बारद्वारा रेग्मी बहिष्कार

Khilraj-N-Bar-Actionकाठमाडौ, २७ वैशाख । प्रधानन्यायाधीश तथा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी भएको कार्यक्रम नेपाल बार एसोसिएसनले बहिष्कार गरेको छ । रेग्मीले शक्ति पृथकीकरणको सिद्वान्त विपरीत प्रचलित कानुन र न्यायपालिकाको उपहास गरेका हुनाले उनी सहभागी कार्यक्रम बहिष्कार गरिएको बारले जनाएको छ ।
‘शक्ति पृथकीकरणको सिद्वान्तलाई समाप्त गर्ने पदाधिकारी उपस्थित भएको कार्यक्रमले कानुन दिवसको अपमान हुने भएपछि हामीलाई कार्यक्रममा जान जाँगर चलेन’ नेपाल बारका अध्यक्ष हरिकृष्ण कार्कीले सौर्यलाई भने । रेग्मी उपस्थित हुने अन्य कार्यक्रममा बारको उपस्थिति नरहने उनले बताए ।
बिहीबार सर्वाेच्च प्रांगणमा सम्पन्न कानुुन दिवसमा राष्ट्रपति डा.रामवरण यादव, अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष रेग्मी, कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, सञ्चारमन्त्री माधव पौडेल उपस्थित भएका थिए ।
शक्ति पृथकीकरण र बाधा अड्काउ फुकाउने विषयमा नेपाल बारले विरोध गर्दै आए पनि बाधा अड्काउ फुकाउबाट नियुक्ती भएका न्यायाधीशहरूको बेञ्चमा गई कानुन व्यवसायीले बहस भने गरिरहेका छन् । ‘आम्दानी हुने ठाउँमा शक्ति पृथकीकरणका कुरा नउठाउने अन्य बेला कानुन दिवस कानुन व्यवसायीले बहिष्कार गर्ने यो संस्कार गलत भयो’ एक कानुन व्यवसायीले भने ।

प्रतिक्रिया