गरिब घरपरिवार पहिचान हुने

खोटाङ, २९ वैशाख । खोटाङमा आजदेखि गरिब घरपरिवार पहिचानको काम सुरु हुँदै छ । जिल्लामा बसोबास गर्ने पिछडिएका तथा विपन्न घरपरिवार पहिचान गर्दै राज्यको सेवा तथा सुविधा जनस्तरसम्म पुर्‍याउने उद्देश्यले गरिब घरपरिवार पहिचानको काम सुरु गर्न लागिएको हो । जिल्लाका ७६ वटै गाविसका गरिब घरपरिवार पहिचानका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला विकास समिति खोटाङका योजना अनुगमन तथा प्रशासकीय अधिकृत हरिप्रसाद गुरागाईंले जानकारी दिए ।
त्यसका लागि ८० जना गणक तथा ११ जना सुपरीवेक्षकलाई परिचालन गर्न लागिएको उहाँले बताउनुभयो । सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला विकास समितिले सुरु गर्ने गरिब घरपरिवार पहिचानका काम आगामी जेठ २५ गतेसम्म जारी रहने जिल्ला विकास समितिले जनाएको छ ।  गणकहरूले संकलन गरेका घरपरिवारको विवरणलाई कम्प्युटराइज गरिने र मापदण्डका आधारमा आगामी भदौ १ गतेदेखि गरिब घरपरिवारलाई परिचय वितरणको काम सुरु गरिनेछ ।
गणकमार्फत संकलन गरिएको तथ्यांकका आधारमा सर्वसाधारणलाई अति, मध्यम तथा गरिब गरी तीन वर्गमा विभाजन गर्दै सोही आधारमा परिचयपत्र वितरण गरिने गुरागाईंले जानकारी दिनुभयो । पहिलो चरणमा मुलुकको २५ जिल्लामा सञ्चालन भएको कार्यक्रम पूर्वको खोटाङ, ओखलढुंगा र सिरहामा एकसाथ सञ्चालन गर्न लागिएको हो ।

प्रतिक्रिया