जेल बस्नु परेकाले ईजिन्जनियर बन्न सकिँन

Arun-Nepalसिन्धुपाल्चोकबाट एसएलसी गरेँ, दोस्रो श्रेणीमा । के–के न ठूलै काम गरेजस्तो लागेको थियो । धेरैले भन्थे, ‘एसएलसी फलामको ढोका हो, जुन पार गर्न निकै गाह्रो हुन्छ । पार गरेपछि उन्नतिको ढोका पनि आफसेआफ खुल्छ ।’ स्कुलमा छँदा डर लाग्थ्यो– ‘कतै म त्यो फलामे ढोका पार गर्न सक्दिनँ कि †’ तर, पार गरेँ । ठूलै बोझ हलुका भएको अनुभूति गरेको थिएँ ।
कलेज जान पाउने उत्साहसँगै विषय छनोट गर्नुपर्ने चुनौती पनि थियो । म सानै छँदादेखि घरनजिकै सुनकोसी जलविद्युत् आयोजना निर्माण हुँदै थियो । गाउँका थुप्रै मान्छे त्यहाँ काम गर्थे । उनीहरूले इन्जिनियरको प्रशंसा गरेको म सुन्थेँ । भन्थेँ– ‘इन्जिनियर मेहनती हुन्छन्, त्यसैले पैसा पनि धेरै कमाउँदा रहेछन् ।’ त्यही आधारमा मलाई पनि इन्जिनियर बन्ने मोह पलाउन थालेको थियो । एसएलसीपछि मैले पनि निर्णय गरेँ– अब म पनि इन्जिनियर भएर धेरै पैसा कमाउँछु । देशका लागि केही गर्छु ।
उच्चशिक्षाका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रयास गरेँ । तर, त्यहाँ मेरो केही लागेन, नामै निस्केन । थापाथली कलेजमा चाहिँ मेकानिकल इन्जिनियरिङ अध्यनयका लागि नाम निस्किएछ । त्यहीँ भर्ना भएँ । इन्जिनियर बनेर राष्ट्रसेवा साथै जीवन व्यवस्थित बनाउने सपनालाई मूर्त रूप दिलाउन निकै मेहनतपूर्वक पढ्न थालेँ । पहिलो वर्षको परीक्षा सिध्याएर दोस्रो वर्षको पढाइ चल्दै थियो । २०४० सालमा पिस्कर घटना भयो । त्यो घटनाका विरुद्ध काठमाडौंमा जुलुस गर्‍यौँ । त्यतिबेला म अनेरास्ववियुको राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य भइसकेको थिएँ ।
भदौको अन्तिममा दोस्रो वर्षको परीक्षा थियो । तर, म चैतदेखि नै जेलमा थिएँ । पिस्कर घटनाका विरुद्ध प्रदर्शन गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो । प्राविधिक विषय भएकाले जेलबाट परीक्षा दिन मिल्दैनथ्यो । इन्जिनियर बन्ने मेरो सपना जेलमा गएर थन्कियो । चार वर्ष बसेँ त्यहाँ । जेलबाट निस्कँदा दुई वर्षे कोर्स चारवर्षे भइसकेछ । लाग्यो– इन्जिनियरिङ अध्ययनमा लगानी गरेको डेढ वर्ष र पैसा त्यसै खेर गयो । जेल नपरेको भए नेपालमा प्रमाणपत्र तह सकेर थप पढ्न रुस जाने योजना थियो । त्यतिबेला नेपालबाट रुस गएर पढ्ने धेरै थिए । रुस सरकारले राम्रा विद्यार्थीलाई छात्रवृत्ति दिन्थ्यो । अहिले सोच्छु– इन्जिनियरिङ अध्ययन पूरा गर्न पाएको भए अहिले व्यवसायी भइसक्थेँ होला । व्यक्तिगत जीवन पनि अलि व्यवस्थित हुन्थ्यो कि † तर, इन्जिनियर हुन नपाएकोमा उति साह्रो पछुतो पनि छैन । राजनीतिमा पनि खुसी नै छु ।
जेलबाट इन्जिनियरिङको परीक्षा दिन नपाउने भएकाले त्यहीँ छँदा विषय फेरेर आइए फेरि पढेको थिएँ । एक वर्ष सेन्टर जेलमा राखेपछि भैरहवा चलान गर्‍यो । एक वर्ष त्यहाँ राखेपछि पाल्पा जेल पुर्‍यायो । त्यहीँबाट आइएको प्राइभेट परीक्षा दिएँ । पहिलो वर्षको परीक्षा दिएपछि रिहा भएँ । दोस्रो वर्ष पनि पास गरेँ । बिए पढ्न रत्नराज्य क्याम्पस भर्ना भएँ ।
कलेज पढ्दा पैसाको अभाव हुन्थ्यो । पाँच सय रुपियाँले मासिक खर्च धान्नुपर्ने । सिन्धुपाल्चोकका तीन जना साथी मिलेर कोठा लिएका थियौँ । तीन जनाको पैसा मिलाउँदा पन्ध्र सय हुन्थ्यो । त्यसैले महिनादिनको खर्च धान्थ्यौँ । दिउँसो खाजा खाँदैनथ्यौँ । बिहानबेलुकीको खानाको भर मात्रै थियो । कलेजमा म विद्यार्थी मात्र हैन, नेताका रूपमा पनि परिचित हुन थालिसकेको थिएँ । उतिबेला थापाथली क्याम्पसमा कुनै केटी पढ्दैनथेँ । प्राविधिक विषयमा महिलाहरूको आकर्षण शून्य थियो ।
गाउँबाट कलेज पढ्न काठमाडौं आउँदा स्वाभाविक रूपमा केही परिवर्तन हुँदा रहेछन् । सहरमा गाउँमा जसरी जस्तो पायो त्यस्तो लगाउन हुन्न भन्ने थियो । देशभरिबाट जम्मा भएका विद्यार्थीबीच कोभन्दा को कम शैलीमा ठाँटिएर हिँड्ने प्रतिस्पर्धा हुन्थ्यो । तर, म उति ठाँटिदैनिथेँ, सामान्य पहिरन हुन्थ्यो । कपडाको जुत्ता लगाउँथेँ, छालाको जुत्ता त कलेजजीवनभरि नै लाउन पाइएन । एकपटकको जाडोमा बाक्लो स्विटर किन्ने रहर थियो । तर, गोजीमा सीमित दाम मात्रै हुने जहिल्यै । पैसाले नभ्याएपछि त्यो रहर त्यत्तिकै थन्क्याएँ । मन मारीमारी पातलै स्विटरले त्यो जाडो कटाएँ ।
रत्नराज्य क्याम्पसमा थुप्रै विद्यार्थी हुन्थे । राजनीतिक गतिविधि पनि अन्तभन्दा धेरै । म अखिलको केन्द्रीय सदस्य थिएँ । कलेजमा के सिस्टम रहेछ भने क्यान्टिनमा जति पनि विद्यार्थीले चियाखाजा खान्छन्, त्यसको पैसाचाहिँ जो नेता पुग्छ उसैले तिनुपर्ने । एक दिन मैले चालीस कप चियाको असी रुपियाँ तिर्नुपर्‍यो । एकदुईपटक यस्तै मारमा परेपछि साथीहरूसँग सल्लाह गरेँ, ‘यसरी त हुँदैन, हामीसँगचाहिँ कहाँबाट आउँछ र तिर्नु ? अब जसले खान्छ, उसैले तिर्ने बानी बसालौँ ।’ सबैले त्यसमा सहमति जनाए, पछिसम्मै त्यही नियम थियो । आरआरमा अंग्रेजी विषयको कक्षा सधैँ पढ्थेँ । आफ्नो अंग्रेजी कमजोर भएकाले सुधार्न चाहन्थेँ । अरू विषय समय मिलाएर पढ्थेँ । परीक्षा आएपछि केही समय सबै कामै छोडेर भूमिगत शैलीमा पढिन्थ्यो । त्यसैकारण, दिएका परीक्षा सबैमा पास नै भएँ ।
विद्यार्थीजीवनमै छँदा भूमिगत रूपमा एउटा संस्था चलाएका थियौँ– बन्दी सूचना केन्द्र । माधवकुमार नेपाल त्यसका अध्यक्ष थिए । त्यसैमा काम गर्दा मलाई पनि थुप्रै कुराको जानकारी भइरहन्थ्यो । सहयोग हुन्थ्यो ।
कलेज जीवनमा अभावको त के कुुरा गर्नु र ? कहिलेकाहीँ साह्रै मासुभात खान मन लाग्थ्यो । तर, महँगो हुन्थ्यो, धान्नै नसक्ने । त्यतिबेला कीर्तिपुर केन्द्रीय कलेजको क्यान्टिनमा दुई रुपियाँ पचास पैसामा मासुभात खुवाउँदो रहेछ । त्यसपछि अखिलका सबै सदस्य मासुभात खान पर्‍यो कि त्यतै पुग्थ्यौँ । दुई टुक्रा मासु, एक कचौरा झोल र भात दिन्थ्यो । खुब आनन्दले खान्थ्यौँ । हप्तामा एकपटक सधैँ पुग्थ्यौँ त्यो क्यान्टिनमा ।
–चमिना

प्रतिक्रिया