उच्चस्तरीय समितिमा किचलो

काठमाडौं, २५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिका विषयमा उच्चस्तरीय राजनीतिक समितिमा विवाद उत्पन्न भएको छ ।
उच्चस्तरीय समितिकै सिफारिसमा संवैधानिक परिषद्ले पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा सदर गरी निर्णय कार्यान्वयनका लागि राष्ट्रपतिसमक्ष पठाएका बेला समितिमा विवाद देखिएको हो । संवैधानिक परिषद्ले आइतबार कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरे पनि विवादका कारण नियुक्त हुन सकेका छैनन् । यही विषयमा अध्यक्ष खिलराज रेग्मीले मंगलबार आफ्नो सरकारीनिवास बालुवाटारमा बोलाएको उच्चस्तरीय समितिको बैठकमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा विभाजित भएका हुन् । एमाओवादी र मधेसी मोर्चाले कार्कीलाई तत्काल नियुक्त गर्नुपर्ने तथा कांग्रेस र एमालेले कार्कीको नाममा पुनर्विचार गर्नुपर्ने अडान राखेका थिए ।
एमाले अध्यक्ष झलनाथ खनालले एमाले र कांग्रेसले कार्कीको नाममा पुनर्विचार गर्नुपर्ने तथा एमाओवादी र मधेसी मोर्चाले कार्कीको पक्षमा अडान राखेपछि बैठक विनानिष्कर्ष टुंगिएको जानकारी दिए । बैठकमा एमाओवादी नेताले परिषद्ले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि सिफारिस गरिसकेकाले त्यसलाई राष्ट्रपतिले स्वीकृति गर्नुपर्ने बताएका थिए भने कांग्रेस, एमाले नेताले कार्कीको नाममा विवाद देखिएकाले पुनर्विचार गर्नुपर्ने बताएका थिए ।
अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले भने परिषद्ले कार्कीलाई सिफारिस गरिसकेको उल्लेख गर्दै मंगलबार रेग्मीले संविधानसभा चुनावबारे छलफल गर्न बोलाएको उच्चस्तरीय बैठकमा नेताहरूले आ–आफ्नो धारणा मात्र राखेको बताए । ‘आगामी शुक्रबार संविधानसभा चुनावबारे सबै दललाई अध्यक्ष रेग्मीले बैठक बोलाएकाले त्यसबारे छलफल भयो,’ गौतमले भने, ‘संविधानसभा सदस्यसम्बन्धी अध्यादेशबारे आएका सुझावलाई कसरी सम्बोधन गर्नेबारे छलफल भयो ।’
मंगलबार राति दुई घन्टा बसेको बैठकमा उच्चस्तरीय समितिका संयोजक कांग्रेस सभापति सुशील कोइराला र महामन्त्री कृष्णप्रसाद सिटौला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डा. बाबुराम भट्टराई, एमाले अध्यक्ष खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल तथा मधेसी मोर्चाबाट विजयकुमार गच्छदार र महन्थ ठाकुर सहभागी थिए ।

प्रतिक्रिया