चन्देश्वर गुरु

Padam-Gautamजीवनमा हजारौँ मानिस भेटिन्छन् तर एकजना, मात्र एकजना असल र अद्भुत मानिस भेटियो भने जीवन फेरिन्छ, सपनाहरू फेरिन्छन्, हिँड्ने बाटो र जीवनशैली फेरिन्छ । त्यो मान्छे प्रेमी, असल गुरु वा मित्रको रूपमा पनि हुनसक्छ । कुनै मोडमा, बाटो वा घुम्तीमा भेटियोस् कि जीवन र सपनाहरू एकदमै बदलिन्छन् । यस्तै भएको छ मेरो जीवनमा पनि ।
केही महिनाअघि नेपाली राजनीतिका फरक धारका हस्ती रामराजाप्रसाद सिंहको निधन हुँदा मैले म पदम गौतमलाई परिवर्तन गराउने चन्देश्वरप्रसाद सिंहलाई फेरि सम्झिएँ । केही वर्षयता हरेक गुरुपूर्णिमाका दिन म उनलाई सम्झने गर्छु । तर, वर्षौंयता मेरा अनौपचारिक शिक्षकसँग मेरो भेट नभएको मात्र होइन, उनीबारे मलाई कुनै जानकारीसमेत छैन । करिब तीन वर्षअघि अनुवादक कवि शैलेन्द्रकुमार सिंहसँगको भेटमा उनी पनि चन्देश्वरकै गाउँले भएकाले मैले उनको सन्दर्भ निकालेको थिएँ । तर, उनले चिन्न सकेनन् । मैले चन्देश्वरबारे आजसम्म सोधेकाहरूको सूची निकै लामो नै छ ।
पच्चीस वर्षअघि अहिलेजस्तो डाइनियाँको बाँसझ्याङको बाटो हिँड्दा कुनै डर हुँदैनथ्यो । हाम्रो घरबाट औषधि वा सामान्य किनमेलका लागि जानुपर्ने रंगेली पुग्न यो ठाउँमा ठीक आधा हुन्थ्यो । एक  दिन म रंगेली जाँदै गर्दा बाँसझ्याङ छेउ पुगेपछि एउटा नौलो मान्छेले मलाई बोलाउँदै सोध्यो, ‘सौँठा जाने बाटो थाहा छ, तपार्इंलाई ?’ घरमा भाइ बहिनीबाहेक अरूको तपाईं सम्बोधनमा नपरेको मलाई त्यो मान्छेले गरेको सम्बोधनले अलिक अफ्ठेरोमा पारिरहेको थियो । मैले आफू आएकै छोटो बाटो देखाउँदै भने, ‘ऊ त्यहाँ पुगेर बक्राहा खोला तर्नुभयो भने अलिक छिटो पुग्नुहुन्छ ।’ मेरो परिचय मागेर ल त बाई भन्दै ऊ हिँड्यो पनि ।
अर्को साता हामी ९ कक्षामा पढ्ने विद्यार्थीको सानो टोली साप्ताहिक बुधबारे बजार घुमिरहेको थियो । हामीले बाक्ला लुगा लगाएका कारण त्यो जाडो महिना नै हुनुपर्छ भन्ने अहिले सम्झन्छु । एउटा मान्छेले मेरो र यादव (गतवर्ष चैतमा मारिएको पत्रकार यादव पौडेल)को नाम लिएर सोध्यो, ‘के छ तपाईंहरूको हालखबर ?’ यादव चिनेजस्तै गरेर छेउमै गएर बोल्यो । तर, मैले त्यो मान्छेलाई जतिपटक हेरे पनि चिन्न सकिनँ । मैले नचिनेको उसले थाहा पाइहालेछ । भन्यो, ‘अस्ति डाइनियाँ बजारमा बाटो सोध्ने मान्छेलाई तपाईंले नचिनेको ?’ मलाई केही अफ्ठ्यारो महसुस भयो । तर, उसले सामान्य रूपमा लिँदै फेरि भन्यो, ‘म यो ठाउँमा औलो उन्मूलनमा काम गर्न आएको, भिजिटर क्या, भिजिटर ।’ हामीघरका भित्ता कोर्दै हिँड्ने औलो उन्मूलनका कर्मचारीलाई भिजिटर भन्थ्यौँ । झोडा फँडानी गरेरपछि बसाइएको बस्ती भएको हुनाले निकै पछिसम्म त्यस क्षेत्रमा औलोको निगरानीमा राज्यले विशेष ध्यान पुर्‍याएको थियो । मलाई भने भिजिटर भन्नेबित्तिकै उसले शंकास्पद बिरामीको रक्त संकलनका लागि बोक्ने सिसाको लोभ लाग्न थाल्यो । सिसाका ससाना तीनवटा टुक्रा जोडेर त्रिभुज आकारको बनाएपछि त्यसमा हामी जादु देख्थ्यौँ । त्यसरी बनाएर एकापट्टिको प्वाल टालेर हामी मकैका दाना हाल्थ्यौँ । दुई दाना मकै हाल्दा तीनवटा सिसाबाट फर्किएको प्रतिबिम्बका कारण ६ वटा मकै देख्न सकिन्थ्यो । कक्षा ७ मा विज्ञान पढाउँदा प्रेम सरले कक्षामै बनाएर देखाएको यो अनौठो यन्त्र मलाई मेरै हातमा होस्, सधैँ देख्न र हेर्न पाउँm भन्ने लागिरह्यो । तर, त्यसका लागि सिसाको जरुरी थियो र सिसा भिजिटरसँग मात्र हुन्थ्यो । अब बल्ल मलाई मेरो भाग्य खुलेजस्तो लाग्न थाल्यो । म एउटा भिजिटरलाई सोझै चिन्ने र उसैले मलाई बोलाउने हैसियतमा पुगिसकेको थिएँ ।
यादव र म अरू साथीहरूलाई छाडेर भिजिटरको कोठामा गयौँ । ऊ सौँठाको बीच बजारमा पशुस्वास्थ्य चौकी रहेको हेडसरको घरमा बस्थ्यो । उसको कोठा पुग्नेबित्तिकै मैले सिसाबारे घुमाएर सोध्न थालेँ । सरकारले महिनामा कतिवटा दिन्छ, कतिवटा फुट्छन्, फुटेपछि कारबाही हुन्छ कि हुँदैन ? आदिआदि । उसले मेरो आशय नबुझ्ने कुरै भएन । हामी दुवैलाई तीनतीनवटा सिसा दिएर पठायो ।  हिँड्ने बेलासम्ममा उसले हामीलाई चिया र जुली बिस्कुट मात्र खुवाएन, अब हाम्रो साथी भएकोसमेत बतायो । हामी दंग पर्दै त्यहाँबाट चाँडै भेट्ने वाचासहित सिसा बोकेर हिँड्यौँ ।
अब हामी, खासगरी मचाहीँ पढाइभन्दा बढी उसको संगतमा समय बिताउन थालेको थिएँ । सुगम जिल्लाको दुर्गम क्षेत्रमा हुर्किएका हामीजस्ता किशोरका लागि साथीसँगै ऊ एउटा असल शिक्षक पनि भएको थियो । स्कुलबाट फर्किएर वा छुट्टीको दिनमा ऊ मैले दैनिकजसो नै भेट्ने मान्छे भइसकेको थियो । नयाँ मान्छेसँग परिचय कसरी गर्ने, उसबारे केके सोध्न मिल्ने र के नमिल्ने मलाई केही थाहा थिएन त्यो बेलासम्म । ‘ए कुमार, तेरो भिजिटर साथीको नाम के अरे ?’ घरमा आमाले उसकाबारे सोधेपछि मात्रै मलाई उसको नामसमेत थाहा नभएको हेक्का भयो । अब यो मान्छे नाम सोध्दा पनि रिसाउँदैन होला भन्ने मलाई लागिसकेको थियो । रिसाए पनि रिसाओस् भन्ने सोच्दै भोलिपल्ट म नाम सोध्ने हिसाबले उसलाई भेट्न गएँ । महात्मा गान्धीबारे लेखिएको एउटा किताब पढ्दै थियो ऊ । अहिले धमिलो सम्झनाअनुसार यो किताब गोड्सेको थियो । मैले यसो हेरेँ– नाम लेखिएको रहेछ, चन्देश्वरप्रसाद सिंह, पवनगामाकट्टी, सप्तरी । अब मैले उसको नाम, ठेगाना सोधिरहनु परेन । करिब दुई वर्षको उठबसमा उसले मलाई गान्धी, माक्र्स, माओ, विपी, नेहरू, महेन्द्रजस्ता मान्छेको जीवन र घटनाबारे लेखिएका किताब पढ्न दियो । मलाई ३ नम्बर बजारबाट हप्तामा २ रूपियाँ भाडामा ल्याएर पढ्ने गरेका वेदप्रकाश र ओमप्रकाशहरूका जासुसी उपन्यास पढ्न उसले बन्देज लगायो । ऊ भन्ने गथ्र्यो, ‘यस्ता किताब पढुन्जेल मात्रै मजा हो, तपाईंले यी किताब पढ्ने बानी छाड्नुपर्छ ।’
चन्देश्वरसँगको त्यो बेलाको  संगतको फल भन्नुपर्छ अहिले पनि नेपालीपछिको मेरो दोस्रो भाषा मैथिली हो । हिन्दी र एक हदसम्म अंग्रेजी पनि उसकै संगतले सुधार्ने मौका पाएको थिएँ । त्यति मात्र होइन, उसको कोठामा कोही पाहुना आए भने ऊ मलाई घरमै लिन आउँथ्यो, साइकल चढेर । बुबा, आमा वा हजुरआमा जो हुनुहुन्छ, उहाँहरूको स्वीकृति लिएर मलाई लैजान्थ्यो । परिचय गराउँदा मलाई मेरो साथी भन्थ्यो र उनीहरूकै हाराहारीमा राख्थ्यो । तर, भेट्न आउने मान्छेसँग उसले खास कुरा गर्दा चाहिँ म र मेरा साथीहरू छुटेपछि मात्रै गथ्र्यो । हरेकपटक नयाँ मान्छेसँग कुराकानी गरेपछिको भेटमा उसले मसँग मुलुक, भारत वा वर्तमान विश्वबारे केही न केही नयाँ कुरा सुनाएकै हुन्थ्यो । हिन्दी, अंग्रेजी र केही नेपाली पत्रिकाको चाङ नै हुन्थ्यो उसको कोठामा । भेट्ने मान्छे नआएको बेला महिनामा एकपल्ट जति विराटनगर गएर उसले यी पत्रिका ल्याउँथ्यो । मलाई पत्रिकाको समाचार कुनै पढ्न नै लगाउँथ्यो भने कुनै चाहिँ उसैले सार भनेर सुनाउने गथ्र्यो । गाउँसमाजका हरेक व्यक्ति र परिवारको स्थिति, अवस्था, उनीहरूको इमान्दारी वा बेइमानी सबै कुराको जानकार थियो ऊ । सार्वजनिक स्थलमा केही भन्दैनथ्यो । तर, हामीलाई गाउँका ठूलाबडा मानिने (प्रधानपञ्च, हेडसर, खेमनाथ सर, मिलवाला बा, मेदनी मिश्र आदि) मान्छेप्रति वस्तुनिष्ठ ढंगले हेर्ने तरिका सिकाएको थियो उसले । कसैबारे बोल्नुपर्दा त्यो मान्छेको शिक्षा, परिवार, बानी राजनीतिक चेतना, आर्थिक स्थिति आदिबारे विश्लेषण गर्दै भन्थ्यो, ‘यसकारण त्यो मान्छे यस्तो भएको हो ।’ आज सोच्छु, त्यो होचोहोचो कदको हँसिलो र करिब ४० वर्षे अविवाहित त्यो भलादमी मान्छेसँग संगत नभएको भए अहिले मेरो चेतना स्तर कस्तो हुन्थ्यो होला ?
एसएलसी सकेपछि म काकासँगै बसेर पढ्न काठमाडौं आउने तयारीमा थिएँ । चन्देश्वर पनि सौँठा छाड्ने तयारीमा रहेछ, सरुवाका कारण । हामी दुवै करिब एक साताको अन्तरमा फरकफरक परिवेश र कारण गाउँ छाड्दै थियौँ । त्योबेला उसले मलाई जीवनमा गर्न नहुने र गर्नैपर्ने केही कुराहरू अर्ती शैलीमा सिकायो । आज पनि उसले सिकाएका केही सन्दर्भ दिमागमा उही रूपमा ताजै छन् । म भोलिपल्ट आफन्तको घर गौरादह गएर त्यतैबाट केही दिनपछि काठमाडौं आउने गरी तयारी गरिरहेको थिएँ । चन्देश्वर मेरो घरमा टुप्लुक्क आइपुग्यो । म भोलि जाने, उचाहिँ फेरि एकपल्ट आउने गरी आज विराटनगर हिँडेको रहेछ । घरदेखि केही पर कदमको रूखनेर लगेर मलाई अहिलेसम्म नभनेको कुरा उसले सुटुक्क भन्यो, ‘काठमाडौं गएपछि वामपन्थी विद्यार्थी राजनीतिमा लाग्नोस्, अब यो व्यवस्था ढल्छ ।’ त्यही समयमा उसले कांग्रेस र कम्युनिस्ट इतिहासमै एक भएको, चीनबाहेक पूरै संसारले आन्दोलनकारीको पक्ष लिएको र आफ्नै कारण युरोपको समाजवाद पनि ढल्न थालेको विश्लेषण गर्‍यो । त्यतिबेला थोरै बुझे पनि मैले काठमाडौं छिरेपछि यो विषय पूरै बुझेको थिएँ । अन्तिममा चन्देश्वरले भन्यो, ‘सरुवा भएको हैन, मैले जागिर छाड्न लागेको हुँ ।’ मलाई गालामा म्वाइँ खाएर बाइ भन्दै ऊ हिँड्यो । म कदमको छायाँबाट पछि हट्दै घरतिर लागेँ ।
काठमाडौं आएपछि राजनीति, साहित्यलगायतका विषयमा रुचि बढ्यो । प्रजातन्त्र आएपछि मेरो मस्तिष्कमा चेतनाको बीउ रोप्ने चन्देश्वरको ठेगानामा मैले लगातार तीनवटा चिठ्ठी लेखेँ तर अहँ जवाफ आएन । अर्को वर्ष दशैँमा घर जाँदा पशु स्वास्थ्यचौकीमा काम गर्ने पण्डितजीलाई चन्देश्वरबारे सोधौँला भन्ने सोच बनाएँ । तर, दशैँदेखि हिँडेका कर्मचारीहरू  तिहार र अझ मधेसीमूलकाहरू त छठ सकेर मात्र काममा आउने परम्परा मैले सम्झिएकै रहेनछु ।
अहिले पनि मलाई चन्देश्वरले जति जीवनमा कसैले केही सिकाएजस्तो लाग्दैन । त्यसपछि ऊ कहाँ गयो र के भयो ? अहँ, उसका बारे जान्ने कोही भेटेको छैन । हामी छुट्टिँदा अहिलेजस्तो जमाना भए सायद सामाजिक सन्जालहरूले पनि हाम्रो भेट गराउँथे होलान् । त्यसको केही वर्षपछि ढलेको कदमको रूख र चन्देश्वरले मेरो गालामा खाएको म्वाइँ मात्र मेरो स्मरणमा छन् ।

प्रतिक्रिया