तोदाले खिचेको नयाँ तस्बिर

Ramsharan-Bajagain-dai‘उताबाट आमा रुँदै भन्न थालिन्, पार्वती अहिले नेपाल नफर्की ।…. त्यताबाट कमाएर मेरो खातामा पठाएको जम्मै पैसा तेरा दाइलाई सापट दिएकी थिएँ ।… उसले सबै पैसा ढुकुटीमा सखाप पारेछ ।… तैँले यतिका वर्ष इजरायल बसेर कमाएको पैसा एकै झट्कामा सकियो छोरी । मलाई माफ गरिदे ।’ उमा सुवेदीको उपन्यास तोदाका करिब करिब अन्तिम वाक्य यिनै हुन् र उपन्यासको केन्द्रीय मर्म पनि । इजरायलको बेन्गोरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्कंदै गर्दा आमाको फोनबाट उपन्यासकी मुख्य पात्र पार्वती जे सुन्दै छे, त्यसले भन्छ– नेपाली समाजमा जन्म र संस्कारगत सम्बन्धका रेखाहरू मेटिँदै जान थालेका छन् र मुद्रा बजारले सिर्जना गरेका सम्बन्धका रेखाहरू धारिला र खिरिला बन्दै छन् । पहिले पारिवारिक आर्थिक भार उचाल्ने ठेकेदार जन्मैदेखि छोरालाई मात्र ठानिन्थ्यो र असमथ्र्यतामा उसलाई नामर्द उपमा दिइन्थ्यो । समाजका परम्परा बदिलिँदै गएपछि छोरीहरू पनि आर्थिक भार उचाल्न  विदेशिनसमेत थाले र उनीहरूले पराइ भूमिमा कमाएर पठाएको पैसा मर्दहरूले ढुकुटी खेलेर सकाउन थालेका छन् । समाजको बदलिँदो यो चित्र तोदाले प्रस्तुत गरेको छ र तोदाले व्यक्त गरेको नयाँ कथा पनि यही हो । यसप्रति तोदालाई बधाइ भन्नै पर्छ ।
सफलता भनूँ वा असफलता एउटा किताबले भन्दा एउटा जीवनले सिकाउन सक्छ । उपन्यासकी लेखिका उमा सुवेदी आफैँ रोजागरीका सिलसिलामा इजरायल बसेर फर्केकी हुन् र उनले उपन्यासमा दोस्रो विश्वयुद्धमा हिटलरले थोपरेको हिंसाका सिकार वृद्धाहरूसँग साक्षात्कार गरेकी छिन् । युद्धको सिकार केटाकेटीमै भएका यहुदी वृद्धाहरूको जीवन र उनीहरूको मुर्छालाई पुस्तकमार्फत उमाले ल्याएकी छिन् यो उनको सफलता हो । अनि अर्काे कुरा, भूमि जुनसुकै होस् युद्धका दर्द र रंगहरू उस्तै हुनेरहेछन् र युद्धले टेकेको जमीनमा समान रूपमा बेचैनी र करुणाका सुस्केराहरू मात्रै फुल्दा रहेछन् । इजरायलमा ओइलिँदै गरेका वृद्धाहरू र नेपालमा भर्खर युद्ध भोगेर इजरायल पसेका नारीहरूको मनोविज्ञानमा त्यही एउटै रंग फेला परेको छ तोदामा ।
कथाकी मूलपात्र पार्वती नेपालमा पनि युद्धले परिवार जर्जर भएपछि जीवनबाट खुब थाक्छे । बाबु सैनिक कारबाहीको सिकार हुन्छन् र भाइ परिवर्तनका लागि युद्धमा लागेकै बेला मारिइन्छ । व्यथित पार्वती रोजगारीका लागि राजधानी पस्छे र त्यहाँ पनि रोजगारीको प्रलोभन देखाएर गाउँकै ‘भलादमी’बाट बलात्कृत हुन्छे । मेहेनतबाट सुख खोज्न ऊ इजरायल पुग्छे र त्यहाँ हिटलरको नरसंहार भोगेका यहुदी वृद्धाहरूको वेदनामय मानसिक विगतबाट उनीहरूलाई छुटकारा दिलाउन सेवा सुश्रुषा गर्छे । पार्वती पैसा पनि कमाउँछे । देशमा छँदा फक्रनै खोजेको प्रेमको प्रेमी समुन्द्र पार्वतीले उता पैसा कमाएपछि उसलाई प्रभावित गर्छ । नेपाल फर्केपछि बिहे गर्छु भन्छ र पार्वतीको कमाइ हात पार्छ । अनि ऊ अर्कैसँग जीवनसूत्रमा बाँधिन्छ । नेपाल फर्केर एक प्रहरी जवानसँग बिहे गरेपछि पार्वती कमाइको अर्काे खेप पैसा उसैलाई पठाउँछे । माओवादीको सशस्त्र कारबाहीका क्रममा उसको पुलिस पति मारिन्छ र पार्वतीकै खोटो भाग्यले ऊ मारिएको परिवारले ठहर गर्छ । पति मारिएपछि परिवारलाई सुम्पेको पैसाको हकदार पनि पार्वती हुन्न र फेरि ऊ इजरायल नै फर्केर तेस्रो खेप पैसा कमाउँछे, जो आमालाई पठाइएको हुन्छ र दाजुले ढुकुटी खेलेर सिध्याइदिन्छ । छोटकरीमा कथा यत्ति हो ।
कथा भित्रका उपकथाहरूले उपन्यासमा धेरै पात्रहरू जन्माएका छन् जसले विश्वयुद्धका भोक्ता इजरायली वृद्धाहरूको युद्धबाट त्रसित मनोविज्ञान, युद्धकै कारण जवानीमा प्रेम असफल पारिएका वृद्धाहरूको दमित यौन आकांक्षाको विस्फोट, घर छोडेर पराइ भूमिमा बसेका नेपाली नारीहरूको असन्तुलित यौन जीवन र आकांक्षाहरू प्रकट गरिदिएका छन् । नैसर्गिक जैविक आवश्यकतालाई निषेध गर्ने सामाजिक बन्धन र त्यसले आत्मसात गर्न नसकेको परिवर्तनबीचको खाडल पनि उपन्यासमा छ । यौनकाप्रति नेपाली र इजरायली समाजका फरक दृष्टिहरूको झल्को पनि उपन्यासमा छ । एकदिन पार्वतीकी मालिक्नी इनेसकी साथी जुलियतले पार्वतीलाई भनेकी हुन्छे, ‘तँलाई यौन चाहना हुँदैन ? तैँले आफ्नो योनीमा टेप टाँसेकी छेस् ? तेरो खाबेर तँलाई पर्खेर बसिरहेको छ ? त्यसो भए त्यो लोग्नेमान्छे होइन नपुंसक हो ।’ जुलियतले भनेका यी कुरा नेपाली समाजको यौन व्यवहारका ठीकविपरीत लाग्छ पार्वतीलाई र ऊ देख्छे साठी वर्ष उमेर काटिसकेकी मालिक्नी पनि किशोरी प्रेमिकाका झैँ ब्वाइफ्रेन्डसँग मौका पाउनासाथ अँगालो हालिहाल्छे । कोठाभित्र मालिक्नी र ब्वाइफ्रेन्डको आत्मघुलनको सित्कार पार्वती बाहिरै बसेर सुन्छे र अचम्मित हुन्छे ।
उपन्यासमा कमजोरीहरू पनि छन् । विभिन्न ठाउँमा सिर्जित केही पात्रहरू त्यसै बिलाएर जान्छन् र तिनीहरूको उपस्थितिको औचित्य लेखिकाले पुष्टि गर्न सकेकी छैनन् । ती पात्रहरूको उपादेयता गोठका बधुवा गाईलाई फुकाएर जंगल चर्न पठाएजस्तै वा दमित यौन उकुचहरू खोतल्न मात्र काम लागेको प्रतीत हुन्छ । इजारायल पुगेका नारीहरू खास अवसरमा भेला हुन्छन्, मनमा सधैँ लुकाएर राखेका यौनजन्य शब्दहरू प्रयोग गर्न मात्र ती पात्रहरू काम लागेका देखिन्छन् । लोग्ने र ब्वाइफ्रेन्डको फरक अनुभूतिमा उनीहरूबीच भएको संवादमा उपन्यासले एक ठाउँमा भनेको छ, ‘के गफ लगाउँछेस् ? तेरो लोग्नेको तुरी त्यतिन्जेलसम्म त जमेर छुर्पी भैसक्थ्यो होला ।’ तारुण्य अवस्थाको दैहिक आवश्यकतालाई उपन्यासले स्वाभाविक र सहज रूपमा उठाएको छ जो प्रसंशनीय छ । हिन यौन मानसिक विचलनबाट बच्न धेरै नेपाली नारी पात्रहरू ब्यागमा सेक्स टोय बोकेर हिँडेका हुन्छन् जो गर्नै पथ्र्याे ।
तोदाको नेपाली अर्थ धन्यवाद हो । विदेसिएका नेपाली नारीको जीवनमा आधारित, दोस्रो विश्वयुद्धको पीडा र नेपालमा १० वर्षसम्म चलेको माओवादी सशस्त्र युद्धको पीडालाई अन्तरघुलन गरेर तोदा आएको छ  । र, त्यसवापत उमालाई पनि भन्नै पर्ने हुन्छ, ‘तोदा’ । उपन्यासमा प्रयुक्त भएको भाषा र वाक्य बनावट आख्यानकार नयनराज पाण्डेको शैलीबाट बढी नै प्रभावित छ । हुन त लेखिकाले भूमिका नै बाँधेर उपन्यास लेखनको सूक्ष्मज्ञान दिएवापत पाण्डेलाई धन्यवाद दिएकी छिन् । शैलीको प्रभावलाई नकारात्मक भन्न त नसकिएला तर, पाण्डेका कृतिहरू पढेका जोकोहीले पनि तोदाको वाक्यगठन पढ्दा पाण्डेलाई नै सम्झन्छन्, मैले पनि सम्झेँ । तोदा पढ्दा पाण्डे विलीन हुँदै गएको र उमा स्मृतिमा तिखारिँदै गएको भए म अझ धेरै बधाइ दिने थिएँ । तोदाप्रति उमा सुवेदीलाई बधाइ दिनचाहिँ छुटाउँदिनँ ।

प्रतिक्रिया