काठमाडौं : दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको १४औँ वार्षिकोत्सवका अवसरमा चारजना वरिष्ठ वाङ्मयसेवी सम्मानित भएका छन् । वयोवृद्ध साहित्यकार श्यामप्रसाद र प्राडा कुमारबहादुर जोशीलाई दायित्व वाङ्मय विशिष्ट सम्मान, कवि मोहन दुवाललाई दायित्व वाङ्मय सम्मान र व्यंग्यकार नरेन्द्रराज पौडेललाई हरिकला–गुणाकर दायित्व रचना पुरस्कार प्रदान गरिएको हो । पौडेललाई प्रतिष्ठानको द्वैमासिक साहित्यिक प्रकाशन ‘दायित्व’ मा वर्षभरि प्रकाशित रचनामध्ये उत्कृष्ट ठहरिएको रचनालाई दिइने सम्मानका साथै नगद दस हजार रुपियाँ पनि प्रदान गरिएको हो ।
संस्कृतिविद् तथा साहित्यकार सत्यमोहन जोशीको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभाध्यक्षतामा सम्पन्न झन्डै अढाइ घन्टा लामो कार्यक्रममा प्राडा जयराज पन्त, प्रा. गोपीकृष्ण शर्मा, प्रा. रामप्रसाद दाहाल, सल्लाहकार ठाकुर शर्मा भण्डारी, संस्थाकी संरक्षक भद्रकुमारी घले, उपाध्यक्ष यादव भट्टराईलगायत सम्मानित हुने सबै स्रष्टाले सम्बोधन गरेका थिए ।
सोही अवसरमा रामप्रसाद पन्तको धार्मिक यात्रा कृति ‘आस्थाको सरोवर’ तथा ठाकुर शर्मा भण्डारी लिखित दुई कृति क्रमश: कवितासंग्रह ‘शब्दनाद’ र समीक्षा संग्रह ‘साहित्ययात्राका पदचाप’ का साथै पत्रिका ‘दायित्व’को चैत–वैशाख २०७० नयाँ अंकसमेतको विमोचन गरिएको थियो । (सौस)
प्रतिक्रिया