एसिसी अन्डर १९ एलिटकप क्रिकेट नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौ, २४ वैशाख । अभिनास कर्णले दुर्लभ ह्याट्रिकसहित ८ विकेट लिएपछि नेपाल मलेसियमा जारी एसिसी अन्डर १९ एलिटकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले बहराइनलाई १९६ रनले फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो । नेपालले दिएको २६० रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको बहराइन २१ आभेरमा सबै विकेट गुमाउँदै मात्रै ६३ रन जोड्यो । नेपाली बलरसामु निरिह सावित भएका बहाराइनका लागि अक्षय कृष्णले अविजित २२ तथा लालिथ लालले १७ रन जोड्नुबाहेक अन्य ब्याट्स म्यान खुलेर खेल्नै सकेनन् । बहराइनलाई सस्तैमा समेट्न नेपालका लागि अभिनाश कर्णले ८ तथा कप्तान भुवन कार्की र राहुल प्रताव सिंहले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रन जोडेको थियो । नेपालका लागि कप्तान भुवन कार्कीले ८३ रनको योगदान दिए । उनले ६३ बलको सामना गर्दै तीन छक्का र आठ चौका प्रहार गरेका हुन् । यसैगरी विवत्सु थापाले ४४, निर्मल थापाले २५, अमित श्रेष्ठले २२ तथा निश्चल पाण्डेले १६ रन जोडे । यस्तै, पवन श्रेष्ठले १३ तथा हरिशंकर शाहले १० रनको योगदान दिएका थिए ।
यसैबीच, बहराइनविरुद्धको खेलमा कर्णले ८ विकेट लिँदै अन्डर १९ क्रिकेट टोलीमा अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन् । अविनाशले बहराइनविरुद्ध एकै ओभरमा चारसहित ८ विकेट लिए । उनले तेस्रो ओभरको चौंथो, पाचौँ र अन्तिम बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरे । यसअघि अविनाशले सोही ओभरको दोस्रो बलमा पहिलो विकेट लिएका थिए । अविनाशले बाँकी ४ विकेट छैटौँ, सातौँ, पध्रौँ र एकाइसौँ ओभरमा लिएका थिए । यसअघि शक्ति गौचनले गत वर्ष दुवइमा भएको ट्वान्टी–ट्वान्टी विश्वकप छनोट क्रिकेटमा डेनमाकविरुद्धको खेलमा शक्ति गौचनले ह्याट्रिक गरेका थिए ।

प्रतिक्रिया