रपञ्च गर्न पनि जान्ने हुँदो रहेछ । मन दह्रो पारेर निर्णय गरेँ– ‘अब अनावश्यक सोचेर समय बिताउनुहुँदैन । समयको गतिसँगै आफूलाई अघि बढाउनुपर्छ । चुनौती सामना गर्नुपर्छ । जेलबाट बाहिर गएका दिन आफ्ना सबै पीडा जनतासमक्ष राख्नुपर्छ ।’ अहिले बाहिर आइसकियो । मलाई कुनै खेद, पश्चात्ताप छैन । तर नगरेको अभियोग भोग्नुपरेकामा दु:ख भने लाग्छ । तेह्र महिना जेल बसेँ । म जेल बसेको यो १९औं पटक हो । राजनीति गरेबापत ९ कक्षादेखि नै जेल जाने क्रम सुरु भएको थियो । पहिले जेल जाँदा लाग्थ्यो– ‘म विशिष्ट उद्देश्यप्राप्तिका लागि यहाँ आइपुगेको हुँ ।’ उति बेला जतिसुकै समस्या भए पनि दु:खानुभूति हुँदैनथ्यो, सहज रूपमा लिइन्थ्यो । प्रतिबद्धतासाथ आन्दोलनमा लागेबापत जेल पुग्नुमा अर्कैखाले सुखानुभूति थियो ।
पछिल्लोपटक मलाई भ्रष्टाचारी साबित गरेर जेल पुर्‍याइयो, त्यसमा चाहिँ खेद लाग्यो । जुन आरोप मलाई लगाइयो, हृदयको एक कुनामा पनि थिएन कि मैले त्यस्तो काम गरेको छु । कुनै गलत काम गरेबापत सजाय भोगेको अनुभूति अलिकति पनि थिएन । किनकि मेरो अन्तरात्मालाई थाहा थियो– मेलै नराम्रो केही गरेकै छुइनँ । त्यसैले सामान्य दैनिकी रह्यो, कैद अवधिभर । बिहान चाँडै उठ्थेँ । शौचालयको समस्या थियो । धेरै जनाले एउटै शौचालय प्रयोग गर्नुपर्ने भएकाले म सकेसम्म अरूभन्दा चाँडो उठ्थेँ । अध्ययन, योग, ध्यान गरेर समय बिताउँथेँ ।
सर्वोच्चको मनोमानी र स्वेच्छाचारिताले मविरुद्ध फैसला भएको हो । जेलमा पत्रिका पढ्दा, समाचार हेर्दा देख्थेँ– मप्रतिको कारबाहीले केही सन्तुष्ट थिए, कतिलाई सजाय नै अपुग लाग्दै थियो । कसैकसैको मन रमाइरहेको थियो । तर, मेरो हकमा यसपालिको जेलयात्रा निरुद्देश्य थियो । कुनै सफलता हासिल गर्नु थिएन । तर पनि जिम्मेवार नागरिक भएका नाताले अदालतको फैसलाबाट भाग्न सक्दैनथँे । फैसलाको सम्मान गरेँ । मैनबत्तीको उज्यालोमा जेलको अँध्यारो करिडोर छिचोल्दै गर्दा मनले बाटो देखाइरहेको थियो– अब भोलिका दिनमा आफ्ना भोगाइ र पीडा जनतामाझ लैजानुपर्छ । त्यसका लागि मानसिक रूपमा तयार भएर बस्नुपर्छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया