लोडसेडिङले खानेपानी उत्पादनमा कमी

भक्तपुर, २७ वैशाख । लामो समय विद्युत् कटौतीको समस्याले गर्दा केयुकेल ठिमी शाखाले भक्तपुरको बोडेमा उत्पादन गर्दै आएको भूमिगत पानी उत्पादन क्षमतामा कमी आएको छ । शाखाले हिउँदमा नियमित विद्युत् आपूर्ति हँुदा दैनिक ९५ लाख लिटरसम्म खानेपानी उत्पादन गर्दै आएको थियो । हाल विद्युत्को समस्याले गर्दा दैनिक ७० लाख लिटर पानी उत्पादन गर्नसमेत मुस्किल भएको शाखा प्रमुख रमेश केसीले बताए ।
केन्द्रबाट उत्पादित पानी बोडे, सानोठिमी, भक्तपुर, कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरसम्म वितरण गरिँदै आएको केसीले बताए । उपत्यकामा पानीको माग दिन प्रतिदिन बढिरहेका बेला बोडे खानेपानी प्रशोधन केन्द्रमा पानी उत्पादन घटेपछि उपत्यकावासीे थप समस्या झेल्न बाध्य भएका छन् । विगतका वर्षमा बोडेमा खानेपानी उत्पादन हुने क्षेत्र भन्दै प्राधिकरणले विद्युत् कटौती गरेको थिएन । गत वर्षदेखि सो क्षेत्रमा पनि विद्युत् कटौती हुन थालेपछि पानी उत्पादन घटेको हो । हिउँदमा अन्य खानेपानीको स्रोत घट्दै जाने र उक्त क्षेत्रमा प्राधिकरणले विद्युत् कटौती गर्नाले खानेपानी उत्पादनमा झनै समस्या थपिएको छ । उत्पादनमा कमी भएपछि भक्तपुरका उपभोक्तालाई मात्र नभएर काठमाडांैका उपभोक्तालाई समेत समस्या परेको छ । शाखा प्रमुख केसीका अनुसार विद्युत् कटौतीको समस्याले उत्पादन घटेपछि स्थानीय जनताको मागअनुसार खानेपानी दिन सकिएको छैन । पानी वितरणमा कमी हुन थालेपछि समस्या लिएर शाखा कार्यालयमा दैनिक उपभोक्ताको भिड लाग्ने गरेको छ । वर्षायाममा भने दैनिक एक करोड १० लाख लिटरसम्म खानेपानी उत्पादन हुने गरेको कार्यालय प्रमुख केसीले जानकारी दिए । हाल सो क्षेत्रमा दैनिक तीन घन्टासम्म विद्युत् कटौती हुने गरेको छ । केन्द्रबाट उत्पादन भएको पानी स्थानीयवासी ठिमी नगरपालिकाका सबै वडामा ४० प्रतिशत, भक्तपुर नगरपालिका र काठमाडौंमा ३० प्रतिशत वितरण गरिँदै आइएको छ । मध्यपुर ठिमीका बासिन्दाले बोडेमा उत्पादन हुने पानी ठिमी क्षेत्रका जनताका लागि वितरण नगरी काठमाडौंमा वितरण हुने गरेकोमा विरोध गरिरहेका छन् ।
ठिमीमा मनाइने प्रसिद्घ सिन्दुर जात्राको समयमा केन्द्रले पानी उपलब्ध नगराएको भन्दै स्थानीयले केन्द्रमा तोडफोडसमेत गरेका थिए । स्थानीय जनताको माग पूरा गरेपछि मात्र पानी अन्यत्र वितरण गर्नुपर्ने माग स्थानीयको छ । केन्द्रका अनुसार भक्तपुरका दुई नगरपालिका क्षेत्रमा मात्र करिब १६ हजार पाँच सय धारा छन् ।

प्रतिक्रिया