तीन वरिष्ठ नेताको छुट्टै सम्पर्क कार्यालय

काठमाडौं, २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन वरिष्ठ नेताले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै छुट्टै सम्पर्क कार्यालय खोलेका छन् । राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच जेठ पहिलो साता हुन लागेको एकताको महाधिवेशनको मुखमै राप्रपाका तीन शीर्ष नेताले मंगलबार दिउँसोदेखि छुट्टै सम्पर्क कार्यालय खोलेका हुन् ।
राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द,  राजेश्वर देवकोटा र ध्रुवबहादुर प्रधानले नक्सालस्थित गहनापोखरीनजिकै सम्पर्क कार्यालय स्थापना गरेका हुन् । हिजो राजपा र राप्रपाका शीर्ष नेताहरूबीच भएको छलफलमा गणतन्त्र स्वीकार गर्ने या नगर्ने भन्नेमा चर्काे विवाद भएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार अधिकांश नेताले गणतन्त्र स्वीकार गर्नुपर्ने बताए पनि चन्द, देवकोटा र प्रधानले भने गणतन्त्रबारे जनमतसंग्रहमा जानुपर्ने अडान राखेका थिए ।
स्रोतका अनुसार राप्रपा र राजपाको नेतृत्वले अरू दलको लहैलहैमा लागेर गणतन्त्र स्वीकार गरेको  तीन नेता असन्तुष्ट बनेका हुन् । तीनै नेताले जनमतसंग्रहको परिणाम आफूहरूले स्विकार्ने भन्दै जनमतसंग्रहमा जानुपर्ने अडान राख्दै आएका छन् । आºनो मागको उचित सुनुवाइ नभए पार्टी विभाजन गर्ने तयारीमा समेत उनीहरू रहेको स्रोतले बतायो ।
सम्पर्क कार्यालय स्थापना गरेर नेता तथा कार्यकर्ताको विचार बुझ्ने उनीहरूको मनसाय रहेको स्रोतले जनाएको छ । चन्द, देवकोटा र प्रधान राप्रपाका वरिष्ठ तथा प्रभावशाली नेता हुन् । कार्यकर्तामाझ पनि राम्रो पकड रहेका यी नेताको मागको सुनुवाइ नभए आसन्न एकताको महाधिवेशनमा समेत असर पर्ने दुवै पार्टीका नेताले बताए । राप्रपा र राजपाको एकताको महाधिवेशन आगामी ३, ४ र ५ जेठमा काठमाडौंमा हुँदै छ ।

प्रतिक्रिया