प्रेसिडेन्ट कपमा थ्री–स्टारको जित

three_starकाठमाडौं, २७ वैशाख । निरस प्रदर्शनका बाबजुद थ्री–स्टार क्लबले प्रेसिडेन्ट कप छनोट फुटबल प्रतियोगिताको बिहीबारको खेलमा जित हात पारेको छ । डुडोज र फेमी जोसहुवाको गोलमा थ्री–स्टारले मंगोलियाको इर्चिम एफसीलाई २–० ले पराजित गर्‍यो । जितसहित थी–स्टार क्लब चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । बिहीबार १–१ गोलको बराबरी गरेका बंगलादेशको अबामी लिमिटेड र साविक विजेता ताइवान पावर कम्पनीको दुई अंक छ । इर्चिमको एक अंक छ । दुई अंकको समाप्तीमा समूह ‘ए’मा शीर्ष स्थानमा रहे पनि आठ वर्षपछि प्रेसिडेन्ट कप खेलिरहेको थ्री–स्टारको खेलमा विगतको जस्तो धार थिएन । अन्य क्लबबाट स्टार बटुलेको थ्री–स्टार दोस्रो खेलमा पनि  संगठित फुटबल टोलीभन्दा स्टारहरूको भिड जस्तो मात्र देखियो ।
थ्री–स्टारको कथा यसकारण मात्र फरक बन्योकि नेपाली फुटबल अधिकारीले उत्कृष्ट मान्न नसकेका विदेशी खेलाडी नै थ्री–स्टारका संकटमोचक भए । प्रकाश बुढाथोकी र जगजीत श्रेष्ठबाहेक अन्य नेपाली खेलाडीको प्रेसिडेन्ट कपमा प्रदर्शन निरस रहे पनि सियरालियोनका स्ट्राइकर फेमी नेपाली फुटबलका सबैभन्दा प्रभावकारी व्यक्तिको रूपमा निरन्तर देखिए । उनले इर्चिमसँग विजयी दिलाउने क्रममा पनि सरोज दाहालको क्रसमा डिबक्सको एजबारमा सानदार हेड गोल गरे । डुडोजले भने इर्चिमको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए । यसअघि भएको बंगलादेशी टोलीले पाँचौ मिनेटमा रोनीको गोलमा अग्रता लियो भने १६औँ मिनेटमा हंककाय चुनले बराबरी गोल गरे । शनिबार ताइवान पावर कम्पनीसँग हुने अन्तिम खेलमा बराबरी मात्र गरे पनि थ्री–स्टार अन्तिम चरणमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया