सरकारको असहयोगले कक्षा सञ्चालनमा समस्या

काठमाडौ, २९ वैशाख । सरकारले सहयोग नगर्दा सुविधानगरस्थित उत्प्रेरणा माध्यमिक विद्यालयलाई कक्षा सञ्चालन गर्न समस्या परेको छ । सो विद्यालय स्थानीय महिलाद्वारा सञ्चालन गरिएको हो ।
शिक्षा विभागसँग विद्यालय सञ्चालनका लागि आवश्यक शिक्षक माग गर्दा नदिएको कारण कक्षा सञ्चालनमा समस्या परेको विद्यालयकी प्रधानाध्यापक सुमित्रा मैनालीले बताइन् । विद्यालय व्यवस्थापन समितिले विभागका महानिर्देशक डा.लवदेव अवस्थीलाई सहयोगका लागि धेरै पटक भेटिसकेको छ ।
‘हामीले विद्यालयलाई सहयोग गर्नका लागि महानिर्देशकलाई भेट्न थालेको एक वर्ष भयो । सहयोग गर्छु भन्नु भएको छ’, उनले भनिन– ‘तर अझै केही गर्नु भएको छैन ।’ विभागले अहिलेसम्म विद्यालयलाई तीन लाख मात्र सहयोग गरेको छ ।
टोलका स्थानीय महिलाहरूले आपैँm रकम जम्मा गरेर विद्यालय सञ्चालन गरेका हुन् । सामुदायिक विद्यालय भए पनि विद्यार्थीबाट उठाउने शुल्कबाहेक अरु आम्दानी विद्यालयको केही छैन । ०६१ सालबाट प्राथमिक तह सुरु गरेको विद्यालयले ०६४ सालमा माध्यामिक तहको पढाइ सञ्चालन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गौरा उप्रेतीले सरकारले सहयोग नगरेका कारण कक्षा सञ्चालन गर्न गार्‍हो परिरहेको बताइन् । मासिक खर्च १ लाख ३० हजार रहेको उक्त विद्यालयले विद्यार्थीबाट ३ सयदेखि ५ सय रुपियाँ मासिक शुल्क लिँदै आएको छ ।
१४ देखि माथिका उमेरका महिलालाई मात्र अध्ययन गराउने उक्त विद्यालयले गृहणी र शिक्षाभन्दा टाढा रहेकालाई शिक्षा उपलब्ध गराउँदै आएको छ । अहिले सो विद्यालयमा शिक्षिकाले ४ देखि ६ हजार पारिश्रमिकमा अध्यापन गराइरहेका छन् ।

प्रतिक्रिया