साइलेन्स मोडमा

Seemu-Shresthaटेबलमा भर्खर आइपुगेको कफीको उड्दै गरेको वाफजस्तै

उड्न तम्तयार यौवनमा पूरा नभएका आंकाक्षा
मनबाट आँखासम्म पानी बनेर तैरिएको बेला वाफिन बाँकी छ ।

ओल्लाको एकएक कप क्यापुचिनो
विगतसँग जोडिएका संवादहरू
कुनै बखतको उसको एकतर्फी प्रेमी
आफ्नो साथीको प्रेमी बनेर
एकपटक फेरि
अर्को एउटा  परिचय लिएर
साथीहरूसँग मिसिन आइपुगेको छ ।
जसले जन्मदिनमा दिएको उपहार
गुलाफलाई जाबो ठानेर
कुनै एक समयमा
ग्रीन कार्डको सपना देखेकी थिई ।

टाउकोमाथिको घाम चस्मा
लीको जिन्स, पर्सको क्रेडिट कार्ड बिर्सेर
मात्र सम्झदै छ
विदेशमा कामदार लोग्नेले
सधँै जस्तो नसम्झने उसको जन्मदिन
त्यही एकदिनमा अड्केको सम्पूर्ण खुसी
र, उसले जाबो मानेको रातो गुलाफ  ।

कलेजका दिनहरूमा एउटै प्लेटमा सेयर गरे पनि
अब,
अहम् सँगसँगै मन जस्तै प्लेट पनि सेपरेट भएको छ र
साथी जस्तो लाग्ने साथी पनि ।

टेबलको मेनु र टाइम जोनभन्दा एडभान्स
टिप्समा छाडेको किप द चेन्ज
त्यसैसँग देखाउन चाहेको वर्तमान
आफूभित्र मौन बसेको छ तर उद्वेलित
लुकाउन चाहेको फ्लासव्याक जस्तो जिन्दगी
सबथोक भएर पनि धेरैथोक नभएजस्तो ।

बिदाइको आधुनिक औपचारिकतामा
चिसा अँगाला, हल्लिरहेका हातहरू
छाड्दै मोडिएपछि  उसले
एउटा प्रश्न आफँैसित राख्छ
अबदेखि जूनमा त्यो प्रेमीले
देख्ने अनुहार कसको होला
उसको या साथीको ?

प्रतिक्रिया