साइकल सम्झना

Dinman-gurchhanबा रिसाउनुभएछ ।
कोठामा म गृहकार्य गर्दै थिएँ । भान्साबाटै कराउँदै आउनुभयो । उहाँको गर्जनसमान आवाजले म थर्कमान भइसकेको थिएँ । लगलग काँपेको मेरो शरीर म आफैँले सम्हाल्न सकिनँ । म थुरथुर थिएँ । बा गर्जिनुभयो, ‘तैँले यो के गरिस् । साइकलको पांग्राभरि दिसा लाएर आइस् । छ्याछ्या त्यो फोहोर घरसम्म ल्याइस् हैन ?’ कराउँदै मसम्म आइपुग्नु भयो ।
उहाँको हात नै उठिसकेको रहेछ । म रन्थनिएँ । मेरा ढाडमा ठूलै आवाजकासाथ मुड्की बज्रिएको थियो । लौ ढाडै सेकियो । आमा रोक्न आइपुग्नुभयो । उहाँ बोल्नुभयो, ‘भैगो नि त † यसले जानेर यसो गरेन त होला ।’
छोरो जोगाउन सक्दो प्रयास गर्नुभयो ।
हात हाल्नचाहिँ पाउनुभएन अब । तर, बा कराइरहनुभयो ।
मेरो मनचाहिँ साह्रो दुख्यो । साइकलमा फोहोर लाग्यो भन्दैमा मलाई तथानाम भनेको मन परेन । चित्त दुखिहाल्यो । नरमाइलो पो लाग्यो । बा कराउन छाडेको होइन । मेरा कान टाठा थिए । उहाँको रिसमा म परेँ ।
‘त्यति जाबोको लागि यति धेरै नकराउनुस् । अरूले चाहिँ चलाउँदा हुने, मैले चलाउन नहुने ?’ मेरो प्रतिकार थियो ।
लौ बा झन् आगो हुनुभो । फेरि झम्टिँदै आइपुगे । अब भने म तर्सिएँ । मास्टरी स्वभावका बासँग किन मैले जवाफ फर्काएँ । मनमा थकथकी लाग्यो । कुटाइ खाने डरले म कोठाबाट बाहिरिएछु । आँगनमा म थिएँ । झम्टिदैँ आउनुभो ।
म अलि पर भागेँ ।
‘तँलाई गधा, बाउसँग बोल्ने तेरो सोमत यही हो । निस्की हाल ।’ बा झन् कराउन थाल्नुभयो । रिसको झोकमा घरबाटै निस्कीसम्म भन्नु भएको थियो । आमा बोल्नुभयो, ‘किन कराइराख्नु भएको  ‘चुप लाग्नुस् ।’ तर बाको रिस शान्त भएन । अहँ हुँदै भएन ।
म घर छोडेर बाहिरिएँ । मलंगवाको सुनसान सडकमा थिएँ । एक्लो म छु र मसँग छ मेरो रोइरहेको मन । हे भगवान् सडक पनि कति अन्धकारमय, म आफैँसँग फतफताउँछु । अँध्यारोमै एकसुरले हिँडिरहेँ ।
०००
साइकल भर्खरै किनिएको नयाँ थियो । त्यसमाथि मेरो रहरको साइकल । साइकल भित्रिएदेखि हामीमाझ खुसियाली छाएको थियो । जसको सीमा थिएन ।
‘हाम्रो घरमा साइकल आयो ।’ मैले खुसी हुँदै धेरैलाई भनेहुँला ।
साइकल आँखामा टाँसियो । छोयो धेरैपल्ट । पहिलो दिन बित्यो । साइकल अरूले चलाएको देखेरै रहर लाग्ने । भोलिपल्ट बिहानै आँगनमा साइकल देखियो । चलाउने कत्रो रहर थियो । गएर छोएँ । चलाऊँ चलाऊँ भएर आयो । चलाउने पो कसरी ? अहँ आए पो । कहिले चलाएको भए पो । थचक्क बसेँ, आँखा अघिल्तिर साइकलले बोलाए जस्तो लाग्यो । साइकल चढेँ, सके पो । मभन्दा अग्लो रहेछ । अब कसरी चलाउने ? आफैँलाई सोधेँ । उत्तर केही थिएन । म चुपचाप साइकल हेर्न थालेँ । बिहान त्यसै बित्यो ।
बा अफिस जाँदा साइकल लिएर जानुभयो ।
स्कुलबाट फर्किनासाथ आँगनमा हेरेँ, अहँ त्यहाँ शून्यता मात्रै थियो । अरू केही देखिनँ । खाजा खाने समयमा आमालाई सोधेँ, ‘बा कतिबेला आउनुहुन्छ ?’ ‘तेरा बा आउने बेला भो ।’ आमाको जवाफ थियो । म खुसी भएको मलाई थाहा थियो । गृहकार्य गरुन्जेल आँखा आँगनमै पुग्थे । मन राम्रोसित पढाइमा गएन ।
बा साइकलको घन्टी बजाउँदै आउनुभयो । म हुर्रिदै बाहिरिएँ । ‘बा ‘म साइकल चलाउँछु ।’ भनिहालेँ । उहाँ साइकलबाट सामान झार्दै हुनुहुन्थ्यो । खै केके ल्याउनु भा’थ्यो, त्यहाँ मेरो ध्यानै गएन । बाको आवाज आयो, ‘ल,  ‘सक्छस् त ?’
‘हाकु’म न ।’ याचनापूर्ण आँखाले बालाई हेरेँ । लग भन्ने इसारामा हेर्नुभो । ‘राम्रोसँग चला । लड्लास् ।’ सम्झाउनुभयो । म साइकल डोर्‍याएर पर पुगिसकेको थिएँ । घरअगाडिको चौरमा पुगेँ ।  दुईतिरको पेडलमा खुट्टा हालेँ । साइकलको मेरुदण्ड भनिने डन्डीभित्रबाट खुट्टा छिराएर । सानो फुच्चेले यसरी नै हो चलाउने । यसै गरेँ । पेडलमा खुट्टा त परे, तर साइकल चलाउनै सकिनँ । ज्या साइकल त्यहीँ लड्यो । म नि लडेँ ।
दुखेको शरीरले साइकल उठाएँ । साइकल धन्न केही भएनछ । घुँडा धसारिएछ । सार्‍है पो दुख्यो । पुग्यो आजलाई, साइकल विस्तारै डोर्‍याउँदै घर पुगेँ ।
सिक्न पनि गाह्रो काम रहेछ । सपनामा पनि सिकेको देख्थेँ । कतिपटक लडेको देख्थेँ । लडियो धेरैपटक । लडेरै सिकियो । विस्तारै सजिलो भयो । चलाउन पो जानियो ।
दिनहुँ त्यही काम हुन थाल्यो ।
०००
रातमा म एक्लै भौँतारिएको छु । मलंगवाको सडकमा म एक्लो छु ।
रातको यात्रा त्यो पनि एक्लो । डरको सीमा छैन । कुकुर भुकिरहेका छन् एकोहोरो ।
मुटु ढक्क फुलेर आयो । रक्त सञ्चार बन्द भएको जस्तै भयो । गोडा लगलग काँपिरहेका थिए । म यसबेला मसानघाटको नजिकै हुँदै हिँडिरहेको रहेछु । थाहा पाएर होस गुमाएको छु । नजिकै थियो, मुर्दाहरू जमिनमुनि गाडिएको ठाउँ । माटाका ढिस्काझैँ अग्ला थुप्राहरू देखिन्थे । हो त्यहीँभित्र छ कतिपयका भूतपूर्व शरीर । वास्तवमा यो मलंगवाको मुुसलमानहरूको चिहानघाट थियो । नजिकै ठिँग उभिएको थियो विशाल भवन ।
आफूले पढेको स्कुल नजिकै रहेको बाटो हिँड्दै गर्दा म झुक्किएर यता आइपुगेको थिएँ ।
०००
घर नजिकै पुगेँ । आँट भने कतातिर लाग्यो । म टक्क अडिएँ । बाको रिस मरेको छैन होला, मेरो मनले मलाई अझैँ डरको भूमरीमा अल्झायो ।
बा भूतपूर्व शिक्षक हुनुहुन्थ्यो । उहाँमा कडापन बाँकी नै थियो । दुईवर्ष पहाडतिरै स्कुलमा प्रधानाध्यापक भएर काम गर्नु भएको थियो । तराईमा हुर्केका पहाडमा टिक्न सक्नुभएन । त्यसमाथि बाआमाका एक्लो छोरो । घरले तान्यो तराईतिर । मैले सुनेको थिएँ, बाले आफ्ना भान्जाहरूलाई नपढेकोमा खुब कुट्थे । नांगो शरीर भुइँमा घिसार्नुहुन्थ्यो । कडा मिजासका बाले भान्जाहरूलाई कडा मिहिनेत सिकाउनु भएको थियो । र, त अहिले अब्बल छन्, मैले थाहा पाएसम्म ।
म झन् संकोचित मनले घर जान सकिनँ । घरदेखि बीस हात पर थियो बाथरुम । इँटको पर्खालले बारेको धारा र बाथरुम । मेरो आँखाअघि नै थियो । म लुसुक्क पसेँ । पर्खालको आडमा अडेसिएर बसेँ । मलाई लाग्यो आजको रात यहीँ काट्नेछु ।
बाहिर आमा कराएको सुनेँ, ‘यो अन्धकारमा कता गयो होला ?’ आमाको आवाजमा ममता थियो । रुँनुभएको हो कि भन्ने लाग्यो । गएर ‘म यहाँ छु’ भनु कि लागेको थियो तर अर्काे मनले मानेन । डरले नै बढी स्थान पायो । म चुपचाप बसेँ ।
‘हुर्किसकेको छोरोलाई किन कराउनु ? हरे π अहिले त्यो भोकभोकै कतातिर लाग्यो होला ?’ आमा बालाई कराउँदै हुनुहुन्थ्यो । बा लाइट बोकेर यताउता खोज्न लाग्नुभयो । बाटोतिर पुग्नुभयो । म यहाँ भित्तामा अडेस लागेर बसिरहेँ । आमाले भनेको सुनेपछि भने मलाई असाध्यै भोक जागेर आयो । तर, म चुपचाप बस्न विवश थिएँ ।
‘यो अँध्यारोमा धेरै टाढा जाँदैन । मलाई थाहा छ । यो यतै होला ।’ टर्चको लाइट बाथरुमतिरै बढ्यो । उज्यालोमा म त्रसित भएको मबाहेक कसैले थाहा पाएनन् । बाको आवाजसँगै पदचाप पनि मतिरै बढेको थाहा पाएँ । लगलग काँपेको शरीर सम्हाल्न सकिनँ ।
‘यो यहाँ पो रै’छ ।’ बाआमा मेरा अघिल्तिर थिए । मेरो रुन्चे अनुहारले केही बोल्नै सकिनँ ।
‘घर हिँड्’ आमाले मायालु पारा देखाइन् ।
‘खोज्दाखोज्दा ज्यानै लियो । भोक लागेको छ हिँड्, अब खानुपर्छ ।’ बा पनि सरल हुनुभएको थियो । उनको आवाजमा पनि एकप्रकारको ममता झल्किन्थ्यो । सबैजना भोकै रहेछन्, मैले बुझिहालेँ । मेरो कारणले सबै भोकै होलान्, यति चाहिँ बुझ्न मलाई गाह्रो भएनँ । म सुँकसँुकको मसिनो आवाजमा आमाको पछि लागेँ ।
त्यसपछि साइकलको निहुँमा बाले कहिल्यै कराउनुभएन । म साइकलमा निस्फिक्री डुल्थेँ साथीहरूसित ।

प्रतिक्रिया