एमाओवादी बाराका एक नेताको हत्या

बारा, २७ वैशाख । बाराको कलैयामा एकीकृत माओवादीका भोजपुरा राज्य समिति सदस्य राजेन्द्र मण्डलको हत्या भएको छ ।
प्रहरीका अनुसार बुधबार राति कलैया–२ मा भोजमा सहभागी भएर फर्कने क्रममा स्थानीय प्रमोद मण्डलले आपसी विवादका क्रममा राजेन्द्रलाई चिर्पटले टाउकामा प्रहार गरेका थिए । चिर्पट प्रहारपछि घाइते भएका राजेन्द्रलाई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका दोषी प्रमोदसहित पाँच अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक साताअघि राजेन्द्र र प्रमोदबीच सामान्य झगडा भएको थियो । सोही झगडाको निहुँमा प्रमोदले राजेन्द्रलाई चिर्पटले प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया