लामाबगरबाट चीन जोड्ने नाका अन्योलमा

लामाबगर , २७ वैशाख । चीनदेखि नेपाल हुँदै भारत जोड्ने सडकको चर्चा चल्ने गरे पनि लामाबगरबाट तिब्बत जोड्ने नाका राष्ट्रिय प्राथमिकतामा परेका छैनन् । राजनीति र विकास बहसमा बारम्बार चर्चा हुने यी नाकालाई आवतजावत र यातायातका लागि अनुकूल बनाउन ठोस पहल हुनसकेको छैन । यसका निम्ति बर्सेनि रकम छुट्याइने गरेको भए पनि पर्याप्त रकम र ठोस योजना अभावमा सार्थक परिणाम निस्किन सकेको छैन ।
सरकारी बेवास्ता र काममा देखिएको ढिलासुस्तीका कारण तिब्बतसँग सीमा जोडिएको मुलुकै पुरानोमध्येको यो नाकाको ट्रयाक खोल्ने काम अन्योलमा परेको छ । ‘ट्रयाक खोल्ने काम छिटो गर्नसके हाम्रो देश भारत र चीनबीचको मुख्य व्यापारिक मार्ग बन्न सक्छ,’ नेपाल चीन मैत्री संघका केन्द्रीय अध्यक्ष पूर्वसांसद एवं एमाले नेता आनन्दप्रसाद पोखरेलले भने, ‘तर, दुर्भाग्य, राज्यले यो नाकालाई प्राथमिकतामा राखेको छैन ।’ यो नाकाको ट्रयाक माथिल्लो तामाकोसी जलविद्युत् आयोजनास्थल लामाबगरमा रोकिएको छ । लामाबगरबाट तिब्बतको सीमा क्षेत्र फलाक १५ किलोमिटर दूरीमा छ । यो खण्डमा ट्रयाक खोल्न अझै बाँकी छ ।
‘ट्रयाक खोल्न बर्सेनि विनियोजन गरिने बजेटबाट सडकलाई तिब्बत पुर्‍याउन सम्भव देखिँदैनन्,’ डिभिजन सडक कार्यालय दोलखाका प्रमुख अयोध्याप्रसाद श्रेष्ठले भने, ‘सरकारले छुट्याएको बजेटले वर्षमा मुस्किलले दुई सय मिटर मात्र खन्न सकिन्छ ।’ उनका अनुसार सरकारले अहिलेकै अनुपातमा बजेट छुट्याउने हो भने १५ किलोमिटर बाटो खन्न अझै ७५ वर्ष लाग्नेछ । सरकारले यसका लािग वार्षिक दुईदेखि चार करोड रुपियाँ छुट्याउँदै आएको छ । काम नभएर विनियोजित बजेट फ्रिज हुने गरेकोसमेत छ ।
दोलखा सदरमुकाम चरिकोटबाट लामाबगरको दूरी ६८ किलोमिटर छ । आयोजनाले लामाबगरसम्म दुई लेनको ग्राभेल सडक बनिसकेको छ । ‘१५ किलोमिटर खन्ने हो भने तिब्बत पुगिन्छ तर अहिले काम रोकिएको छ,’ उनले भने । तिब्बती सीमा फलाकबाट ६ किलोमिटर यात्रा गरेपछि तिब्बतको सिगात्से प्रान्तको सदरमुकाम तथा व्यापारिक केन्द्र टिङ्ग्री काउन्टी पुग्न सकिन्छ । टिङ्ग्रीसम्म चीनले सडक विस्तार गरिसकेको छ । त्यहाँबाट ल्हासा, गोन्जाओलगायत तिब्बतका ठूला व्यापारिक केन्द्रसम्म पुग्न सहज भएकाले ट्रयाक खोल्ने कामलाई थोरै मात्र प्राथमिकता दिए यसबाट नेपालले ठूलो लाभ हासिल गर्नसक्ने विश्लेषकको भनाइ छ ।
भारत र चीनबीचको त्रिदेशीय व्यापार ट्रान्जिटका लागि समेत लामाबगर नाका सहज हुने भन्दै यसलाई प्राथमिकतामा राखेर चाँडो खुलाउनुपर्ने माग उठ्दै आएको छ । ‘भारतको सीतामढीदेखि तिब्बतको फलाकबीच करिब दुई सय ८१ किलोमिटरको दूरी मात्रै छ,’ पोखरेलले भेन । उनका अनुसार भारतको बिहारस्थित सीतामढी जिल्लाबाट महोत्तरीको भिट्टामोड नाका प्रवेश गरेपछि त्यहाँबाट ३७ किलोमिटर महेन्द्र राजमार्गको ढल्केबर र १० किलोमिटर यात्रा पछि बर्दिवास, बर्दिवास सिन्धुली– ३८ किलोमिटर, सिन्धुली–खुर्कोट–रामेछाप सदरमुकाम मन्थली ५५ किलोमिटर र मन्थलीबाट दोलखा सदरमुकाम चरिकोट ५८ किलोमिटर र दोलखा सदरमुकाम चरिकोटबाट ६८ किलोमिटर दूरीमा लामाबगर उपत्यका छ । भारतबाट सोझै जोडिन सक्ने महेन्द्र राजमार्गको बर्दिवासदेखि सिन्धुली हुँदै खुर्कोटसम्म डबल लेन र खुर्कोट हुँदै मन्थली चरिकोटसम्म सिंगल लेनको पक्की सडक छ ।
लामाबगरबाट १५ किलोमिटर दूरीमा रहेको फलाकसम्मको सडक खन्ने कामको ठेक्का ०६६ देखि डिभिजन सडक कार्यालय दोलखामार्फत सुरु हुँदै आएको थियो । सरकारले बर्षेनि दुईदेखि चार करोड रुपियाँ लामाबगर नाका खोल्न छुट्याउँदै आए पनि कडा चट्टानसहितका ठूला पहाड फोडेर ट्रयाक खोल्न गाह्रो भएपछि बजेट फिर्ता भएको थियो । ‘यो नाकाको सबैभन्दा कठिन खण्ड यही हो, ठूला र कडा चट्टानसहितको पहाड फोरेर मात्र ट्रयाक खोल्न सकिन्छ,’ अर्का एक प्राविधिक भन्छन्, ‘यसका लागि अहिले छुट्याएको बजेटले पुग्दैन ।’
डिभिजन सडक कार्यालय प्रमुख श्रेष्ठले सरकारी बजेटअनुसार काम गराउन सक्दो प्रयास गरेको उनले बताए । ‘काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिएर फिल्डमै साइट कार्यालय खोली काम गर्न लगाएको छु,’ उनले भने ।
लामाबगरबाट १५ किलोमिटर दूरीमा फलाक पुग्ने भए पनि सबैभन्दा विकट र दुर्गम ठाउँमा रहेको लामाबगरको लप्ची बस्ती हुँदै नाकासम्म सडक पुर्‍याउनुपर्ने छुट्टै माग स्थानीयको छ । लप्ची हुँदै लगिए यसको दूरी ३१ किलोमिटर बढी हुनेछ ।
चिनियाँ राजदूतले दोलखाको लामाबगर जाँदा नेपाल सरकारले यसलाई प्राथमिकतामा राखेर सडक निर्माणका लागि चीन सरकारलाई आग्रह गरे हामी सहयोग गर्न तयार छौँ भनेका थिए, सरकार सहयोग गर्न तयार रहेको बताएको स्थानीयवासी बताउँछन् । तीन महिनाअघि भौतिक योजना मन्त्रालयले ६ सय मिटर सडक खुलाउने जिम्मा तामाकोसी आयोजनालाई दिने निर्णय गरेको थियो । संवेदनशील मानिएको ६ सय मिटर उतासमेत ३ चरणमा अर्को ६ सय मिटर ट्रयाक खोल्न ठेक्का भए पनि काम रोकिएको प्राविधिकहरू बताउँछन् ।

प्रतिक्रिया