गौरीशंकरमा यार्सा टिप्न युवाहरू लेकतिर

दोलखा, २९ वैशाख । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले यार्सागुम्बा टिप्न खुला गरेसँगै गाउँका युवाहरू लेकतिर लाग्ने क्रम बढेको छ । अघिल्लो वर्ष विद्यालय बन्द गरेर शिक्षक र विद्यार्थीसमेत यार्सागुम्बा टिप्न लेकतिर लागेका थिए ।
आयोजनाले यार्सा संकलनका लागि स्थानीयसँगको समन्वयमा नयाँ व्यवस्थापन गरी वैशाख १८ देखि असार मसान्तसम्मको लागि संरक्षण क्षेत्र खुला गरेको हो । संरक्षण क्षेत्रले यार्सा संकलनलाई व्यवस्थित गर्नका लागि कार्य दल र विधिसमेत तयार गरेको छ ।
संरक्षण क्षेत्र आयोजनाले बिगु संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष छिरिङवाङ्दे शेर्पाको संयोजकत्वमा एक यार्सा गुम्बा संकलन व्यवस्थापन उप–समितिसमेत गठन गरेको छ । उप–समितिको सिफारिसमा मात्र संकलित यार्साको छुटपुर्जी पाइने व्यवस्था गरिएको छ । संकलनकर्ताले आफ्नै गाविसको संरक्षण व्यवस्थापन समितिबाट संकलन पुर्जी लिनुपर्ने व्यवस्था गरेको आयोजना प्रमुख सत्यनारायण साहले बताए । संरक्षण क्षेत्र बाहिरका संकलनकर्ताका लागि भने जुनसुकै गाविसबाट समेत संकलन पुर्जी लिनसक्ने व्यवस्था गरिएको छ ।
यार्सागुम्बा संकलनका क्रममा कसैले हातहतियार लान नपाउने, खन्न नपाउने व्यवस्था गरिएको छ । ‘संकलन क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायसँगसमेत छलफल गरेका छौँ’ अध्यक्ष शेर्पाले भने, ‘संकलित यार्सा बजारसम्म पुर्‍याउन असुरक्षा महसुस भएमा व्यवसायीको अनुरोधमा पूर्ण सुरक्षा दिएर बजार पुर्‍याउने व्यवस्थासमेत मिलाइएको छ ।’
यार्सा संकलनका लागि संरक्षणभित्रका स्थानीयलाई एक हजार, जिल्ला भित्रका लागि दुई हजार र जिल्ला बाहिरका लागि तीन हजार प्रवेश शुल्क निर्धारण गरेको लामाबगर संरक्षण व्यवस्थापन समितिका सचिव यादव आचार्यले बताए । एकपटक संकलन पुर्जी लिएपछि वर्षभरी काम गर्ने उनले बताए । गत वर्ष दोलखाबाट पाँच करोडभन्दा बढीको यार्सा निकासी भएको थियो ।
गतवर्ष दोलखाको लामाबगरको सेतीदेवी वन क्षेत्रको किप्च्याङ, गाबुखोला, चोङनाङ, देब्लीगेश्वर वन क्षेत्रको थोपाडाँडा, मापार्दनमा यार्सा भेटिएको थियो । त्यसैगरी चिलंखा, आलम्पू, गौरीशंकर, श्यामा, चंखू, मार्बूलगायतका गाविसका माथिल्लो भेगमा यार्सा भेटिएको थियो । ‘विगतमा फाट्टफुट्ट भेटिन्थ्यो, धेरैलाई थाहा थिएन, वास्ता हुँदैनथ्यो’, उनले भने ‘बढी पाइयो, यसपाली पनि धेरै लार्भा देखिएकाले यार्सा बढी पाउने आशा छ ।’

प्रतिक्रिया